सत्य हराउँदै, असत्य र अफवाह फैलदै

0
45

 


नेपालीमा एउटा प्रचलित उखान छ– कागले कान लग्यो भन्दैमा आफ्नो कान नछामी कहिल्यै कुद्नु हुँदैन । वर्तमान समाज जति धेरै बुझ्ने र शिक्षित बन्दै गएको छ, त्यति नै जटिल बन्दै गएको छ । यसको उदाहरण मानिस आफैं बन्दै गएको छ । नेपालको पत्रकारिता पेशा गम्भीर संकटमा छ । समाजले अब भ्रमित सूचना होइन, सत्य, तथ्य र निष्पक्ष समाचार चाहन्छ ।
पछिल्लो समय एउटा लहर चलेको छ– फेसबुक मनिटाइजेशन गर्ने र त्यसबाट लाखौँ पैसा कमाउने दिवासपना । जब कि यो असम्भव जस्तै हो । किनभने शेयर बजारमा लगानी गर्ने सबैले कमाउँदैनन् र व्यवसाय गर्ने सबै धनी हुँदैनन् ।

पत्रकारिताको नाममा समाजमा पित पत्रकारिता पनि त्यत्तिकै बढ्दै गएका छन् । केही पत्रकारका नाममा बिना जाँचबुझ, भ्युज बढाउने चक्करमा समाजमा गलत सूचना प्रवाह गरिरहेका छन् । यसको जवाफ कसले दिने ? मनलागी जे गर्न पाइँदैन, यो छुट कसैलाई पनि छैन । समाजलाई भाँड्ने र प्रत्यक्ष वा अप्रत्यक्षरूपमा नकारात्मक प्रभाव पार्नेखालका भ्रमित सूचनाहरू कसैले पनि प्रशारण वा प्रकाशन गर्न मिल्दैन । यस्ता भ्रमित समाचारहरूको चुहावट पत्रकारहरू वा बौद्धिक स्तरका व्यक्तिहरूबाट नै भइरहेको छ ।

समाजलाई सुसूचित गर्ने र कलमको माध्यमबाट नकारात्मक कुरालाई जरैदेखि निर्मूल गर्ने र सकारात्मक कुरालाई प्रोत्साहन गर्नु नै पत्रकार र पत्रकारिताको धर्म हो । तर विडम्बना सुन्दा दुःख लाग्छ, जबसम्म सम्बन्धित विषयमा दक्षता र विषयगत ज्ञानमा विज्ञता हुँदैन, तबसम्म हामी पढेलेखेका मानिस मात्र हौं, शिक्षित होइनौं । पत्रकारहरू सबै विषयगत विधामा दक्ष हुनुपर्छ । ताकि पत्रकारले तेर्साएको प्रश्नको जवाफ दिन मानिसले वेकार वा बोर नमानोस् ।

कसैले दिएको अभिव्यक्ति गलत छ र त्यसले समाजमा नकारात्मक प्रभाव पार्छ भने त्यस्ता समाचारहरू पत्रकारहरूले प्रकाशन वा प्रशारण गर्नुहुँदैन । तर यस विषयमा पनि पत्रकारहरूको गम्भीर लापरवाही देखिन्छ । भ्युजको आधारमा र प्रतिस्पर्धाको नाममा सत्य–तथ्य जाँच नगरी समाचार प्रशारण गर्ने मिडियाहरू प्रति पनि आमजनमानसको विश्वास घट्दै गएको छ । यस विषयमा सबै पत्रकार, मिडिया हाउस र अनलाइन पोर्टलहरू सचेत हुनु आवश्यक छ । होइन भने यसको परिणाम अत्यन्तै दुःखद् हुन सक्छ, जुन हामीले कल्पना पनि गर्न सक्दैनौं । आफ्नो पेशा र धर्मलाई सबैले सम्मान गर्नुपर्छ । होडबाजी, देखासेकी र पेजहरूमा फलोअर्स र भ्युज बढाउने चक्करमा यसरी नै अन्धभक्त भएर लाग्ने हो भने पत्रकारिता पेशामा गम्भीर समस्या आउन सक्छ । एकपटक सोच्नुहोस् बिना पत्रकारिताको समाज र देश कस्तो होला ?

