माईखोला पुल नजिक सनातन सुरक्षा सेना नेपालले बम राखेको पुष्टि

0
48

झापा । झापाको कन्काई नगरपालिका–४ स्थित माईखोला पुल नजिक सनातन सुरक्षा सेना नेपालले बम राखेको पुष्टि भएको छ ।
पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ कालो झोलामा प्याक गरिएको अवस्थामा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । झोलाभित्र प्रेसर कुकर राखिएको र त्यसबाट तार निस्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शंकास्पद वस्तु फेला परेको स्थान नजिकै ‘सनातन सुरक्षा सेना नेपाल’ लेखिएको पर्चा पनि भेटिएको छ । सूचनापछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक सतर्कता अपनाएको छ ।
शंकास्पद वस्तुलाई सुरक्षित व्यवस्थापनका लागि अरिदमन गण, चारआलीबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनास्थलमा भेटिएको पर्चामा आफूलाई ‘सनातन सुरक्षा सेना नेपाल’ उल्लेख गरिएको छ । पर्चामा राजसंस्था पुनःस्थापना, नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने, धर्मनिरपेक्षताको विरोध तथा आगामी फागुन २१ गते हुने निर्वाचन बहिष्कार गर्ने उल्लेख गरिएको प्रहरीले जनाएको छ ।
घोषणा पत्रका रुपमा सार्वनजिक गरिएको पर्चामा नेपालमा राजसंस्था पुनस्थापना र वैदिक सनातन हिन्दू राष्ट्र घोषणा नभएसम्म आगामी फागुन २१ गते हुने निर्वाचनलाई पूर्ण रुपमा बहिष्कार गर्ने भनिएको छ ।
‘हालको धर्मनिरपेक्ष तथा गणतान्त्रिक व्यवस्था नेपालको इतिहास सभ्यता संस्कृति र वैदिक सनातन पहिचान विरुद्ध थोपरिएको व्यवस्था हो ’भनिएको छ । यसले जनताको आस्था, परम्परा र राष्ट्रिय स्वाभिमान माथि प्रहार गर्ने यस्ता संरचनालाई सनातन सुरक्षा सेना नेपाल कुनै हालतमा स्वीकार गर्दैन भनिएको छ ।
राजसंस्था तुरुन्त पुनस्थापना गरिनुपर्ने, नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने, धर्मनिरपेक्षताको नाममा भएको सांस्कृतिक अतिक्रमण बन्द गरिनुपर्ने , राष्ट्रिय सनातन धर्म र सभ्यताको रक्षा गरिनुपर्ने चार बुँदे माग समेत अघि सारिएको छ ।
‘राजा बिना राष्ट्र अधुरो, वैदिक सनातन हिन्दु राष्ट्र जिन्दाबाद, धर्म निरपेक्षता होइन धर्म सापेक्ष राष्ट्र चाहिन्छ, फागुन २१ गतेको निर्वाचन बहिष्कार गरौँ, राजसंस्था पुनस्थापन गर , सनातन धर्म हाम्रो पहिचान हो ’ जस्ता पर्चामा नारा लेखिएका छन् । पर्चामा विशाल अक्ससन इन्चार्जले हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here