झापा । झापाको मेचीनगरनगरपालिका–७ स्थित प्यारीभित्त्ता बसपार्कमा रोकिराखिएको पुरानो बसभित्र एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
शनिबार बिहान करिब ७ः१५ बजे स्थानीय बसपार्क क्षेत्रमा बिग्रिएर थन्क्याइएका को १ ख ७८३९ नम्बरको बसभित्र सुतेकै अवस्थामा अन्दाजी ४०–४२ वर्ष उमेरका ती पुरुषको मृत्यु भएको जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। मृतक मागीखाने व्यक्ति रहेको बताइए पनि हालसम्म उनको नाम, थर र ठेगाना खुल्न सकेको छैन। उनलाई ‘तम्बु’ भनेर चिनिने गरिएको स्थानीयको भनाइ छ।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक इन्द्रकुमार कार्कीको कमाण्डमा खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको थियो। थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन प्रहरी निरीक्षक बिरेन्द्रकुमार कोइरालाको नेतृत्वमा ६ जना एसओसीओसहितको टोली पनि घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ।





























