
म उभिएँ ठिङ्ग, ऐनाअघि
ऐनाबाट एउटा उदासीन मुस्कान आयो
अनिँदा आँखाहरूबाट आवाज निस्कियो,
पुलुक्क चिहायो अनि प्रश्न ग¥यो–
कस्तो छ तिमीलाई ?
साच्चै, कस्तो छ मलाई ?
चिराचिरा परेका ओठ मुस्कुराएँ
औँलाभरि घाउ भएका हातहरुले
आफ्नै गाला सुम्सुम्याएँ ।
अनि कति फरक थिए, आफ्नै गुनासाहरू,
फगत प्रतिबिम्बसँग म खुशी साट्छु–
जसले मेरो दुखाइहरूमा मलम लगाउँछ ।
मेरा पीडाहरूको सुनुवाई गर्छ, जसले
घन्टी झैँ अर्डर–अर्डरको तागत देखाउँछ ।
फेरि फुङ्ग उडेको कपाल मिलाउँदै
मेरो प्रतिबिम्बले प्रश्न जोड्छ–
किन मलिन छौ आज ?
अँ है, किन मलिन छु–
खोइ ती रहरहरु ?
खोइ ती इच्छाहरु ?
आखिर शब्द र अक्षरको
लडाइँमा म पिल्सिँदै छु ।
कठोर जीवनभन्दा पनि
मृत्यु मिठो लाग्ने
आभाष किन आइरहेछ ?
यस्तै उत्तर म प्रतिबिम्बलाई दिन्छु ।
(वाल्मीमि एजुकेशन फाउण्डेशन)



























