नेपालको राजनीतिक आकाशमा यसबेला कालो बादल मडारिएको छ । त्यो बादललाई एकथरीले सृजनाको सुखद् सन्देशका रुपमा लिएका छन् भने अर्काथरीले ध्वंश र विनाशका रुपमा चित्रण गरेका छन् । अझ देशका पुराना र परम्परावादी दलहरु यसबीचमा विकसित घटनाक्रमले प्रतिरक्षात्मक अवस्थामा पुगेको विश्लेषण गर्न थालिएको छ । जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिले ल्याएको यो अवस्थालाई सुशासनको पक्षपाती र भ्रष्टाचार विरोधी एजेण्डा बोकेका नयाँ दल र अनुहारका बीच ध्रुवीकरण हुन थालेको छ । यस्तो धु्रवीकरणले देशमा लामो समयदेखि रहेको सत्ता सन्तुलन बद्लिने संकेत पनि देखिएको छ ।

केही महिनाकै अभ्यासमा देशकै चौथो ठूलो राजनीतिक शक्तिका रुपमा स्थापित रवि लामिछाने स्वतन्त्रका हैसियतले काठमाडौं महानगरमा सर्वाधिक मतले बिजयी बालेन्द्र शाह र उज्यालोका नायक भनिएका कुलमान घिसिङको एकताले ल्याएको तरंग अहिलेको चर्चाको विषय भएको छ । यसले परम्परावादी दल लगायत मधेश केन्द्रित दलहरुमा पनि धु्रवीकरणको चर्चा र संवाद भइरहेको छ । त्यसैगरी विचार मिल्ने राप्रपा र राप्रपा नेपालबीच एकीकरण नै भएको छ भने यसले आसन्न निर्वाचनको चहलपहल बढाएको मात्र छैन मुलुक निर्वाचनमय भएको छ ।
यद्यपि सबैभन्दा ठूलो जनाधार भएको बताउने एमाले विघटित प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दैछ र सँगै निर्वाचनका कार्यक्रमहरुमा सहभागी पनि भइरहेको छ । जेन–जी आन्दोलनको जगमा सबै दलमा रुपान्तरणको बहस अस्पष्ट ढंगले अघि बढेको छ । ती दलमा रहेका युवाहरु आफूहरुको यथोचित भूमिका खोज्दैछन् । तर, त्यो कार्यान्वयनमा भन्दा बहस मै सीमित छ । दलहरुका बीचको ध्रुवीकरण, विभाजन, सहकार्यका घटनाहरु नौलो होइन र यो स्थायी हुन पनि सकेको छैन । त्यसैले जेन–जी आन्दोलनले ल्याएको चर्चा केही समयपछि त्यत्तिकै सामसुम हुनु अनौठो हुँदैन ।
अन्तरिम सरकारको दायित्व फागुन २१ गते निर्वाचन गराउनु हो । जनताद्वारा निर्वाचित प्रतिनिधिहरुको थलो प्रतिनिधिसभा मार्फत विद्यमान संक्रमणको निकासले मात्रै राजनीतिलाई लिकमा हिँडाउन सकिन्छ । दलको आवरणमा विगतमा भएका भ्रष्टाचार, दण्डहीनता, नातावाद, कृपावाद लगायतका विसंगतिले जन्माएको जेन–जी विद्रोहको मुख्य माग भनेकै सुशासन हो । त्यसैले लामो समयदेखि सत्ताको न्यानोमा बस्नेहरुले आत्मआलोचित हुँदै राजनीतिक स्थायित्वको बाटो समाउनु पर्छ । युवाको भावना विपरीतका बोली र व्यवहारले देशमा शान्ति, स्थायित्व र सुशासन आउँदैन । यसतर्फ पुराना दलहरु सचेत हुनुपर्छ ।


























