
आशा गर्नु भर नपर्नु भन्ने उखान हामीले सुन्दै आएका छौँ । नेपालको राजनीतिक क्षेत्रसँग पनि यो उखानको भाव ठ्याक्कै मेल खाँदै आएको देखिन्छ । नेतृत्वहरुले जनतालाई आशा त देखाउँछन् तर भरपर्ने काम गर्दैनन् । यही मान्यता स्थापित भएको छ अहिलेसम्म तर अब यो परिभाषा बदल्ने समय आएको छ । अब सबैले भरपर्ने काम गर्नु पर्दछ ।
छर्लङ्ग परिदृष्य :
जेन–जी आन्दोलनको प्रभाव स्वरुप संसद विघटन र नयाँ आम चुनावको घोषणा भएको स्थिति छ । निर्वाचनको समय आइ नै सकेको छ । संसद पुनःस्थापना हुने सम्भावना आधा–आधा भए पनि देश निर्वाचनमय हुँदै आएको छ । दलका नेताहरु र प्रधानमन्त्रीको भेटले दलहरु निर्वाचन जाने निष्कर्षमा पुगेका देखिन्छन् । अबको निर्वाचनको मैदानमा नयाँ पुस्तासहितका नयाँ राजनीतिक दलहरु पनि पुराना दलहरुसँग भिड्दैछन् । तसर्थः पुराना दलहरुका लागि संसदीय गणितीय वर्चस्व कायम गर्न ठूलो चुनौति सिर्जना भएको छ । नेपालको राजनीति परिदृष्य प्रष्टरुपमा फेरिएको रुपमा स्वीकार्नु पर्ने स्थिति पैदा भएको छ । यस पृष्टभूमिमा पुराना र नयाँ दल, समूह र नेताहरु आ–आफ्नै अनुकूल रणनीति तय गर्न भेटघाट गरिरहेका पाइन्छन् । संवादका श्रृंखलाहरु चलिरहेका समाचार आइरहेका छन् । यसलाई सुखद् नै मान्नु पर्दछ । किनकि अब त राम्रो हुनै पर्दछ । यो समयको माग हो ।
पुराना दलका स्थिति :
विगतमा पुराना दलहरु आरामले देशको शासन गरिरहेका थिए । विभिन्न समिकरणमा रही, मत र बहुमतको बलमा सत्तामा हाली–मुहाली गरिरहेका थिए । दल र तिनका नेताहरुका लागि स्वर्ग जस्तै थियो । चुनौति नभएपछि आनन्दको राजनीति र सत्ताको सयर सुनौलो थियो । तर पृष्टभूमिमा नयाँ पुस्ता तथा जेन–जीहरुको चेतनाको विकास तीव्ररुपमा भएर आयो । देशको सबै क्षेत्रको बिग्रँदो अवस्था र आफ्नो अनिश्चित भविष्यका कारण नयाँ पुस्ता तथा जेन–जीहरु आन्दोलित भइरहेको अवस्थालाई दलहरुले वास्ता नै गरेनन् । जेन–जीहरुको बिष्फोटक आन्दोलनले दलहरुको स्वर्ग नष्ट गरिदियो ।
शिर्ष नेताहरु समेत ज्यान बचाउन दुला पस्नु प¥यो, भाग्नु प¥यो । संसद विघटन भयो दलहरु र नेताहरु बिलखबन्दमा परे । जेन–जीको आन्दोलनकै बलबुतामा चुनाबी सरकार बन्यो । आजको दिनमा दलहरुको स्थिति नाजुक रहेको छ । जेन–जी मात्र होइनन् आमजनताहरु नै पुराना दल तथा नेताहरुप्रति आशावादी छैनन् । तसर्थः नयाँ पुस्ताका अभियन्ता, नेता तथा नयाँ दलहरु प्रतिको आकर्षण र विश्वास विकास भएको छ । आसन्न संसदीय निर्वाचनमा पहिलाको जस्तो उल्लेख्य संख्या पाउन मुस्किल छ । त्यसैले पनि होला पुराना दशहरु छलफलमा जुटेका देखिन्छन् ।
जेन–जी आन्दालनको ब्याकफोर्स :
