खुदुनाबारी–अर्जुनधारा खानेपानीको २०औं साधारणसभा सम्पन्न

0
46
अर्जुनधारा,झापाको अर्जुनधारा नगरपालिका–१ सिस्नेस्थित खुदुनाबारी–अर्जुनधारा खानेपानी सरसफाई उपभोक्ता समितिको २०औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।
संस्थाको कार्यालय प्राङ्गणमा समितिका अध्यक्ष केदारनाथ पराजुलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।
कार्यक्रममा संस्थाको गत आर्थिक वर्ष २०८१÷०८२को वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष पराजुलीले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुनिता ढुंगानाले र चालु आर्थिक वर्ष २०८२÷०८३को अनुमानित बजेट, वार्षिक निती तथा कार्यक्रम सचिव भरतबहादुर सुब्बाले प्रस्तुत गरेका थिए ।
गत आर्थिक वर्षमा ८७ लाख ५५ हजार नौ सय ४७ रुपैयाँ एक पैसा बराबरको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्षको लागि अनुमानित ९० लाख ५६ हजार दुई सय ३१ रुपैयाँ एक पैसा बराबरको बजेट सभामा पेश गरेको थियो ।
त्यसैगरी कार्यक्रममा नियमित पानी महसुल बुझाउने असल उपभोक्तातर्फ स्थानीय टंक तिम्सिना र नरबहादुर पिठाकोटे मगर, अर्जुनधारा–४का राजेन्द्र श्रेष्ठ र सुगी दनुवार र अर्जुनधारा–७ निवासी कुमारी वि.क.लाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै कार्यक्रममा वर्ष उत्कृष्ट कर्मचारीबाट प्लम्बर उमेश रीजाल र कार्यालय सचिव तीवेन्द्र काफ्लेलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो । समितिकी उपाध्यक्ष पदममाया मैनालीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव सुब्बाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here