करुणा र कर्तव्यको संगममा उभिएका प्रहरी नायब निरीक्षक कार्की

0
28

झापा, इलामको सूर्योदय नगरपालिका–१३ मा एक्लै, असहाय अवस्थामा जीवन बिताइरहेकी ८२ वर्षीया वृद्धा महिलाको उद्धार गरी परिवारको जिम्मा लगाउने कामले इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी नायब निरीक्षक जीवन कुमार कार्की फेरि चर्चामा छन्। मानवीय संवेदनशीलता र जिम्मेवारीपूर्ण पहलका लागि सूर्योदय नगरपालिकाले उनलाई सम्मानसमेत गरेको छ। 

आफ्नै घरमा आधारभूत आवश्यकता पूरा गर्न नसक्ने अवस्थामा भेटिएकी वृद्धाको अवस्थाबारे जानकारी पाएलगत्तै कार्कीको नेतृत्वमा प्रहरी टोली खटियो। आवश्यक समन्वय र पहलपछि ती वृद्धालाई सुरक्षित रूपमा परिवारसँग पुनर्मिलन गराइयो। यो घटनाले प्रहरीप्रति नागरिकको विश्वास अझ बलियो बनाएको स्थानीयको भनाइ छ।

कार्कीको पहिचान मानवीय कार्यमा मात्र सीमित छैन। यसअघि धनकुटाको भेडेटारमा कार्यरत रहँदा उनी लागूऔषध नियन्त्रणमा अब्बल अनुसन्धानकर्ताका रूपमा चिनिएका थिए। तरकारी बोक्ने मिनीट्रक, बिरामी बोकेको एम्बुलेन्स वा तेल बोकेको ट्याङ्कर—अपराध लुक्न खोजेका हरेक माध्यममा उनको अनुसन्धानले सफलता पाएको थियो।

५ सय ४४ किलोग्राम गाँजा बरामदजस्ता ठूला घटनाले उनलाई जिल्ला मात्र होइन, कोशी प्रदेशभर परिचित बनायो। यही कार्यसम्पादनका आधारमा २०८० साल माघमा उनी ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषित भई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट पुरस्कृत भए।

६९औँ प्रहरी दिवस २०८१ को अवसरमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै लागूऔषध अपराध नियन्त्रण विधामा ‘सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ प्रहरी पुरस्कार प्राप्त गर्नु उनको सेवायात्राको अर्को महत्वपूर्ण उपलब्धि हो। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट प्राप्त सम्मानले “सही कामको सही मूल्याङ्कन अवश्य हुन्छ” भन्ने विश्वासलाई थप सुदृढ बनाएको कार्की बताउँछन्।

उनको कार्यक्षेत्र अपराध नियन्त्रणमा मात्र सीमित छैन। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान, विद्यालयमा विद्यार्थी र शिक्षक लक्षित सचेतनामूलक कार्यक्रम, साइबर अपराध र लागूऔषध दुव्र्यसन नियन्त्रणबारे अन्तरक्रिया, चालक तथा सह–चालकलाई सडक सुरक्षा तालिम, सीमा क्षेत्रमा नेपाल–भारत संयुक्त गस्ती तथा स्थानीयसँग संवादमा उनी सक्रिय देखिन्छन्।

प्राकृतिक विपत्ति, सडक अवरोध, लोकसेवा परीक्षार्थीलाई वैकल्पिक मार्गबारे जानकारीजस्ता साना तर महत्वपूर्ण क्षणमा समेत उनको उपस्थितिले प्रहरी र नागरिकबीचको दूरी घटाएको छ। मिलनसार स्वभाव, सहयोगी व्यवहार र सकारात्मक सोचले उनी जहाँ पुग्छन्, त्यहीँ विश्वासको आधार निर्माण हुन्छ।

प्रहरी नायब निरीक्षक जीवन कुमार कार्कीको कथा कुनै एक व्यक्तिको प्रशंसा मात्र होइन। यो कर्तव्य र करुणा सँगसँगै अघि बढ्न सक्छन् भन्ने प्रमाण हो—अपराध नियन्त्रणमा कठोर, तर मानवतामा संवेदनशील।
उनको सेवायात्रा समाजका लागि प्रेरणा, प्रहरी संगठनका लागि गर्व र भावी पुस्ताका लागि एउटा जीवित पाठ हो—इच्छाशक्ति र इमानदारी भयो भने परिवर्तन सम्भव छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here