पुराना दलहरु सत्तामा रहेर ढलिमलि गर्न र आनन्द लिइरहन मै मग्न रहे । देशमा विदेशी चलखेल के भइरहेको छ ? विश्वका शक्ति राष्ट्रहरु एशीयामा के गर्र्दैछन् ? अध्ययन र अनुसन्धान गर्नु जरुरी नै सम्झेनन् । वास्तवमा सरकारको इन्टेलिजेन्स निकायले जेनजी आन्दोलनको गर्भ अर्थात् ब्याकफोर्सबारे भरपर्दो अनुसन्धान नै नगरेको भान हुन्छ । खुलमखुल्ला सूचना तथा प्रविधि, साइबर र डिस्कर्ड लगायतका प्रविधि र अनलाईन जस्ता माध्यममा विभिन्न समूहरु एकत्रित भएर बिष्फोटक सम्वाद र विध्वंसको तयारी गरिरहेका गतिविधि देशको शासन संयन्त्र र दलहरुले पनि थाहा पाएनन् । राज्य र दलहरुको इन्टेलिजेन्स संयन्त्र अत्यन्तै कमजोर रहेको देखियो । जसले विभिन्न कुरा अध्ययन गरोस् र सूचना तथा रिपोर्ट देओस् । भूराजनीतिक हिसाबले नेपाल अत्यन्त रणनीतिक स्थितिमा रहेको तथ्यलाई देश हाँक्ने दलहरुलाई थाहा नभएको होइन, तर किन मस्त निदाए ? राजनीतिक दलहरुको यही कमजोरीले आज उनीहरु सत्ताच्यूत भएका छन् । दुःख पायो मंगल आफ्नै ढंगले उखान चरितार्थ भएको छ ।
विध्वंसको रहस्य :
विश्लेषकहरु भन्छन् विध्वंस या आगजनीमा जेन–जीहरुको हात छैन । जेन–जी आन्दोलनको भोलिपल्ट कुन तत्वहरुले विध्वंस र आगजनी गरे, गराए ? यसको उत्तर नखोजी भावी सरकारहरु सफल हुँदैनन् । देश स्थिर हुँदैन । हुन त एकप्रकारले सबैलाई थाहा नै भइसक्यो । बारबरा फाउन्डेसन र अमेरिकी युथ काउन्सिल (फोरम) या यस्तै संगठनमा जोडिएकाहरुले विध्वंस मच्चाए या उनीहरुलाई प्रयोग गरियो भन्ने भाष्य चर्चामा छ । तोकेरै भन्दा अमेरिकाको यसमा भूमिका रहेको भनेर विश्लेषकहरुले भनिसकेका छन् । नेपालकै केही राजनीतिक पार्टीहरु नै पनि विध्वंसमा सामेल भएका पाइए पनि भनिन्छ । कमसेकम विध्वंस या आगजनी गराउनुको उद्देश्य के थियो त ? पुराना तथा नयाँ राजनीतिज्ञहरुले जान्नै पर्दछ । कतै नेपालको कमजोर र अदुरदर्शी कुटनीति कलाको उपज त थिएन ? तसर्थ राजनीतिक दल, नेता तथा आगामी सरकारहरुले नेपालको भूराजनीति सुहाउँदो परिपक्व र सन्तुलित कुटनीति, परराष्ट्र तथा विदेश नीति अवलम्वन गर्नु उपयुक्त हुन्छ ।
भावी योजनाहरु खोई ?
अहिलेसम्म कुनै पार्टीहरुले ठोस योजना सुनाएका छैनन् । विगतकै जस्तो शासनशैली र विकासशैली जेन–जी चेतनाका अगाडि अब काम लाग्दैनन् । जेन–जीले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारबिरुद्ध आन्दोलन गरेका थिए । सामाजिक सञ्जालको प्रसंग सकिए पनि भावी सरकारहरुले भ्रष्टाचार कसरी निर्मूल गर्न सक्लान् ? अब सरकार जान्छौँ भन्ने पार्टी, समूह या नेताहरुले सटिक योजना या प्रणाली सुनाउनु पर्छ । देशका अन्य आयामका मोडल के हुन्छन् ?
