इँटा उद्योगीहरूलाई आगो निभाउन निर्देशन

0
24

पार्थ मण्डल,
झापा।

सरकारको निर्णय विपरीत इँटा पोल्न शुरु गरेका झापाका चिम्नी इँटा उद्योगहरूलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले तत्काल आगो निभाउन निर्देशन दिएका छन् ।

जिल्लाका केही इँटा उद्योगहरूले सरकारको निर्णय विपरीत इँटा पोल्न शुरु गरेको बारेमा पूर्वाञ्चल दैनिक पत्रिकामा समाचार प्रकाशन भए लगत्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले यस्तो निर्देशन दिएका हुन् । यस बारेमा समाचार बाहिरिएपछि जिल्ला प्रशासन कार्यालय झापाले बुधवार बिहान झापा इँटा उद्योग संघका पदाधिकारी तथा उद्योगीहरूलाई छलफलमा बोलाएका थिए ।

उद्योगीहरूसँग गरेको छलफल पश्चात् दुई बुँदे निर्णय भएको सीडीओ गेलालले बताए । उनका अनुसार इँटा पोल्न लगाइएको आगो तत्काल निभाउन, ननिभाएको खण्डमा कानून बमोजिम कारबाही गर्न र सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँको संयोजकत्वमा चार सदस्यीय अनुगमन समिति गठन गरिएको छ । अनुगमन समितिका सदस्यहरूमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका प्रतिनिधि छन् ।

सरकारको निर्णय अनुसार माघ १ गतेदेखि मात्र इँटा पोल्न पाइने बारेमा छलफलमा कुरा राखेका थियौँ । केही उद्योगीहरूले थाहा पाएनौं भन्ने उत्तर पनि फर्काउनुभयो । घरेलु तथा साना उद्योग कार्यालयले पत्राचार गरेको बारेमा कुरा राख्दा उहाँहरू बोल्न सक्नुभएन । ‘उहाँहरूले अब केही हुँदैन भन्ने मनसायले इँटा पोल्न शुरु गरेको बुझ्नमा आयो’– प्रजिअ गेलालले भने– ‘इँटा पोल्ने कार्य बन्द गर्न निर्देशन उद्योगीहरूलाई दिइसकेका छौँ, अनुगमन समितिले त्यस बारेमा अनुसन्धान गरी प्रतिवेदन बुझाउँछ र त्यही प्रतिवेदनको आधारमा कानूनी कारबाहीको प्रक्रिया अघि बढ्छ ।’

औद्योगिक व्यवसाय ऐन २०७६को दफा २०को उपदफा १० अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको अध्यक्षतामा बसेको औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डको २४३औं बैठकले इँट्टा उद्योग सम्बन्धमा गरेको निर्णय अनुसार उद्योगबाट हुने प्रदूषण न्यूनीकरण गर्न एवम् कामदारको स्वास्थ्यलाई समेत ध्यान दिई इँटा पोल्ने कार्य प्रत्येक वर्षको पुस मसान्तपछि मात्र (माघ १ गतेदेखि) शुरु गर्न भनी घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले गत कार्तिक १४ गते जिल्लाका सम्पूर्ण इँटा उद्योगलाई पत्राचार गर्दै निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

सरकारले गरेको निर्णय कार्यान्वयन गर्न घरेलु तथा साना उद्योग कार्यालयले गरेको पत्राचारको समेत यहाँका इँटा उद्योगीहरूले अवज्ञा गरी आफूखुसी इँटा पोल्न शुरु गरेका थिए । जिल्लाका २८ वटा इँटा उद्योगमध्ये सरकारी नियमको उल्लंघन गर्दै भद्रपुर नगरपालिका–१ पृथ्वीनगरस्थित दक्षिणकाली इँटा उद्योग झापा (डीबीआई इँटा)ले पुस १९ गतेका दिन इँटा पोल्ने कार्यको प्रारम्भ ग¥यो ।

त्यही दिन राति कचनकवल गाउँपालिका–७ स्थित प्रेम जी इँटा उद्योग (प्रेम इँटा) ले इँटा पोल्न शुरु ग¥यो । पुस २१ गते भद्रपुर–१ स्थित गणेश इँटा उद्योग (नायक इँटा) ले इँटा पोल्न थाल्यो । त्यसपछि भद्रपुर–९ स्थित खुश्वु इँटा उद्योग (केबीआई इँटा), मेचीनगरस्थित बुद्ध इँटा उद्योग (बीबीसी), कचनकवल–७स्थित ज्योति इँटा उद्योग (ज्योति इँटा)ले बाह्रदशी–६स्थित रिद्धि एण्ड सिद्धी इँटा उद्योग (हिमाल इँटा) र गौरादह–९स्थित शिव शक्ति इँटा उद्योग (तेज इँटा)ले पोल्न शुरु गरिसकेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here