
अहिलेको हाम्रो देशको राजनीति अत्यन्तै तरल छ । परिस्थिति धेरै गम्भीर छ । राजनीतिले नै देशका हरेक क्षेत्रको नेतृत्व प्रदान गर्छ । देशको पूर्वाधार विकास, सामाजिक, आर्थिक मात्र होइन दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत आवश्यकताका कुराहरुसँग प्रत्यक्ष वा परोक्ष रूपमा जोडिएको शान्ति, सुरक्षा, अमन, चयन जस्ता कुराहरु पनि राजनीतिसँग गाँसिएको हुन्छ । कुनै पनि देशको राजनीति अस्थिर भयो भने नागरिकहरूले जति नै प्रयास गरेपनि मुलुकलाई अगाडि लैजान सक्दैनन् । यसको उदाहरण विश्वका धेरै राष्ट्रहरूलाई हेरेर पनि प्रमाणित गर्न सकिन्छ । नेपालको पनि वर्तमान अवस्थाले हामीलाई यही कुराको संकेत गर्छ ।
दक्षिण अफ्रिकी महादेशमा रहेका केही नेपाल जस्तै देशहरूको उदाहरण हेर्ने हो भने पनि हामीलाई के आभाष हुन्छ भने राजनीतिक अस्थिरताले राष्ट्रलाई कुन हदसम्म पछाडि पार्छ र मुलुकको हविगत कहाँम्मस पु¥याउँछ भन्ने कुरा सामान्य अध्ययनले पनि देखाउन सक्छ । भौगोलिक रूपले धेरै अर्थमा नेपालसँग मिल्ने युगाण्डा, रुवान्डा, सुडान ,इथियोपिया आदि देशहरु जुन भूपरिवेष्ठित राष्ट्रहरू हुन्, लगायत अफ्रिकाका धेरै देशहरु प्राकृतिक स्रोत र सम्पदाले भरिपूर्ण हुँदाहुँदै पनि राजनीतिक अस्थिरताको कारणले कहिले पनि अगाडि बढ्न सकेनन् । यी देशहरूमा भोकमारी र गरिबी व्याप्त छ । युगान्डा भन्ने देश प्राकृतिक स्रोत र साधन, मलिलो जमिन, पर्याप्त जलस्रोत का साथै सुन जस्तो महŒवपूर्ण खानीजन्य प्राकृतिक स्रोत र साधनहरूले भरिपूर्ण देश हो, सन् १९७० देखि सन् २००० सम्मको गृहकलहले गर्दा यस देशको राजनीतिमा विकृति देखाप¥यो अस्थिरता भयो जसले गर्दा लामो समयसम्म मुलुकका नागरिकले भोकमरी र गरिबीका कारण कष्टकर जीवनयापन सहनुप¥यो ।
यस्तै रुवान्डामा सन् १९९४ सम्म भएको गृहकलहले देशलाई धेरै पछाडि धकेल्यो । सुडान गृहयुद्ध, सैनिक शासन, सुशासनको अभाव जस्ता राजनीतिक अस्थिरताले अहिले पनि भोकमारी, गरिबी, कुशासन, गृहकलह तथा अस्थिर राजनीतिका पर्यायको रूपमा चिनिन बाध्य छ । यसैगरी कुनै पनि देशमा भएको गृहयुद्ध, सैनिक शासन, सुशासनको अभाव, जातीय द्वन्द्व, प्रजातन्त्र माथिको प्रहार आदिले मुलुकलाई पछाडि पारेको दृष्टान्त दिनुप¥यो भने हामी यी माथिका देशहरूका उदाहरण दिन्छौं, यस्तै अर्को देश इथियोपिया को उदाहरण दिन्छौं । यी देशहरूको भौगोलिक अवस्था, प्राकृतिक सुन्दरता, प्राकृतिक स्रोत र साधनको उपलब्धता हेर्दा यी देशहरु कसरी गरिबी र भोकमारीका पर्याय बने भन्ने अचम्म लाग्छ । तर, यथार्थलाई गहिरो अध्ययन गर्ने हो भने यी देशहरूमा भएको एउटै मात्र त्रुटि भनेको राजनैतिक अस्थिरता नै हो ।
