धार्मिक दृष्टिले महत्वपूर्ण चिल्लागढधाम

0
40

पूर्वी नेपालको झापा जिल्ला पहिले सतासीधाम गाउँ विकास समिति वार्ड नं. ७ हाल शिवसताक्षी नगरपालिका–८ मा अवस्थित चिल्लागढधाम धार्मिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । पूर्व–पश्चिम राजमार्गबाट २.५ किलोमिटर दक्षिण माई भगवतीका नामले प्रख्यात कनकाई नदीको पश्चिम किनारमा रहेको यो चिल्लागढधामको उत्तरमा दोमुखा, पूर्व–उत्तरमा कोटीहोम र पश्चिम–उत्तरमा सताक्षीधाम जस्ता अन्य धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन् । दोमुखा पर्यटकीय स्थल प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो । कनकाई नदी माई भगवतीका नामले देश–विदेशसम्म प्रख्यात मानिन्छ । यसको आफ्नै महत्व रहेको छ । सताक्षीधामको पनि आफ्नो छुट्टै पहिचान र महत्व रहेको छ । यस्ता महत्वपूर्ण धार्मिक तथ पौराणिक पवित्र स्थलहरूको समिपमा रहेको चिल्लागढधामको पश्चिम–उत्तरमा दूधे, पश्चिम–दक्षिणमा व्याँङ्गडाँडा,पूर्वमा ट्याक्रा र पूर्व–उत्तरमा सुरुङ्गा गाउँ पर्दछन् ।

यस चिल्लागढधाम धार्मिक स्थलको क्षेत्रफल आध्यात्मिक रूपले व्यापक र विशाल रहे पनि भौतिक रूपमा हाल विभिन्न क्षेत्रबाट साँघुरिँदै गएको पाइन्छ । पहिले पच्चीस–छब्बीस बिगाह जमिनमा फैलिएर रहेको उक्त स्थल हाल आएर तीन विगाह जमिनमा खुम्चिएको पाइन्छ । यस्तो ऐतिहासिक, धार्मिक तथत पौराणिक महत्व बोकेको स्थल भएर पनि ओझेलमा पर्नुको मुख्यकारण जनचेतनामा कमी हुनु हो । यस्ता ठाउँको संरक्षण, सम्वद्र्धन र विकासमा ध्यान दिन नसक्नु यसका दुःखद् पक्ष हुन् । चिल्लागढधाम धार्मिक तथा ऐतिहासिक दृष्टिले मात्र होइन, पर्यटकीय स्थलका दृष्टिले पनि महŒवपूर्ण छ । यसले पर्यटकीय स्थलका रूपमा पनि झापा जिल्लामा राम्रो सम्भावना बोकेको छ ।

महाभारतको विराट पर्वमा उल्लेख भए अनुसार आजभन्दा करिब पाँच हजार वर्ष पहिले पाँच पाण्डवहरू काम्यक नामको वनमा वनवास जाँदा उनीहरूको साथमा हजारौंको संख्यामा ब्रम्हऋषि, महऋषि, ब्राम्हण, बन्धु–बान्धव तथा उनीहरूका शुभचिन्तक समेत गएका थिए । उक्त चिल्लागढधाम पनि उनीहरू यसरी वनवास गएको काम्यक वन क्षेत्रभित्रै पर्दथ्यो । प्राग ऐतिहासिक कालखण्डको द्वापरयुगको अन्त्यतिर पाँच पाण्डवहरू बनवास गएको उक्त वन विराट राज्यको अधिनमा थियो । त्यतिबेलाको विराट राज्य पश्चिम बङ्गालको तुर्स नदीसम्म फैलिएको थियो । पाँच पाण्डवहरू उक्त काम्यक वनको पवित्र नदी कनकाई नदीको किनारमा रहेको आमटारी नामको वनवाटीकाभित्र तपस्या गरिरहेका आफ्ना राजगुरू महर्षि धौम्यजी रहेको हुनाले पाँच पाण्डवहरू पनि आफ्ना गरूकै सल्लाह र सुझावमा आफ्नो वनवासकालको बाह्रौँ वर्ष यही काम्यक वनमा व्यतित गरिरहेका थिए । त्यही बाह्रौँ वर्षको अन्त्यमा आचार्य गरू धौम्यजीको उपदेश अनुसार कौरवहरूलाई परास्त गर्दै सत्यको विजयका खातिर यज्ञ हवन आदि वैदिक कर्म गरी देवीदेवताहरूसँग शक्ति माग्ने सल्लाह भए अनुसार यज्ञ गर्नुपर्ने भएकोले आचार्य महर्षि धौम्यजीकै सुझाव अनुरूप वैधिक विधिपूर्वक २६ विगाह जमिनभित्र यज्ञ वेदी उठाइ पञ्चदेवको पूजा अर्चना गरी हजारौँ ब्राम्हण, ऋषि, महर्षिहरूद्वारा महिनौँसम्म हवन कर्म, पूजाअर्चना गरी धेरै ठूलो यज्ञ गरेका थिए ।

