मौलिकताको संरक्षण

0
16

कुनै पनि देशको परिचय त्यहाँका भाषा, भुषा, संस्कृति, परम्परा र जीवनशैलीले दिन्छ । नेपालको परिचय र पहिचान पनि त्यसकै आधारमा विश्वसामु परिचित थियो । तर, नेपालमा वि.सं. ३०६३ सालमा भएको राजनीतिक परिवर्तनले त्यस्तो पहिचान मासिन थाल्यो । त्यसमध्येको नेपालीको मूल पहिचान थियो– परम्परागत पोशाक । त्यसअघि कुनै पनि प्रमुख पद र जिम्मेवारीमा रहेका व्यक्तिले दौरा, सुरुवाल, टोपी र गुन्यूचोलो राष्ट्रिय पोशाकका रुपमा स्थापित थियो । तर आन्दोलनको बलमा गठन भएको सरकारले हिजोको बाध्यकारी पोशाक विस्थापित गरी आफूखुशी लगाउन छुट दियो । त्यसले विश्वमाझ परिचय बनाएको नेपाली पोशाक अस्तित्वहीन भयो ।

नेपालीको पर्याय बनिएको मौलिक परम्परा मासिँदै जान थालेपछि राष्ट्रिय भावनाले भरिएका युवाहरुले राष्ट्रियता र राष्ट्रको विशेषता झल्काउने र नयाँ पुस्तालाई मौलिकताप्रति जागरुक बनाउने उद्देश्यले राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको हो । विभिन्न जातजाति, भाषाभाषि, सांस्कृतिक परम्पराले समृद्ध नेपालको छुट्टै पहिचान थियो र त्यो क्रमशः राज्य सञ्चालक हौं भन्नेहरुबाटै अतिक्रमण हुन थालेको छ । प्रधानमन्त्री, मन्त्री र सरकारी सेवामा रहेका उच्च पदस्थ व्यक्तिहरुले नै शपथदेखि औपचारिक तथा राष्ट्रिय पर्वहरुमा नेपाली मौलिक पोशाक तिरस्कार गरेका अनेकौं उदाहरण छन् । यसले राष्ट्र र जातीय स्वाभिमानको रक्षाका खातिर सचेत तथा स्वाभिमानी युवाहरुले विगत बाह्र वर्षदेखि राष्ट्रिय पोशाक दिवस मनाउँदै आएका छन् ।

यतिबेला नेपाली युवाले मौलिक चाडपर्व, परम्परा र संस्कार बिर्सिँदै गएका छन् । आयातित पश्चिमा संस्कृतिको अन्धानुकरण गर्नु बिडम्बनापूर्ण अवस्था हो । हाम्रा विशिष्ट परम्परा, संस्कृति, कला र मौलिकताहरु हेर्न, अध्ययन गर्न लाखौं विदेशीहरु यहाँ आउने गर्छन् । नेपालीको विविध संस्कृति, भाषा, भुषा, कला र विविधतायुक्त प्रकृतिसँग रमाउन आउने पर्यटक हाम्रा समृद्धिका आधार पनि हुन् । त्यही आधार मध्येको एक नेपालीको पहिरनको संरक्षण तथा नेपालीको गौरवलाई सगरमाथा झैं अटल राख्न यो दिवसको विशेष महत्व छ ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट २०७० पुस १७ गतेका दिनदेखि मनाउन थालिएको यो दिवश यतिबेला विश्वका हरेक भूगोलमा रहेका नेपालीको साझा पर्व भएको छ । अंग्रेजी वर्षको प्रारम्भको पहिलो दिन नयाँ पुस्ता पनि उतै अलमलिन थालेपछि मौलिकता नष्ट हुने भयले आफ्नोपनसँग नजिक हुन र त्यसको जगेर्ना गर्न यस्तो अभियानले ठूलो सहयोग गर्छ । देशको शान, मान र पहिचानसँग जोडिएको राष्ट्रिय पोशाकको संरक्षण गर्न सकिए मात्र राष्ट्रको गौरवको पनि रक्षा हुन्छ । यस कर्ममा सरकारको ध्यान जाओस् र जनताका प्रतिनिधि र विशिष्ट पदमा रहेकाहरुले औपचारिक पोशाक पुनस्थापित गरुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here