देशमा जातीय विखण्डन शुरु हुनु, राजनीतिक अस्थिरता, भ्रष्टाचारको बढोत्तरी, नेतागणको विलासिताको जीवनशैली, सुशासनको अभाव, प्रजातन्त्रमाथिको प्रहार, सैनिक शासन आदि जस्ता राजनीतिक विकृति विसंगतिबाट देश बिस्तारै बिस्तारै जकडिन थाल्छ र यसको परिणामस्वरूप कुनै पनि देश असफलतातिर ओरालो लाग्न थाल्छ । आज नेपालको हालत यी सबैसँग धेरै मिल्दाजुल्दा हुँदै गर्दा नेपाल पनि कतै असफलतातिर लम्कँदै त छैन भन्ने एउटा गम्भीर प्रश्न उठिरहेको छ । यसरी कुनै पनि देशमा शुरुमा भ्रष्टाचार र कुशासनले जरा गाड्दछ र यसको परिणाम नागरिकहरूमा ठूलो असन्तुष्टि पैदा हुन्छ जुन असन्तुष्टिको फाइदा देशी–विदेशी अमूक शक्तिहरूले लिन खोज्नु यसप्रकारको राजनीति भएको देशहरूको पहिलो चरीत्र हो । आज नेपालको राजनीतिक अवस्था पनि ठ्याक्कै दक्षिण अफ्रिकी राष्ट्रहरूसँग भएको राजनीतिक घटनाक्रमसँग धेरै मिल्दोजुल्दो देखिन्छ ।
नेपालको राजनीतिक इतिहासलाई पछाडि फर्केर हेर्ने हो भने छोटो समयमा नै परिवर्तनका लागि थुप्रै राजनीतिक क्रान्तिहरू भएका देखिन्छ्न् । २००७ सालमा प्रजातन्त्रको स्थापनाको लागि भएको राणा विरोधी क्रान्तिको कुरा गरौँ अथवा २०४६ मा पञ्चायत समाप्त गर्नको लागि भएको क्रान्ति होस् वा २०६२÷०६३ को दोस्रो जनआन्दोलन जसले नेपाललाई गणतन्त्रात्मक मुलुक बनायो, यस्ता क्रान्तिहरू पटक–पटक नेपालमा भएर व्यवस्था परिवर्तन भइराखेको सवालमा हामीले थोरै मात्र यसमा ध्यान दियौं भने यसबाट हामी केही कुराहरु थाहा पाउन सक्छौं कि ! किन छोटो समयमै नेपालमा नागरिकहरुले पटक–पटक क्रान्ति गरी व्यवस्था परिवर्तन गर्नुपर्ने आवश्यकता पर्छ ? किन नेपालमा भएका यति ठूला–ठूला व्यवस्था परिवर्तन गर्ने सफल क्रान्ति पश्चात् भएको व्यवस्था परिवर्तनलाई संस्थागत गरेर नेपाली राजनीति अगाडि बढ्न सक्दैन र राजनीतिक स्थिरता हुन सक्दैन ? यसका बारेमा समग्र नेपाली नागरिकहरूले अझ बढी त आफूलाई राजनीतिको नेतृत्व मान्ने नेतृत्व वर्गहरुले गहन रुपले समीक्षा गरी अगाडि बढ्नुपर्ने देखिन्छ । तर, यस्ता विषयहरूमा गम्भीररुपले वा घनिभूत ढंगले छलफल गरी निष्कर्ष निकालिएको पाइँदैन । यसको निष्कर्षमा आ–आफ्ना धारणाहरू हुन सक्छन् ।
मेरो धारणा भने प्रत्येक पटक भएको क्रान्तिको सफलतापछि जुन व्यवस्था परिवर्तन हुन्छ, जनताहरुले जसरी बलिदानी पूर्ण संघर्ष गरिदिएका हुन्छन्, त्यसलाई बिर्सिएर नेतृत्व वर्गहरु राष्ट्र र जनताभन्दा दलगत तथा व्यक्तिगत, गुटगत स्वार्थमा डुबनाले हाम्रो देशमा भएका प्रत्येक सफल क्रान्तिपछि भएको नयाँ व्यवस्थाको संस्थागत हुन नसकेको हो भन्ने मेरो बुझाई छ । व्यवस्था परिवर्तनको लागि जुन नारा आउँछ अथवा अघिल्लो व्यवस्थालाई जुन आरोप लाइन्छ, व्यवस्था परिवर्तनपछि पनि त्यही अवस्था दोहोरिनु दुर्भाग्यपूर्ण हो । तर, नेपालको सवालमा यस्तो अवस्थामा हाम्रो देश गुज्रिरहेको छ । अथवा यसलाई अझ प्रष्ट पार्नका लागि पूर्व व्यवस्थामा भएका भ्रष्टाचार, कुशासन आदिले गर्दा नागरिकहरूको आक्रोशलाई अगाडि सारेर जसरी क्रान्ति गरिन्छ र क्रान्तिपछि नेताहरुले नेतृत्व गर्छन्, फेरि नेताहरु सोही बमोजिम भ्रष्टाचार र कुशासनको पर्याय बन्दछन् ।
