झापा , ज्योति स्मारिका विमोचित ज्योति माध्यमिक विद्यालय कमल–२, भुत्लुङ्ग झापाले आफ्नो ५९ औँ वार्षिकोत्सवको अवसरमा स्मारिका प्रकाशन गरेको छ ।
विद्यालयमा सोमबार आयोजित एक औपचारिक समारोहका बीच कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘ज्योति स्मारिका–२०८२’ विमोचन गरे । उक्त समारोहका प्रमुख अतिथिसमेत रहेका मुख्यमन्त्री कार्कीले युवाहरु देशका कर्णधार एवं समृद्धिका आधार भएको बताउँदै भने, ‘विद्यालय तहको शिक्षामा अनुशासन र चरित्र निर्माणलाई प्राथमिकताका साथ समावेश गरिनुपर्छ ।
यसले भोलिका दिनमा युवालाई सक्षम नागरिक बनाउन मद्दत पुग्छ ।’ कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक खड्काले मुख्यमन्त्री समक्ष विद्यालयका मागहरु समेटिएको ९ बुँदे मागपत्र हस्तान्तरण गरे । स्मारिकाका सम्पादक समीरबाबु कट्टेलले प्रस्तुत स्मारिका विद्यालयका उकाली, ओराली, एवं भविष्यका सम्भावनाको पुञ्ज मात्र नभएको बताउँदै भने, ‘यो स्मारिका विद्यालय एवं समुदायका साझा प्रयत्न, अनुभव एवं उपलब्धिको दस्तावेज पनि हो’ सोही कार्यक्रममा प्रधानाध्यापक नगेन्द्र बस्नेतले विद्यालयका समग्र विषय समेटिएको वार्षिक प्रतिवेदनसमेत प्रस्तुत गरे ।

कार्यक्रमममा स्मारिका सम्पादक समीरबाबु कट्टेल, स्मारिका सम्पादनको दौडानमा योगदान गर्ने सहायक प्रधानाध्यापक नारायण बस्नेत, विद्यालयका उत्कृष्ट विभाग प्रमुख एवं शिक्षक अर्जुन घिमिरे, उत्कृष्ट शिक्षक प्रकाश धिमाललाई मुख्यमन्त्री कार्कीले सम्मान गरे । त्यस्तै सम्मानित हुनेहरुमा कमल गा.पाका नृत्य प्रशिक्षकद्वय प्रनिशा नेपाल, स्मृति सुब्बा लगायत चन्दादाताहरु समेत थिए । त्यस्तै, कमल गा.पा. वडा नम्बर वडा –२ को तर्फबाट शिक्षक वन्दना थापा मगरले सम्मान प्राप्त गरिन् । साथै सोही कार्यक्रममा भुपू सैनिक संघ क्षेत्र नं ५ झापाले ज्योति माविका विद्यार्थीहरुका लागि न्यानो कपडा एवं खेल सामग्री हस्तान्तरण गरेको थियो । संघका कार्यसमिति सदस्य एवं ज्योति माविका अध्यक्ष तिलक खड्कालाई उनको सामाजिक कार्यको प्रसंशा गर्दै संघले सम्मानसमेत गरेको थियो ।

औपचारिक कार्यक्रम पश्चात् गायकद्वय श्रीकृष्ण लुइँटेल (बोके दारी) एवं गायक सिद्धान्त खड्काले पुस महिनाको ओसिलो मौसमलाई आफ्नो प्रस्तुतिका माध्यमबाट निकै तताएका थिए ।
विद्यालयको तर्फबाट शिक्षिकाहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने विद्यार्थीहरुका विभिन्न सांस्कृतिक नृत्यले दर्शकको ध्यान खिचेको थियो । सहायक प्रधानाध्यापक नारायण बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रम रमा लामिछाने, समीरबाबु कट्टेल र अनुप वस्तीले संयुक्त रुपमा सञ्चालन गरेको शिक्षक पूजा श्रेष्ठले बताइन् ।





























