सहयोगापेक्षीको आशा ‘अभियान’

0
10

विपद्का समयमा सहयोगापेक्षी वर्ग र समुदायको सुरक्षाका लागि झापामा परिचिति संस्था हो– एकका लागि एक अभियान । विभिन्न प्रकारका विपद्बाट पीडितहरुलाई मानवीय तथा सामाजिक भावनाले हुनेबाट सहयोग लिएर जीवन रक्षाका लागि जुटेको यो अभियानले कोभिड–१९ महामारीका समयमा आफ्नो छुट्टै र विशिष्ट पहिचान स्थापित गरेको थियो । वि.सं. २०७७ साल बैशाखमा स्थापना भएको अभियान मार्फत कोभिड पहिलो र दोस्रो महामारीमा विपन्न परिवारलाई राहत वितरण, खाना खुवाउने, क्वारेन्टाइन व्यवस्थापन, प्लाज्मा बैंक स्थापना, स्वास्थ्य सामग्री सहयोग गरेको थियो । त्यसैगरी कोभिड परीक्षणका लागि पीसीआर ल्याव जस्तो संवेदनशील परीक्षण प्रयोगशाला सामुहिक सहयोगमा सञ्चालन गरेर मानवीय सेवाको गतिलो उदाहरण प्रस्तुत ग¥यो ।

महामारीका रुपमा विस्तार भएको कोभिडको दोस्रो लहरमा अक्सिजन बैंक स्थापना, स्वास्थ्य सामग्री सहयोग, अक्षयकोष स्थापना, प्रहरी कार्यालय पुनस्थापनाका लागि सहयोग तथा यस वर्ष बाढीपहिरोपीडितका लागि राहत प्रदान गरेर सामाजिक उत्तरदायित्व निर्वाह गर्दै दुःख र पीडामा परेकाहरुका मनमा बस्न सफल भएको छ । झापाका युवाहरुको मन, भावना र समर्पणबाट जन्मिएको सामुहिक भावनाको प्रतिरुप यो अभियानमा व्यक्ति, समूह, संस्था तथा निजी प्रतिष्ठानहरुले उदात्तभावले सहयोग गरेका छन् । सामुहिक तथा मानवीय भावबाट प्रेरित अभियानले यस वर्षको बाढीपहिरोबाट पीडितहरुका लागि देशका अन्य जिल्लामा सहयोग तथा राहत वितरण गर्न सफल अभियानमा हालसम्म एक लाखभन्दा बढी दाताको योगदान रहेको छ ।

आज नेपालीमा व्यक्तिवादी भावना बलियो हुँदै गएको छ । यस्तोमा झापाबाट शुरु भएको ‘थोपा–थोपा जम्मा गरेर गाग्रो भर्ने’ योजना मानव हितको उदाहरणीय अनुपम कार्य हो । विपत्ति जहिले पनि, जहाँ पनि र जसलाई पनि पर्न सक्छ । त्यस्ता विपद्का लागि व्यक्ति स्वयम्ले पूर्व तयारी गर्न पनि सक्दैन । त्यसैले अभियानले विपद्मा तत्काल सहयोग पु¥याउन पाँच करोड रुपैयाँको दिगो विपद् कोष निर्माण गर्ने लक्ष्य लिएको छ । मानवताको सेवामा समर्पित अभियान लक्ष्यमा पुग्न सफल होस् । सहयोगापेक्षीको घाउमा मल्हम बन्न सकोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here