अहिलेसम्म पनि यो चिल्लागढधाम बाहेक अन्य सम्पूर्ण आर्य ग्रन्थहरूमा यति ठूलो क्षेत्रफलको यज्ञस्थल अर्थात् यज्ञकुण्डको वर्णन गरेको पाइँदैन । त्यसैले पनि यस यज्ञस्थल वा यज्ञकुण्डलाई ठूलो मानिन्छ । यस यज्ञकुण्डको दक्षिणपट्टि यज्ञादि कर्ममा सहभागी ब्राम्हण, ऋषि, महर्षि तथा अतिथिहरूका लागि भोजनको व्यवस्था गरिएको थियो । उक्त भोजनालयलाई हाँडीगढ नामले चिनिन्थ्यो । यसको नजिक एउटा सानो पोखरी थियो । त्यो पोखरी चाहिँ उक्त यज्ञको समयमा आवश्यक भाँडावर्तन र भोजनका लागि चाहिने भोजन वर्तन तयार गर्न कुमालेहरू झिकाइ यहीँको माटोबाट भाँडावर्तन तयार गर्न लगाइएको थियो । पछि गएर पानी भरिइ पोखरी बन्न गएको स्थानीय बुढापाकाहरू बताउँछन् । हाल उक्त स्थल कनकाई नदीको कटानले बगाएको छ । चिल्लागढधाम यज्ञको समयमा विभिन्न देवी–देवताहरूको भजन, किर्तनको समेत गरिएको सुन्नमा आउँछ । सहभागी भक्तजन, कलाकारहरूको बसोबासको व्यवस्था गरिएको थियो । यज्ञ स्थलबाट करिब एक किलोमिटर पूर्व हाल कनकाई नदीको दक्षिण–पूर्वी किनारमा यसको व्यवस्था गरिएको र यो ठाउँलाई बेनुबाजाको नामले पुकारिन्छ ।

यसरी पाँच पाण्डवहरूले आचार्य धौम्यजीको आचार्यकत्वमा एक महिनासम्म हजारौँ ब्राम्हण, ऋषि, महर्षि तथा कलाकारहरूको साथमा यज्ञ गरी सो यज्ञ समापन गराइ उक्त यज्ञमा प्रयोग भएका सम्पूर्ण सामग्रीहरूको व्यवस्थापनका लागि गुरू धौम्यजी समक्ष नै टक्र्याउँदै आफूहरू चाहिँ पश्चिम–उत्तरतर्फ सताक्षी देवीको आराधना गर्दै एक वर्षको गुप्तवासका लागि फेरि विराट राजा कहाँ विराटनगरतर्फ लागे । त्यसपछि धौम्यजी पनि यज्ञ सामग्रीहरूको व्यवस्थापन गरी हस्तिनापुरतर्फ लागे भन्ने भनाइ रहेको पाइन्छ । यस धार्मिक स्थलको नामकरणको सन्दर्भमा चाहिँ चिल्लागढधाम यज्ञ भूमिका बारेमा कौरवहरूले कुनै पनि प्रमाण वा अवशेष फेला नपारुन् भन्ने गुरू धौम्यजीले सूर्यको तपस्या गरी सूर्यदेवलाई जल अर्पण गरिएको सूर्य कुण्डको रूपमा नामकरण गरी यज्ञको गोपनीयता भङ्ग नहोस् भनि महाभारत ग्रन्थमा सूर्यकुण्डका नामले पुकारेको र ठाउँ–ठाउँको ठेगाना समेत स्पष्टसँग नखुलाइएको बताइन्छ ।

