विद्यार्थीको भविष्य माथि खेलवाड गर्दै जेडी इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी

0
38

सुरेन्द्र भण्डारी
झापा, अन्तर्राष्ट्रिय स्तरको फेसन डिजाइन शिक्षा दिने सपना देखाएर बिर्तामोडमा सञ्चालन गरिएको जेडी इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (जेडीआईएफटी) ले अन्ततः विद्यार्थीको भविष्यसँग गम्भीर खेलवाड गरेको तथ्य बाहिरिएको छ ।

भारतको शिलगढी मुख्य केन्द्र भएको जेडी इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीले फेसन डिजाइन, टेक्सटाइल, स्टाइलिङ र इन्टेरियर डिजाइनजस्ता विषयमा तीन वर्षे डिप्लोमा तथा डिग्री तहको पढाइ गराउने दाबी गर्दै आएको थियो ।

शिलगढी शाखाले अन्तर्राष्ट्रिय पाठ्यक्रम, प्रायोगिक कक्षा, इन्डस्ट्रियल एक्सपोजर र रोजगारीको सम्भावना देखाउँदै विद्यार्थी भर्ना गर्दै आएको थियो । यही आकर्षक प्रचारकै आधारमा झापाको बिर्तामोडमा पनि कलेज शाखा सञ्चालन गरिएको थियो ।

सामाजिक सञ्जाल, अनलाइन विज्ञापन र प्रत्यक्ष सम्पर्कमार्फत नेपाली विद्यार्थीलाई प्रलोभनमा पारेर भर्ना अभियान चलाइएको कलेजले सुरुका केही महिना नियमित कक्षा सञ्चालन गरे पनि पछि अवस्था एकाएक बिग्रिएको विद्यार्थीको गुनासो छ ।

कलेजमा भर्ना भइसकेपछि पटक–पटक अतिरिक्त शुल्कका नाममा दबाब दिइने, व्यवहार असहज बन्दै जाने र अन्ततः कलेज नै उठ्ने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।

फेसन डिजाइनसम्बन्धी तीन वर्षे डिप्लोमाका लागि एक लाख रुपैयाँ र डिग्री तहका लागि एक लाख ३० हजार भारतीय रुपैयाँसम्म शुल्क लिइएको विद्यार्थी बताउँछन् ।

अर्जुनधारा नगरपालिका–११ निवासी अंशिका गिरीले कलेजमा भर्ना हुन एक लाख २८ हजार रुपैयाँ बुझाएको बताइन् । “बीचैमा कलेज नै उठेपछि मेरो समय, पैसा र भविष्य सबै अन्धकार बन्यो,” उनले भनिन्, ।

????????????

गिरीजस्तै धेरै विद्यार्थी आज अन्योलमा छन् । गिरीका अनुसार उनले बिर्तामोडस्थित स्नेहा अग्रवाललाई रकम बुझाएकी थिइन् । तर, कलेज बन्द भएपछि अग्रवाल पन्छिँदै आएको, आफू सञ्चालक नभएको भन्दै भारतका सञ्चालकसँग सम्पर्क गर्न सुझाव दिने गरेको र पछिल्लो समय फोनसमेत नउठाउने गरेको उनको आरोप छ । स्नेहा अग्रवाल बिर्तामोडका एक जनप्रतिनिधिकी श्रीमती भएको पनि उनको दाबी छ ।

बिर्तामोडमा सञ्चालित जेडी इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीका सञ्चालक सुशील जोधानी र रितु जोधानी रहेको बताइएको छ ।

उनीहरू हाल विद्यार्थीबाट संकलित रकम लिएर फरार रहेको आरोप लगाइएको छ । केही विद्यार्थीलाई भारतको शिलगढीमा पढ्न जान सकिने विकल्प देखाइए पनि अधिकांश विद्यार्थी आर्थिक तथा व्यवहारिक कारणले अलपत्र परेका छन् ।

सबैभन्दा गम्भीर विषय कलेज बिना दर्ता सञ्चालन भएको र सयौँ विद्यार्थीको भविष्य अन्योलमा पर्दासमेत स्थानीय निकाय मौन बसेको आरोप उठेको छ । “कलेजले पैसा फिर्ता गर्नुपर्छ, अन्यथा कानुनी कारबाहीका लागि उभिन्छौँ,” गिरीले भनिन् ।

शिक्षा र भविष्यको उज्यालो सपना देखाएर सञ्चालन गरिएको भनिएको जेडी इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीको बिर्तामोड प्रकरणले निजी शिक्षण संस्थामाथि नियमन कति कमजोर छ भन्ने गम्भीर प्रश्न उठाएको छ ।

अब स्थानीय सरकार र सम्बन्धित निकायले चासो नदिए विद्यार्थीको भविष्य अन्धकार बनाउने यस्ता घटना दोहोरिरहने चिन्ता बढेको छ ।

विद्यार्थीका अभिभावकहरुले आफ्ना नानिहरुको भविश्य अन्धकार पारेर कजेल उठेको भन्दै कानूनी कारवाहीका लागि प्रशासनसमक्ष निवेदन दिने बताएका छन् ।

जेनजी आन्दोलन अघिसम्म कलेजले विभिन्न वहानावाजी गर्दै विद्यार्थीलाई पढाउने गरेको तर, जेनजी आन्दोलन पछि कलेज नै बन्द गरेर सञ्चालक भागेपछि आफ्नी छोरीको मात्र नभई धेरै नानीहरुको भविश्य अन्धकार बनेको अंशिका गिरीका पिता युवराज गिरी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here