नेपाल–चीन सम्बन्धका सेतु

0
13

आज राष्ट्रिय विभूति अरनिको स्मृति दिवस । आज अर्थात् पुस २३ गते नेपालमा उनको सम्मान गर्दै विविध कार्यक्रमका साथ स्मृति दिवस मनाइन्छ । तत्कालीन पाटनका राजा अभय मल्लको समयमा सत्र वर्षीय अरनिको सत्तरी जना कालाकारको नेतृत्व गर्दै चीन गएको इतिहास छ । चिनीयाँ इतिहासलाई आधार मानेर हुनसक्छ इतिहासविद् सत्यमोहन जोशीले अरनिकोको बारेमा अध्ययन गरेर पुस्तक प्रकाशन गरेका थिए । कलाकार अरनिको बहुमुखी प्रतिभाका धनी थिए, जसले चीनमा वास्तुकला मूर्ति र चित्रकलाका अद्वितीय संरचनाहरु निर्माण गरेका थिए । कलाकृतिका आधारमा नेपालको नाम र छवि अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गरे । नेपाल र नेपालीको गौरव बढाएको भन्दै नेपाल सरकारले वि.सं. २०२४ सालमा उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उनी पहिलो नेपाली हुन् जसले चीनसँग कुटनीतिक सम्बन्ध जोडेर आजपर्यन्त असल छिमेकी कायम छ । त्यहीकारण उनी पैदल हिँडेको बाटोलाई अरनिको राजमार्ग नामकरण गरी सरकारले उनीप्रति कृतज्ञता प्रकट गरेको छ । चीनमा गएर नेपाललाई चिनाउने कार्य गरेको भन्दै राजमार्गको नाम नै अरनिको राखिएको हो । यद्यपि अरनिकोसँग सम्बन्धित कुनै अभिलेख फेला परेका छैनन्, तर चिनीयाँ इतिहासमा भने सङचङ गम्पो, भृकुटीका कथाहरुमा अरनिकोको नाम समेत जोडिएको इतिहासविद्हरुले उल्लेख गरेका छन् । चीनका बादशाह कुबला खाँको सामू निर्भय उभिएका अरनिकोले नसिंकोच जवाफ दिएको इतिहास छ ।

सत्र वर्षका अरनिकोले चिनीयाँ दरबारमा गएर आफ्नो कौशल देखाए । जसबाट प्रशन्न भएका बादशाले उनलाई सम्मानपूर्वक उतै बस्न आग्रह गरे । त्यहाँ सुन्दर चैत्य, मन्दिर, भवन, सत्तल र अनेक तस्विरहरु बनाए । उनको क्षमता, सिप र कुशलताबाट प्रभावित चिनीयाँ सम्राटले सबैभन्दा ठूलो पद र सम्मान प्रदान गरेका थिए । तत्कालीन भोट नेपालको मुख्य निर्यात केन्द्र थियो र नेपाली व्यापारीहरु व्यापार गरेर बस्थे । त्यही सम्बन्ध र नेपाली कलाकारिताको सुवासले चीन लगिएका अरनिको नै वर्तमान नेपाल–चीन सम्बन्धका सेतु थिए । नेपालका प्रथम सांस्कृतिक दूत तथा धर्तीपुत्र अरनिको प्रति हार्दिक श्रद्धाञ्जली ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here