यही पवित्र भूमिपछि गएर घनाजङ्गलमा परिणत भयो । समय बित्दै जाँदा समयक्रमसँगै करिब पाँच हजार वर्षपछि आएर यहाँ मानवबस्ती शुरू भयो । पहिले भारतीय भूमिबाट आएका मानिसहरूको बसोबास भएता पनि पछि आएर पहाडे मूलका मानिसहरू पनि बसोबास गर्न थाले । हाल यहाँ विभिन्न जातजातिका मानिसहरूको मिश्रित बसोबास रहेको पाइन्छ । स्थानीय बुढापाकाको भनाइ अनुसार करिब सय वर्ष पहिले यस यज्ञस्थलभित्रको सम्पूर्ण भाग ठूला–ठूला साल, सिसौ तथा अन्य विभिन्न प्रजातिका वृक्ष एवम् लहराहरूले घेरिएको थियो । यज्ञ कुण्ड चाहिँ सफा, कञ्चन पानीले टम्म भरिएर बढी भएको पानी दक्षिण–पूर्वी कुनाबाट बाहिर निकास जाने गरेको थियो । यस यज्ञकुण्डको दक्षिण कुनाको मध्यभागमा एउटा विशाल पिपल वृक्ष रहेको थियो । त्यसको आडमा एउटा अर्को ठूलो गायोको रूख लहराहरूले बेरिएर रहेको थियो । यी वृक्षहरू पछि चालीस–बयालीस सालसम्म पनि थिए । त्यसताकासम्म पनि स्थानीयबासीले प्रत्यक्ष अवलोकन गर्दा ती वृक्ष तल, भित्री अन्तरमा पानीको भागमुनि दिउँसो ठिक मध्यान्हको बेला अत्यन्तै मिठो सङ्गीतमय सुमधुर आवाजमा पर कतैबाट आएको आवाज झैँ लाग्ने गरी नौमति बाजाको धुन सुन्न पाइँन्थ्यो । यो आवाज केही समयपछि आफैँ विस्तारै हराएर वा बिलाएर जाने गरेको सुन्नमा आएको पाइन्छ ।

यस्ता बाजाको धुन २०१८÷०२० सालसम्म पनि सुनिने गरेको स्थानीय बुढापाकाहरू बताउँछन् । २०२७ सालदेखि अहिलेसम्म यस यज्ञभूमिमा भगवती माताको आराधना गरी बस्दै आउनुभएकी माता तुलसादेवी कार्की काफ्ले र उहाँका पिताजीले वि.सं.२०१३, २०१४ र २०१५ सालमा लघु रूद्री यज्ञ र २०१६, २०१७ र २०१८ सालमा श्रीमद् भागवत पुराण लगाउनुभएको थियो । यस स्थलमा २०१६ सालमा श्रीमद् भागवत पुराण लागेको तेस्रो दिन यस यज्ञकुण्डको बीच भागबाट अग्निको ज्वाला उत्पन्न भई आकाशतिर गएर पुनः तल यज्ञकुण्डको पानीको बीचमा आइपुग्दा भुइँचालो गए जस्तो भएर वरिपरिको भू–भाग कम्पन भएपछि यज्ञमा उपस्थित सम्पूर्ण मानिसहरूले चिल्लागढधामको जयजयकार गरेपछि बिस्तारै शान्त भएको प्रत्यक्षदर्शी भगवती मन्दिरका माताहरूत्रय कलिकादेवी खतिवडा, अजितादेवी खरेल र तुलसादेवी कार्की काफ्लेले बताउनु हुन्छ ।