२०६३ सालपछि भएको परिवर्तन र २०७२ सालमा लागू भएको गणतान्त्रिक संविधान पश्चात् नेपालमा जुन अपेक्षा गरिएको थियो, भ्रष्टाचारको अन्त्य, सुशासन, लोकतन्त्रको संस्थागत विकास तर यो भन्दा बढी भ्रष्टाचार, अनियमितता, कुशासन जस्ता कुराहरू चाहिँ संस्थागत हुन पुगे, त्यसले अर्को एउटा क्रान्तिको सिर्जना ग¥यो जसले नेपालको राजनीतिलाई अर्कै तर्फ मोडिदियो । २०८२ साल मंसीर २३ र २४ गते भएको जेन–जी आन्दोलन वास्तवमा राष्ट्रमा व्याप्त भ्रष्टाचार, कुशासन, बेथिति, अनियमितताको बिरुद्धमा थियो, तर यसले अर्कै मोड लियो । आन्दोलन माथि घुसपैट रहेको सत्य हो । अमूक शक्तिहरूको चलखेल भएको सत्य हो । तर यसो भन्दैमा सम्पूर्ण कुरा अरुलाई दोष दिएर पन्छिन मिल्दैन, यो घट्ना मूलत तत्कालीन समयमा नेपालको राजनीतिमा प्रभाव पार्ने व्यक्तिहरूको असफलता हो भनेर भन्न सकिन्छ ।
अहिलेको राजनीति अत्यन्तै तरल देखिँदैछ । यसको समाधान के हुन सक्छ त ! विगतमा भएका राजनीतिक दलका पुराना नेताहरु प्रति नागरिकहरूको विशेष गरेर युवाहरूको धेरै आक्रोश छ । पुराना दलहरू प्रति पनि अविश्वास छ । त्यसकारणले नयाँ शक्तिहरु, नयाँ अनुहारहरूले चर्चा पाइरहेका छन् । तर, धेरै नयाँ शक्ति अथवा नयाँ अनुहारहरु विवादरहित भने देखिँदैनन्, शङ्काको घेरामा देखिन्छन् । त्यसो भएकोले मेरो विचारमा पुराना दलका युवा नेतृत्व वर्गहरू मिलेर नयाँ शक्ति निर्माण गर्दै राष्ट्रको राजनीतिलाई अगाडि बढाउने प्रयास गर्ने हो भने यो एउटा वैकल्पिक बाटो हुन सक्छ । राजनीति वास्तवमा सम्भावनाको खेल हो, राजनीतिभित्र प्रचुर मात्रामा सम्भावनाहरु लुकेका हुन्छन् ।
हिजो एकअर्कालाई शत्रूतापूर्ण दृष्टिकोणले हेर्ने नेकपा माओवादी र नेपाली कांग्रेस तथा नेपाली कांग्रेस र नेकपा एमाले एक भएर अगाडि बढेका होइनन् र ? त्यसकारणले अहिलेको राजनीतिक तरलतालाई समाधान गर्दै राजनीतिक स्थिरता तर्फ देशलाई लैजानका लागि यो एउटा वैकल्पिक बाटो हुन सक्छ भन्ने मेरो निजी विचार हो । अथवा यसलाई अझ स्पष्ट पार्ने हो भने पुराना दलका पुराना नेतृत्व वर्गहरू जसप्रति नागरिकहरूको धेरै आक्रोश छ, उनीहरूलाई छोडेर दलमा भएका सबै युवा नेतृत्व वर्गहरु एक ठाउँमा उभिएर छुट्टै दल निर्माण गरेर अगाडि बढ्न नसकिने होइन जसले हिजोका केही क्रान्तिहरूको देखेको छ, लडेको छ र देशका युवाहरूको मनोविज्ञान पनि बुझेको छ, यस्ता युवा शक्तिहरू सबै दलबाट दलहरु माथि उठेर एक ठाउँ भएर अगाडि बढ्न सके मात्र अबको हाम्रो देशले नयाँ निकास प्राप्त गर्छ भन्ने मेरो ठम्याई छ ।
अब पनि नेतृत्वको लागि दलका पुराना वृद्ध नेताहरूलाई ताली बजाएर आफ्नो दुनो सोझ्याउन नै खोजिरहने हो भने न राजनीतिले निकास पाउँछ, न देश अगाडि बढ्छ, त्यसकारणले अब हरेक राजनीतिमा लागेका युवा वर्गहरूले दलभन्दा माथि राष्ट्र र जनतालाई राखेर राजनीति गर्नुपर्छ । अन्यथा न देश रहन्छ न राजनीतिक दल, यो दिन छिट्टै आउँदैन भन्न सकिने अवस्था देखिँदैन ।
(निरौला विपद् व्यवस्थापन, पर्यटन तथा समकालीन राजनीतिका विषयमा कलम चलाउँछन् ।)
























