शीतलहर प्रतिकार्य योजना कार्यान्वयन गर्न निर्देशन

0
18

झापा।

जिल्ला प्रशासन कार्यालय झापाले आगामी दिनमा सम्भावित विपद् घटनाप्रति प्रभावकारी तयारी गर्न आवश्यक निर्णय गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विगतका निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्दै शीतलहर, बाढी र पहिरोबाट हुने जोखिम न्यूनीकरणका उपायमा छलफल गरेको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकले शीतलहर प्रतिकार्य योजना २०८२ को प्रभावकारी कार्यान्वयनका लागि सबै स्थानीय तह तथा सरोकारवाला निकायलाई सक्रिय रहन निर्देशन दिइएको छ ।

विपन्न समुदाय र परिवारको पहिचान गरी आवश्यक राहत सामग्री तयारी अवस्थामा राख्न स्थानीय तह, सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी, गै.स.स., उद्योग वाणिज्य संघ र अन्य स्थानीय संघ संस्थाहरूलाई समन्वय गर्न भनिएको छ ।

यसैगरी, अत्यधिक चिसो र शीतलहरबाट जोखिममा परेका समुदायका लागि लत्ताकपडा, न्यानो गराउने उपकरण तथा सार्वजनिक रुपमा आगो ताप्ने व्यवस्था समेत मिलाउने निर्णय भएको छ । जोखिमपूर्ण व्यक्ति तथा परिवारलाई आवश्यक परे न्यानो स्थल, सार्वजनिक भवन वा घरमा राख्ने व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको छ ।

बैठकले गत असोज १९ गते इलाममा आएको पहिरोमा ज्यान गुमाएका परिवारलाई आर्थिक राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ । अर्जुनधारा नगरपालिका निवासी अनु तामाङ र आवाश दनुवारलाई रु. ३ लाख र प्रिन्सिका मगरलाई रु. २ लाख गरी जम्मा रु. ५ लाख जिल्ला विपद् व्यवस्थापन कोषबाट भुक्तानी दिने अनुमोदन गरिएको छ ।

त्यसैगरी, झापाका विभिन्न नदीबाट कटान भएका स्थानमा तटबन्ध निर्माण कार्य अघि बढाउने निर्णय भएको छ । सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजना–गैडेले कनकाई नदीको दायाँबायाँ किनारमा अति जोखिमयुक्त क्षेत्रहरूमा प्राथमिकताका आधारमा तटबन्ध निर्माण प्रक्रिया अगाडि बढाउने र मनसुनअघि कार्य सम्पन्न गर्न निर्देशन दिइएको छ ।

अविरल वर्षा र बाढीले प्रभावित परिवारलाई राहत उपलब्ध गराउन सहयोग गर्ने संघ संस्था र व्यक्तिहरूलाई नेपाल रेडक्रस सोसाइटी झापाले विवरण संकलन गरी प्रशंसा पत्र प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here