सत्य र निष्पक्ष समाचार मानिसले आफैं खोज्ने गर्छन् । बिरामीलाई जबरजस्ती भातको माड कोच्याए जस्तो समाचार कोच्याउनु पर्दैन । पत्रकारहरूले धेरै कुरा बुझेको हुन्नुपर्छ र सँधैँ सन्तुलनमा रहेर आफ्नो पेशा र कामप्रति जिम्मेवार बन्नुपदर्छ । त्यसैले अरूको हल्ला र अफवाहका कारण आफू परिचालित हुनुहुँदैन । जस्तोसुकै अभाव र दबावमा पनि बिक्नु हुँदैन । सत्यको सधैँ विजय हुन्छ, झुटको खेती लामो समयसम्म टिक्दैन, यो कुरा सबैले मनन गर्नु आवश्यक छ । आफू नै असुरक्षित हुने स्वतन्त्रता कसैले पनि चाहनुहुँदैन । पत्रकारहरू पार्टीमा धेरै आस्थावान र आशावादी हुनुहुँदैन । चाहिने भन्दा धेरै चाकडी गर्नु पनि राम्रो होइन । त्यसैले पत्रकारहरू पनि निश्चित नियम, कानून र नैतिक अनुशासनमा बाँधिनुपर्छ । कानूनभन्दा माथि कोही पनि छैन । पत्रकारिताको धर्म भनेको सधैँ सत्य तथा तथ्यमा केन्द्रित हुनु हो । जे भएको छ ती कुरा मात्र लेख्नुपर्छ, अड्कलबाजी गर्नु पित पत्रकारिता हो ।

हामीले देख्दै आएका छौँ मिडियावाजी गरेर धेरैको जीवनसँग खेलबाड भइरहेको छ । मानिसको व्यक्तिगत जीवन हुन्छ र गोप्य कुराहरु पनि जब्बरजस्ती बाहिर ल्याउने काम भइरहेको छ । के पत्रकारिताले अरुको जीवन बर्बाद पार्नु भन्छ ? यस्तै क्रम निरन्तर चलिरहने हो भने के हुन्छ होला ? अब सबै पत्रकारहरुले समाज र राष्ट्रलाई सही मार्गदिशा दिनका लागि राम्रा कुराहरुलाई प्रोत्साहन गर्ने बेला आएको छ । यसमा सबैले ध्यान दिन जरुरी छ ।

अब सबैभन्दा पहिले पत्रकारहरू सक्षम र स्वतन्त्र बन्नुपर्ने अवस्था आएको छ । सामान्य क्यामेरा, मोबाइल फोन वा पिन–माइक बोकेर हिँड्दैमा कोही पनि पत्रकार हुँदैन । कम्तीमा पनि दक्षता र कामको अनुभव आवश्यक छ । अब प्रविधिको युगमा आइपुगेका छौं । यदि अझै पनि हनुमान र अन्धभक्त हुने हो भने कसैले पनि पत्याउँदैन । किनकि नयाँ पुस्ता दुई कदम अगाडि छ । ठग्ने, छल्ने र सत्यलाई लुकाउने काम अब पत्रकारहरूबाट नहोस् भन्ने चाहन्छ अहिलेको समाज । अब समाज र जनताको विश्वास कामले जित्न नसकिएको खण्डमा पत्रकार वा नेताहरूको विश्वास गुम्ने अवस्था आउन सक्छ । पत्रकारिता सधैँ सत्यवान हुनुपर्छ । पत्रकारहरू आफ्नो पेशामा जिम्मेवार बन्नु बाहेक अर्को विकल्प छैन । बेलैमा सत्मार्गको यात्रा तय गरौँ र असल, इमानदार नागरिकको पहिचान दिऔँ । अभाव र दबावमा परेर भ्रमित र समाजलाई भाँड्ने समाचार प्रकाशन गर्ने कार्यमा ध्यान दिन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here