
नेपाली जनताले आफ्नो आदर्श पुरुषको रुपमा राष्ट्र निर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई मानेको छ । बडामहाराज पृथ्वीनारायण शाहले नेपालको दीर्घकालीन अस्तित्व अक्षुण राख्न आर्थिक आत्मनिर्भरता, सन्तुलित परराष्ट्र सम्बन्ध र स्वदेशी संस्कृतिको संरक्षण लगायतका निम्न विषयमा बक्सेका दिव्य उपदेशलाई नेपाली जनताले आफ्नो मार्गदर्शनको रूपमा अवलम्बन गर्नेछ :
असंलग्न परराष्ट्र नीति : पृथ्वीनारायण शाहले तत्कालीन भूराजनीतिक परिवेशमा उत्तरतर्फको शक्तिशाली चिनियाँ साम्राज्य र दक्षिणतर्फ समग्र दक्षिण एसिया निल्दै अगाडि बढिरहेको समुन्द्र पारिको बेलायती साम्राज्यको बीचमा अवस्थित नेपालको दीर्घकालीन अस्तित्व जोगाइराख्न अवलम्बन गरेको असंलग्न परराष्ट्र नीतिको आवस्यकता र औचित्य आज पनि उत्तिकै सान्दर्भिक र वस्तुपरक रहेको रहेको छ ।
नेपालको भूराजनीतिक संवेदनशिलता :
पृथ्वीनारायण शाहले तत्कालीन समयमा चट्टान स्वरुपी दुईतिरका ठूला र शक्तिशाली साम्राज्यहरुको बीचमा तरुलको झैं अवस्थिति रहेको नेपाल अत्यन्तै भूराजनीतिक संवेदनशिल भूमि रहेको र दुईवटै मुलुकसँग सम दुरी र सन्तुलन बनाइराख्नुपर्ने विषय उल्लेख गरेको पाइन्छ । जुन कुरा दुईवटा ठूला, शक्तिशाली र उदाउँदा मुलुकहरु चीन र भारतबीचको वर्तमान नेपालको अवस्थितिले हाल पनि मुलुक भूराजनीतिक रुपमा अत्यन्तै संवेदनशिल अवस्थामा रहेको र पृथ्वीनारायण शाहले अनुभव र नेपालको भूराजनीतिक संवेदनशिलता सम्बन्धमा मार्गदर्शन गरेको नीति आज पनि उत्तिकै मनन योग्य रहेको छ ।
आत्मनिर्भर अर्थनीति : पृथ्वीनारायण शाहले मुलुकलाई राजनीतिक, आर्थिक र साँस्कृतिक रूपमा आत्मनिर्भर बनाउन आत्मनिर्भरताको नीति अन्तर्गत कृषि उत्पादन र निर्यातमुखी अर्थतन्त्रमा जोड दिनुका साथै बाह्र बस्तु र आयातित संस्कृतिलाई निषेधको नीति अवलम्बन गरेको देखिन्छ । जुन नीति विदेशी वस्तुदेखि विचारसम्म आयातमा सिमित रहेको वर्तमान सन्दर्भमा उत्तिकै उपयोगी रहेकोे छ ।
न्यायीक नीति : तत्कालीन समयमा पृथ्वीनारायण शाहले अवलम्बन गरेको न्यायीक नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको छ । विशेषगरी धुस लिने र दिने दुईवटैलाई राष्ट्रका महाशत्रुको संघ्या दिँदै उनीहरुको जिऊ धन समेत खोसेर लिनुपर्ने भन्ने भ्रष्टाचारबिरुद्धको कठोर नीति, जघन्य अपराधमा संलग्नलाई मृत्युदण्ड दिनुको सट्टा युद्धमा होमी दिनुपर्ने, दरबारभित्र कसैको हत्या र खुन खतरा हुन नदिने नीति, कर्मचारीलाई उचित भरणपोषणको व्यवस्था र कानूनी शासनको अवधारणासहितको पृथ्वीनारायण शाहको न्यायीक नीति अत्यधिक भ्रष्टाचारमा लिप्त र कानून विहीनताको वर्तमान अवस्थामा झनै अवलम्बन योग्य देखिन्छ ।