उत्पादन निर्यात गरी प्रसस्त धन आर्जन गरी देश र जनता समुन्नत कसरी बनाउने योजना सुनाउनु पर्छ । पुराना दलहरुले त लौ सकेनन् देश र जनतालाई समृद्ध पार्न । नयाँ दल, नयाँ पुस्ता र जेन–जीका प्रतिनिधिहरुले खोइ त भावी योजना बनाएका र सुनाएका ? योजना, मोडल विकास गर्न समय लाग्छ, बहस चलाइनु पर्छ र निचोड निकाल्नु पर्छ । यस अर्थमा नयाँहरु पछाडि परिरहेका छन् । बरु हर्क साङपाङ, कुलमान घिसिङ र दुर्गा प्रसाईंहरुले मौखिक रुपमा भए पनि योजनाहरु सुनाइसकेका छन् ।
रवी लामिछाने र बालेन्द्र शाहको योजना :
उनीहरुको योजनाको सार चाहिँ बहुलबादी लोकतान्त्रिक शासन प्रणाली र परिवर्तनकारी राजनीतिक शक्तिहरु बीच सहकार्य । यो नारा जार्गन जस्तो लाग्छ । लोकतान्त्रिक अर्थात् संसदीय प्रणाली भएपछि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री या राष्ट्रपति या राजतन्त्र नमान्ने अर्थ लाग्ने देखिन्छ । परिवर्तनकारी राजनीतिक शक्ति भनेको के ? सबै नै परिवर्तनकारी विचार बोकेका छन् । कस्तो परिवर्तन ? त्यो चाहिँ महत्वपूर्ण हुन्छ । यिनीहरुमा पनि क्लियरकट भिजन देखिँदैन । तर पनि पुरानाका तुलनामा यिनीहरुसँग बढी आशावादी चाहिँ हुन सकिन्छ । किनकि यिनीहरु पुरानाहरुले गरेका कमजोरीबाट सिकेर राम्रो गर्न राजनीतिमा आएका छन् र युवाहरु हुन् । थप आकर्षणको रुपमा कुलमान घिसिङ्ग पनि रास्वपामा पहिलो बरियताको उपसभापति पदसहित जोडिएका छन् । कुलमानले विकासका भिजन र जाँगरिलो कार्यशैली प्रष्ट देखाएका छन् ।
चुनावपछि एक हुनु उत्तम :
नयाँहरु एक हुन खोजिरहेका छन्, तर उनीहरु कति सफल हुन्छन् भन्न सकिन्न । किनकि नयाँहरु पनि नेपाली समाजकै उपज हुन् । उनीहरुलाई पनि पद, बरियता र शीर्ष स्थान चाहिन्छ अनि कहाँ एकता सम्भव हुन्छन् ? पुरानाहरु पनि एक हुन खोजेका देखिन्छन्, तर उनीहरुलाई फेरि भागबन्डा चाहिन्छ । बरु आ–आफ्ना भावी योजना र रणनीति बलियो र समयानुकूल बनाउनु उत्तम हुन्छ । चुनावमा धेरै थान सांसद पद पाउने योजनामा लाग्नु उत्तम हुन्छ र चुनावपछि भने सरकार निर्माणका लागि विचार मिल्नेहरु बीच एलाएन्स गर्नु राम्रो हुन्छ । कुन पार्टीमा कुन मन्त्रालयका लागि को उपयुक्त छन् उनीहरुलाई मन्त्रीत्वको जिम्मेवारी दिनु नै उत्तम उपाय हुन सक्छ ।
एक थान सांसद पद जितेर देखाउनु :
नयाँहरुको ताउरमाउरले उनीहरु सत्तामा पुगिसके र प्रधानमन्त्री, मन्त्री आदि भइसके जस्ता व्यबहार देखाउँदैछन् । सत्तामा पुग्नु त्यति सजिलो कहाँ हुन्छ र ? अनुभवी राजनीतिक पार्टीहरुसँग प्रतिस्पर्धा गर्न चानचुने सुझबुझले हुँदैन । पुराना दलका कतिपय शीर्ष नेताहरुले नयाँहरुलाई स्टन्टबाज भनिरहेका पाइन्छन् । त्यसैले नयाँ हुन् या पुरना पहिला एक–एक थान सांसद पदमा निर्वाचित भएर देखाउनु । सके बहुमत ल्याउनु । अनि चाहिँ सत्तामा पुग्न सम्भव हुनसक्छ । भविष्यमा पनि सत्ताको भागबण्डा, भ्रष्टाचार, अनियमितता, नातावाद, कृपावाद सह्य हुन सक्दैन । परिपक्व राजनीति, स्वच्छ तथा स्थिर शासन हुनु पर्दछ । परिपक्व विदेश नीति हुनु पर्दछ । देशमै प्रसस्त रोजगारी सिर्जना हुनु पर्दछ । दू्रतगति देश विकास भई देशको अर्थतन्त्र सुध्रनु पर्दछ । आशा देखाउने मात्र होइन अब भरपर्ने काम गर्नु सक्नु पर्दछ ।

