यस धामको भित्री वेदी उठाइएको चार किल्लाको भागमा त्यस समयमा विभिन्न जातका असंख्य चराचुरुङ्गीहरू बस्ने गर्थे । राजहाँस, हुचिल, हुँडार, क¥याङकुरुङ, गडुर, सारौँ, सिमकुख्रा, ढुकुर, चमेरा, बकुल्ला, हाडखोडा आदि चराहरूको वासस्थान थियो । यहाँ एउटा अर्को आश्चर्य रहस्यमय तथा रमणीय कुरा त के छ भने यहाँ बसोबास गर्ने कतिपय चराचुरुङ्गीहरूले त रूखबाट पहेँलिएर वा अरू कुनै कारणले पोखरीको पानीमा खसेका पातहरू खस्नासाथ आएर चुच्चाले च्यापेर बाहिर लगेर फ्याँक्ने गर्थे भन्ने कुरा प्रत्यक्षदर्शी स्थानीयबासीहरू बताउँछन् । पछि आएर पोखरीको वरिपरि रहेका बोटबिरुवाहरू काटिन थालेपछि यहाँका चराचुरुङ्गीहरू विस्थापित भई लोप हुँदै गएको पाइन्छ । उक्त यज्ञकुण्ड पछि आएर पोखरीमा परिणत भएपश्चात पनि पछिसम्म पनि यस पोखरीको पानीमा पाँच रङ्गका नीला, काला, सेता, सुनौला र राता रङ्ग माछाहरु थिए । त्यहाँका माछा खान नहुने । खाए तत्काल मरिने वा दुई–तीन वर्षसम्म रोगाएर भए पनि कालान्तरमा गएर मरिन्छ भन्ने भनाइ वा जनविश्वास रही आएको पाइन्छ । हाल माछाहरू पनि लोप हुँदै गएको पाइन्छ । यति मात्र होइन यहाँ औँशी, पूर्णिमा तिथिका दिन यज्ञकुण्डको पानीको बीच भागमा भुँमरी परेर तोप पड्के झैँ गरी ठूलो र भयानक आवाज निस्कन्थ्यो । औंशी पक्षमा यज्ञकुण्डको पानी र कनकाई माई भगवतीको पानी एकैसाथ भुँमरी परी पड्किएमा देशमा ठूलो विपत्ति खडेरी, बाढीपैरो, भुइँचालो, महामारी आदि चल्छ भन्ने जनविश्वास रहिआएको पाइन्छ ।
असंख्य चराहरूको वासस्थान र चारकिल्ला घेरिएको सुरक्षित गढ भएकोले यस स्थानको नाम चिल्लागढ रहन गएको भनाइ छ । पानीको अभावमा चार किल्ला बाँधिएको पोखरी, पानीको गढ भएकोले गाउँभरिका मानिसहरू त्यही पोखरीमा आएर नुहाउने, लुगा धुने गर्न थाले र विस्तारै पोखरीको पानी फोहोरहँदै गयो पछि त्यहाँको पानीले नुहाउँदा, लुगा धुदा शरीर चिलाउने हुन थाल्यो । त्यसपछि त्यहाँको पानीलाई चिलाउने गढको पानी भन्न थालियो । चिलाउने गढको पानी भन्दाभन्दै त्यस ठाउँको नाम नै चिल्लागढ रहन गयो भन्ने पनि भनाइ रहेको पाइन्छ । यज्ञस्थल र यसको वरिपरि रहेको प्राकृतिक घनाजङ्गल हाल आएर विनास प्रायः भइसकेको छ ।

झापाको चिल्लागढधाम धार्मिक दृष्टिले त महत्वपूर्ण छँदैछ । यो पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण छ । यसको पूर्व–पश्चिम र दक्षिणतर्फ तराईको सुन्दर फाँट फैलिएको छ भने उत्तरतर्फ चुरे पहाडका सुन्दर हरियाली डाँडाकाँडा छन् । यहाँबाट बिहानीपख सूर्योदयको समयमा देखिने मनोरम दृश्य र सूर्योस्तको समयमा देखिने पश्चिमतर्फको लालिमामय दृश्य मनमोहक र रमणीय छ । यसलाई धार्मिक तिर्थस्थलका साथै पर्यटकीय स्थलका रूपमा पनि विकास गर्नसके यो झापामा पूर्वी नेपालको मात्र नभएर भारत र भुटानसम्मका श्रद्धालु भक्तजनको तिर्थस्थल र पर्यटकीय स्थलका रूपमा प्रख्यात हुने सम्भावना देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here