सुन्दरहरैंचामा जंगली हात्तीको बितण्डा कतै मृत्यु कतै घाइते : दुःख दिन थालेपछि रातभर जाग्राम

0
42

योगेन्द्र योगी
सुन्दरहरैंचा( मोरङ) : मोरङको सुन्दरहरैंचामा क्षेत्रमा जंगली हात्तीले दुःख दिन थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका छन्। केही दिनयता जंगली हात्ती गाउँ पसेर वितण्डा मच्चाउन थालेपछि सो क्षेत्रका स्थानीय बासिन्दा आतंकित बनेका छन्।

करिव पन्ध्र दिन अघि सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ संगम टोल निवासी ६० वर्षीय भवकृष्ण घिमिरेको ज्यान लिएपछि आक्रोशित बनेको हात्ती यति बेला आतंक मचाईरहेको छ। केहि दिन अघि मात्र सुन्दरहरैचा – ६ मा सुतिरहेका बालक पंकज जैनलाई हात्तीले आक्रमण गरी घाइते गम्भीर बनाएको थियो।
त्यो घटना सेलाउन नपाउदै शुक्रबार  साँझ ७ः४५ बजेतिर फेरी सुन्दरहरैँचा –६ मा जंगली हात्तीको आक्रमणबाट सुन्दरहरैँचा–५ का ५० वर्षीय मानबहादुर राई गम्बिर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुन्दरहरैँचा–६ स्थित लाटी झोडा सामुदायिक वननजिक चौतारीमा बसिरहेको बेला मान बहादुरलाई हात्तीले आक्रमण गरेको थियो।
आक्रमणबाट शरीरका विभिन्न भागमा चोट लागेका उनको मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  घटनालगत्तै प्रहरीले दमकल र स्थानीयको सहयोगमा हात्तीलाई जंगलतर्फ धपाईएको सुन्दरहरैचा – ६ का वडा अध्यक्ष सन्तोष लिङ्देनले जानकारी दिए।  वडा अध्यक्ष लिङ्देनका अनुसार बस्तीमा पसेर हात्तीले घर भत्काइदिन थालेपछि त्रासका साथ रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए।

आहाराका लागि बस्ती पस्ने गरेको हात्तीले सुन्दरहरैंचाका बिभिन्न  क्षेत्रका बस्तीमा रातभर वितण्डा मच्चाउने गरेको छ। यस्तै जिल्लाकै सुन्दरहरैँचा ५, ६, ७, ८, ९, १०, ११ र १२  का बासिन्दा हात्तीबाट सबैभन्दा बढी पीडित बनिरहेका छन्। यी क्षेत्रमा वर्षेनी हात्तीले घर भत्काउने, मान्छेलाई आक्रमण गर्ने, बालीनाली नष्ट गर्ने, घरका खाद्यान्न खाइदिनेलगायतका वितण्डा मच्चाउँदै आएको  सुन्दरहरैचा – ६ स्थित डिपु टोल विकास सस्थाका अध्यक्ष मान बहादुर श्रेष्ठले बताए।

गाउँ पसेर हात्तीले उपद्रो मच्चाउन थालेपछि बासिन्दा रातभर नसुतीकन जाग्राम बस्न थालेको अध्यक्ष श्रेष्ठले बताए। राति विद्युत्को व्यवस्था नहुँदा अँध्यारोमा आगो बालेर हात्ती धपाउनुपरेको स्थानीय अशोक गुरुङले बताए।  पछिल्लो समय मोरङको पनि सुन्दरहरैंचामा विभिन्न स्थानमा जंगली हात्तीको चहलपहल बढेको छ । लामो समयदेखि झापा, मोरङ र सुनसरीको जङ्गलमा रहेका हात्तीमध्ये केही हात्ती भारततिर गए पनि केही अझै नेपालमै रहेको बताईएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here