धार्मिक–सामाजिक नीति : पृथ्वीनारायण शाहले मुलुकभित्रका सबै धर्म संस्कृतिको संमान र संरक्षण गर्नुको साथै आयातित धर्म संस्कृतिप्रति अत्यन्तै कठोर नीति अवलम्बन गरेका थिए । मुलुकका अन्य जातजातिको साथै उपत्यकाका नेवारको संस्कार संस्कृतिलाई प्राथमिकता र संरक्षण गर्नेदेखि धर्म प्रचारको नाममा नेपालमा छिरेर साम्राज्यवादी शक्तिको पक्षपोषण गरेको आरोपमा युरोपेली मिसिनरीहरुलाई देश निकाला गरिनु कठोर धार्मिक–सामाजिक नीतिको उदाहरण हो ।
त्यसैगरी नेपाललाई असली हिन्दुस्तानाको संघ्या दिएर मुगल र युरोपेली सभ्यताबाट प्रभावित र प्रदुशित दक्षिणी संस्कृतिभन्दा नेपाली संस्कृति पवित्र र विशेष रहेको भन्ने सन्देश दिएको देखिन्छ । धर्मान्तरण र वाह्य धर्म–संस्कृतिको प्रभावबाट प्रताडित वर्तमान सन्दर्भमा पृथ्वीनारायण शाहको स्वदेशी धर्म संस्कृतिको संरक्षण गर्ने नीति सान्दर्भिक बनेको छ ।
राजनीति : पृथ्वीनारायण शाहले मुलुकको राजनीति अर्थात् तत्कालीन राज्य सञ्चालन नीतिलाई समावेशी, प्रजातान्त्रिक र जनता केन्द्रित बनाएका थिए । भलै तत्कालीन समयमा अहिलेको जस्तो समावेशिताको विषयले सैद्धान्तिक रुपधारण गरेको थिएन । तथापि राज्य सञ्चालन प्रक्रियामा सबैलाई समेटेर लिनुपर्छ भन्ने चेतना उक्त समयमा नै पृथ्वीनारायण शाहमा पैदा भइसकेको थियो ।
त्यसैले उनले नेपाललाई चार वर्ण छत्तीस जातको साझा फुलबारीको रूपमा चित्रण मात्रै गरेनन् राज्य सञ्चालन प्रक्रिया र सेना गठन प्रक्रियामा सक्दो समावेशी नीति अवलम्बन गरेको देखिन्छ । आफ्नो इच्छाभन्दा पनि जनताको चाहनालाई मध्यनजर गरी कालू पाडेलाई काजी नियुक्त गरेको भन्ने उनको अभिव्यक्तिबाट भलै अहिलेको जस्तो प्रजातन्त्र र लोकतन्त्रको नाममा जनताबाट निर्वाचित हुने मान्यता तत्कालीन समयमा नभए पनि जन चाहना अनुरुप राज्य सञ्चालन हुनुपर्छ भन्ने प्रजातान्त्रिक चेत पृथ्वीनारायण शाहमा उतिबेलै खुलेको देखिन्छ ।
त्यस्तैगरी ‘प्रजा मोटा भया दरबार बलियो हुन्छ’ भन्ने उनको अभिव्यक्तिले पृथ्वीनारायण शाहले जनता केन्द्रिय राज्य व्यवस्थामा जोड दिएको स्पष्ट हुन्छ । प्रजातान्त्रिक मूल्य–मान्यतामा चारैतिरबाट प्रहार भइरहेको र जनता केन्द्रित होइन नेता केन्द्रित व्यवस्थामा मुलुकको शासन व्यवस्था रुपान्तरित हुँदै गइरहेको वर्तमान सन्दर्भमा पृथ्वीनारायण शाहका समावेशीता, प्रजातन्त्र र जनता केन्द्रिय राज्य व्यवस्थाका अवधारणाहरु झनै सान्र्दभिक बनेका छन् ।
अन्त्यमा आज नेपाल राजनीतिक विचलन भएकै सन्र्दभमा जेन–जी, राजनीतिक दल र राजासहितको गोलमेच सम्मेलन गर्दै अभिभावकीय संस्थाका रुपमा राज संस्थालाई राख्नु पृथ्वीनारायण शाहप्रतिको सम्मान र नेपालका लागि सान्र्दभिक बन्नेछ ।
भट्टराई बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।


























