पठन संस्कृति वर्ष २०२६ सफल बनाउन विराट–अर्जुनमा मिनी लाइब्रेरी स्थापना

0
28

बिर्तामोड । बिर्तामोडस्थित विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले ‘पठन संस्कृति वर्ष २०२६’ अभियानलाई सफल बनाउने उद्देश्यसहित आफ्नै कार्यालय परिसरमा मिनी लाइब्रेरी स्थापना गरेको छ ।

संस्थाका कर्मचारी तथा शेयर सदस्यहरूका लागि पठन बानी विकासमा मिनी लाइब्रेरी प्रभावकारी हुने विश्वास व्यक्त गर्दै संस्थाका अध्यक्ष नवीन खरेलले झापामै पहिलोपटक सहकारी क्षेत्रबाट यो अभियानमा जोडिन पाउँदा खुशी लागेको बताउनुभयो ।

मिनी लाइब्रेरीको उद्घाटन गर्दै वीरता रिडर्सका संयोजक तथा लेखक तीर्थ सिग्देलले पठन संस्कृतिले चेतनाको विकाससँगै व्यक्तिको कार्यक्षमता र सोचको दायरा विस्तार गर्ने उल्लेख गर्नुभयो । उहाँले सहकारीको सदस्य शिक्षा कार्यक्रममा पठन संस्कृतिलाई समावेश गर्न सके अभियान अझ प्रभावकारी बन्ने धारणा राख्नुभयो ।

वीरता रिडर्सका सहसंयोजक तथा इशा बुक्स सेन्टर बिर्तामोडका सञ्चालक केशव मैनालीले पठन संस्कृति वर्ष २०२६ सबैको साझा प्रयासबाट मात्र सफल हुने बताउँदै अभियानमा सक्रिय सहभागिताका लागि सबैलाई आग्रह गर्नुभयो । विराट–अर्जुन सहकारीको पहलले अभियानमा थप उत्साह र ऊर्जा दिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा विराट–अर्जुन सहकारीका सञ्चालक सदस्य राजेश दाहालले पढ्ने बानी कमजोर बन्दै गएको वर्तमान अवस्थामा पठन संस्कृति अभियानले पुनः पढ्नुपर्छ भन्ने चेतना जगाएकोमा आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा पत्रकार मोहन काजी, संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद कुइँकेल, सदस्यहरू ईश्वरीप्रसाद काफ्ले, शारदा सिटौला, व्यवस्थापक सुनिता दङ्गाललगायत कर्मचारी तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here