झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

0
62
  • माघ २ गतेदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, ४७४८ ‘निर्वाचन प्रहरी’ परिचालन गरिने
    सुरेन्द्र भण्डारी
    झापा,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी झापामा औपचारिक रूपमा सुरु भएको छ ।
    निर्वाचन व्यवस्थापन, सुरक्षा, आचारसंहिता पालन र सरोकारवालाबीच समन्वयका विषयमा छलफल गर्दै जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचन तयारीलाई तीव्र बनाएको हो । 

निर्वाचन तयारीका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय झापामा आज आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना, निर्वाचन अधिकृतका कार्यालय सञ्चालन, निर्वाचन आचारसंहिता र निर्वाचन कार्यतालिकाबारे जानकारी गराइएको छ । छलफलमा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सुरक्षा निकाय र सञ्चारकर्मीको उपस्थिति थियो ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पाँच वटै निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिए । उनका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय माघ २ गतेदेखि सञ्चालनमा ल्याइनेछ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र झापा निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा रहनेछ ।

झापा क्षेत्र नम्बर १ का लागि मेचीनगर नगरपालिका कार्यालय, क्षेत्र नम्बर २ का लागि अर्जुनधारा नगरपालिका कार्यालय, क्षेत्र नम्बर ४ का लागि कन्काई नगरपालिकास्थित अतिथि सदन भवन र क्षेत्र नम्बर ५ का लागि दमकस्थित अग्र्यानिक कृषि भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने प्रजिअ गेलालले जानकारी दिए ।

निर्वाचन अधिकृतका कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचर, विद्युत्, खानेपानी र इन्टरनेट सुविधाको व्यवस्थापनमा सम्बन्धित स्थानीय तहले सहयोग र सहजीकरण गर्ने निर्णय गरिएको छ । साथै निर्वाचन अवधिभर निर्बाध विद्युत् आपूर्तिका लागि नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने निर्णयसमेत गरिएको छ ।
बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारी, सञ्चारमाध्यम र सञ्चारकर्मी लगायत सबै सरोकारवालाले निर्वाचन आचारसंहिता–२०८२ को पालना गर्न र गराउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

निर्वाचन कार्यतालिकाबारे दललाई जानकारी

आगामी निर्वाचनका सन्दर्भमा जिल्ला निर्वाचन कार्यालय झापाले राजनीतिक दलसहित सरोकारवालालाई निर्वाचन प्रक्रिया र कार्यतालिकाबारे जानकारी गराएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकमा जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले उम्मेदवार मनोनयनदेखि मतदानसम्मको कार्यतालिका प्रस्तुत गरेका थिए ।
उनका अनुसार माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता र सोही दिन मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ । माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी दिने, ७ र ८ गते मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, माघ ८ गते नै उम्मेदवारको नाम फिर्ता लिने र माघ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ । मतदान भने फागुन २१ गते हुनेछ ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी, नेकपा माओवादी केन्द्रका राजु आचार्य ‘अग्नि’, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष केशव ओझा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । साथै सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका प्रमुख सेनानी, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापा, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
४७४८ ‘निर्वाचन प्रहरी’ भर्ना
निर्वाचन सुरक्षाका लागि झापामा चार हजार ७ सय ४८ जना ‘निर्वाचन प्रहरी’ भर्ना गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार निर्वाचनलाई सुरक्षित र भयरहित बनाउन नेपाल प्रहरीतर्फ ४ हजार २ सय ५९ जना र सशस्त्र प्रहरी बलतर्फ ४ सय ८९ जना गरी कुल ४ हजार ७ सय ४८ जना निर्वाचन प्रहरी परिचालन गरिनेछ । भर्ना प्रक्रिया यसै सातादेखि सुरु गरिने उनको भनाइ छ ।
झापामा २ सय ८५ वटा मतदानस्थल र ८ सय १५ वटा मतदान केन्द्र तोकिएका छन् । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरीसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिनेछ ।
त्यसैगरी झापामा तीनवटा अस्थायी मतदान केन्द्र पनि तयार गरिने भएको छ । समानुपातिकतर्फको मतदानका लागि जिल्ला कारागार झापा, कर्मचारी मिलन केन्द्र र दमकमा थप एक अस्थायी मतदान केन्द्र स्थापना गरिने जानकारी दिइएको छ ।

निर्वाचन अधिकृत तोकिए
झापाका पाँच वटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृत तोकिएका छन् । प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेललाई दिइएको छ । उनले झापा निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको जिम्मेवारीसमेत सम्हाल्नेछन् ।
त्यस्तै झापा क्षेत्र नम्बर १ का लागि गोसप विश्वकर्मा, क्षेत्र नम्बर २ का लागि महेशप्रसाद खत्री, क्षेत्र नम्बर ४ का लागि भीमप्रसाद भुर्तेल र क्षेत्र नम्बर ५ का लागि विदुरकुमार कार्कीलाई निर्वाचन अधिकृत तोकिएको छ ।
निर्वाचन अधिकृत र कार्यालय तोकिसकिएकाले माघ २ गतेदेखि औपचारिक रूपमा निर्वाचन कार्यालय सञ्चालनमा ल्याइने प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here