- लोकतान्त्रिक आन्दोलनमा हेमरमको योगदान अविस्मरणीय
झापा । नेपालको लोकतान्त्रिक आन्दोलनमा संघर्षपूर्ण जीवन बिताएका आदिवासी नेता स्व. तुर्सा हेमरमको योगदानको उच्च मूल्याङ्कन हुनुपर्ने संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले बताएका छन् ।
२९औँ तुर्सा हेमरम स्मृति दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै शिवाकोटीले लोकतन्त्रका लागि हेमरमले भोगेका जेलनेल, यातना, प्रवास तथा त्याग–बलिदानको स्मरण गरे । मुलुकमा उत्पन्न राजनीतिक तथा सामाजिक संकटको समाधान खोज्दा तुर्सा हेमरमजस्ता संघर्षशील नेताको आदर्श कहिल्यै बिर्सन नहुने धारणा उनले व्यक्त गरे । 
कार्यक्रममा राष्ट्रियसभा सदस्य तथा तुर्सा हेमरम स्मृति प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले स्व. हेमरमको योगदान सुरक्षित गर्दै समाजमा उनका कृतिलाई अमर बनाइराख्ने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको बताए । प्रतिष्ठानका गतिविधि र भावी योजनाबारे जानकारी गराउँदै उनले भवन निर्माणको कार्य सम्पन्न भइसकेपछि त्यसको व्यवस्थापन जिम्मेवारी समुदायमै हस्तान्तरण गरिने जानकारी दिए ।
स्मृति कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे, उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाईं, कन्काई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रजातान्त्रिक सेनानी तथा आदिवासी नेता सुरेश बास्के, उमा सिटौला, मनोज बस्नेत, अर्जुन बोहोरा तथा स्व. तुर्सा हेमरमका परिवारजनको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्व. हेमरमका नाति सुन्दर हेमरमले बाजेको योगदानको स्मरण गर्दै परिवारको तर्फबाट सुझाव प्रस्तुत गरे भने स्व. तुर्सा हेमरमको जीवनी वाचन सदस्य शिवकुमार कँडेलले गरे ।
प्रतिष्ठानका उपाध्यक्ष टिका मैनालीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव कुमारमणि पोखरेलले गरेका थिए ।































