कभर्डहल निर्माण गर्न सहयोग सङ्कलन अभियान

0
29

म्याग्दी,

जिल्ला सदरमुकाम बेनीमा सुविधायुक्त र आधुनिक भलिबल कभर्डहल निर्माणका लागि जग्गा खरिद गर्न शनिबारदेखि सहयोग सङ्कलन अभियान सुरु भएको छ ।

जिल्ला भलिबल सङ्घले दुई रोपनी आठ आना जग्गा खरिदका लागि सुुरु गरेको अभियानको पहिलो दिन रु तीन लाखभन्दा बढी सहयोग जुटाएको छ । सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले समुदायस्तरबाट सहयोग जुटाएर जग्गा व्यवस्थापन गरेपछि सरकारी लगानीमा कभर्डहल निर्माण गरिने जानकारी दिनुभयो ।

“बेनीको महारानीथान नजिकै खरिद गर्न लागिएको जग्गालाई रु एक करोड ४२ लाख ५० हजार मूल्याङ्कन गरी रु तीन लाख पेश्की उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “सार्वजनिक सङ्घसंस्थाको आफ्नै जग्गा नहुँदासम्म सरकारी निकायले पूर्वाधार निर्माणमा लगानी गर्न नमिल्ने नीतिगत व्यवस्थाका कारण अभियान सञ्चालन गरेका हौँ ।”

एक हजार जना दर्शक अट्ने क्षमताको भलिबल कोर्ट, अफिसियल बैठककक्ष, जिमहल, कपडा फेर्ने कोठा, चमेनागृह, प्यारापिट, एलसिडी बोर्ड, विद्युत्, ध्वनि उपकरण, एसी, शौचालय, शयनकक्ष, भण्डारण, जेनेरेटर र कार्यकक्ष रहने रु तीन करोड लागत अनुमान गरिएको कभर्डहल चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबाट लगानी जुटाएर कभर्डहल निर्माण गरिने सङ्घले जनाएको छ । राष्ट्रिय र अन्तरराष्ट्रियस्तरका थुप्रै भलिबल खेलाडी जन्माएको म्याग्दीमा हाल कभर्डहल नहुँदा ठूलो वर्षात, चर्को घाम र चिसो मौसममा खेल प्रतियोगिता र अभ्यास सञ्चालन गर्न समस्या भएको सङ्घका महासचिव कुमार किसानले बताउनुभयो ।

कभर्डहल निर्माणपछि सङ्घअन्तर्गतको अक्षयकोष कार्यसमितिमार्फत भलिबल प्रशिक्षण केन्द्रका रूपमा सञ्चालन गरिने योजना छ । विसं २०८० मा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेलायतको सहयोगमा स्थापना भएको रु ४७ लाखको अक्षयकोष रकम वृद्धि गरी ब्याजबाट कभर्डहल तथा खेल प्रशिक्षण सञ्चालन गरिने सङ्घले जनाएको छ । सङ्घको कभर्डहल निर्माण गर्ने योजनालाई साझा मानेर सघाउने जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन् ।

खेलाडी उत्पादनका लागि प्रशिक्षण र उमेर समूहको आधारमा प्रतियोगिता आयोजना गरी म्याग्दीलाई भलिबलको हब बनाउने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गरी व्यावसायिक खेलाडी उत्पादनमा जोड दिने, खेल संस्थाको विकास, विस्तार गर्न र अनुशासित, स्वस्थ्य नागरिक उत्पादनमा मद्दत पुर्याउने कभर्डहल निर्माणको प्रमुख उद्देश्य रहेको छ । सङ्घका अध्यक्ष बानियाँले रु एक लाख, व्यवसायी नरेन्द्र बस्नेत, जीवन खत्री, ईश्वर आचार्य, भीमनाथ शर्माले रु ५०–५० हजार र चिरञ्जीवी शर्माले रु २५ हजार सहयोग गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here