झापा, झापाको बिर्तामोड–५ मा शाखा कार्यालय रहेको ‘द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था’ले आफ्नो छैटौँ स्थापना दिवस वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई भोजन गराएर मनाएको छ ।
दमक–५ मा मुख्य कार्यालय रहेको सहकारीले बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा भोजन गराउँदै सम्मानसहित स्थापना दिवस मनाएको हो।
सहकारीका अध्यक्ष दीपक खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वृद्धाश्रममा रहेका ४० भन्दा बढी ज्येष्ठ नागरिकलाई भोजन गराइएको बिर्तामोड सेवा केन्द्र प्रमुख दिवस खतिवडाले जानकारी दिए। ‘ज्येष्ठ नागरिक जिउँदा तीर्थ हुन्’ भन्ने भावनासहित सहकारीले उनीहरूलाई मिष्ठान्न भोजन प्रदान गर्दै सम्मान गरेको थियो।
संक्षिप्त कार्यक्रमबीच आश्रममै पुगेर भोजन गराउने कार्य गरिएको सहकारीका अध्यक्ष खरेलले बताए। सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तर गर्ने उनले उल्लेख गरे।
कार्यक्रममा सहकारीका कोषाध्यक्ष यामजी श्रेष्ठ, व्यवस्थापक युवराज सिग्देल तथा सदस्य सुवोध चौधरी, नारायण बस्नेत र महेन्द्र सिटौला सहभागी थिए।
त्यस्तै कर्मचारीहरू मिलन गजमेर, नितेश पोखरेल, रूपा राना मगर, प्रतिमा दाहाल र यशोदा सापकोटाको समेत उपस्थिति रहेको थियो।
यस अवसरमा परोपकार तथा अनुसन्धान केन्द्रका अध्यक्ष विष्णु कार्की र कार्यालय सचिव वेनुप्रसाद भट्टराईले सहकारी परिवारप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे। सबैको सहयोगबाट मात्र वृद्धाश्रम सञ्चालन सम्भव हुने उल्लेख गर्दै उनीहरूले दाताहरुलाई यथासक्य सहयोग गर्न आग्रह गरेका थिए।































