अर्जुनधारा ।

आगामी माघ २७ गते हुने विद्यालयको रजत वार्षिकोत्सवलाई लक्षित गरि झापाको अर्जुनधारा नगरपालिका–६स्थित बाल कल्याण आधारभूत विद्यालयले शनिबार एक कार्यक्रमकोबीच लोगो सार्वजनिक गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला र अध्यक्ष प्रसाईंले संयुक्तरुपमा उक्त लोगो सार्वजनिक गरेका थिए ।
सार्वजनिक गरिएको लोगोमा २५ वटा तारा, विद्यालय र एक जोडी परेवाको चित्रसहित २५ अंक रहेको छ । २०५७ सालमा स्थापना भएको विद्यालयको रजत वार्षिकोत्सवको औपचारिक तयारीको संकेतसँगै वार्षिकोत्सवको अवसरमा विद्यालयले गर्ने विभिन्न विषय बारे सबैलाई जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यापक डम्बर यादवले बताए ।

कार्यक्रममा विद्यालयका सल्लाहकार समितिका संयोजक एवम् निवर्तमान वडाध्यक्ष लोकनाथ गौतम, वार्षिकोत्सव मूल आयोजक समारोह आर्थिक उपसमितिका संयोजक गोपाल चुँडाललगायतले आफ्नो धारणा राखेका थिए । प्रधानाध्यापक यादवले विद्यालयको पृष्ठभूमि, वार्षिकोत्स्वको तयारीसँगै स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक मदनकुमार निरौलाले गरेका थिए ।




























