पृथ्वीनारायण शाहका नीतिगत उपदेश र सिद्धान्तहरु

0
10

‘मेरो काम बिगार्न आङ्ग्लहरुले उद्योग गर्दै गए,
मेरो घोर बिरोधमा जन उठून भन्दै उचाल्दै गए ।
मैले ती परदेश–वाणिजहरु पस्नै नपाउन् भनी
चौकी खूप कडा गरीकन रचेँ सम्पूर्ण नाका चुनी ।’

पृथ्वीनाराण शाहले भर्खरै मात्र प्राप्त गरेका राज्यको उपलब्धिलाई भत्काउनका लागि अंग्रेजहरुले उनको बिरुद्धमा तत्–तत् स्थानीय ठाउँका मानिसहरुलाई उचाल्ने र बिरोध गराउने कार्य गरेका थिए । तर, ती विदेशी व्यापारीलाई नेपालमा पस्न नदिनका लागि गौडा–गौडामा पालेहरु राखी तिनीहरुको बाटो छेकीदिए भनेका छन् । पृथ्वीनारायण शाहको उक्त भनाइले तत्काल देशको अस्तित्वको रक्षाका लागि उनले खेलेको भूमिकालाई पुष्टी गर्दछ ।

नेपालको इतिहासमा सन्दर्भ र सामग्रीका हिसाबले सबभन्दा स्पष्ट काल भनेको आधुनिक काल हो । आधुनिक कालको शुरुवात नेपालको एकीकरणको प्रारम्भिक अवस्थाबाट हुन्छ । प्राचीनकालको इतिहास अनियमित अभिलेख, किंवदन्तीरुपका वंशावली, ऐतिहासिक कथा आदि जोडजाड गरेर तयार पारिएको पाइन्छ । मध्येकालको इतिहासमा भने केही बढी नै स्पष्ट, प्रमाणित र अभिलेखमा आधारित भएका घटनाहरु समावेश भएको पाइन्छ । आधुनिक कालको इतिहासमा भने अभिलेख, चिठीपत्र, वंशावली, घटनाहरु, दिव्योपदेश आदि जस्ता प्रमाणिक स्रोतहरु अझ बढी र स्पष्ट रुपमा पाइन्छ ।

विदेशी इतिहासकारले नेपाललाई हेर्ने दृष्टिकोण फरक भएकाले नेपालको इतिहास पनि सोही अनुरुप तत्काल निर्माण गरिएको पाइन्छ । नेपलीहरुले हेर्ने दृष्टिकोणमा भने नेपालीपन नै पाइन्छ । यसको ज्वलन्त उदाहरण भनेको नेपालको इतिहासमा एकीकरणको प्रारम्भिक कालमा पृथ्वीनारायाण शाहको उपदेशले नेपालीपन बोकेको पाइन्छ । जसले गर्दा इतिहास वस्तुनिष्ठ र स्पष्ट भएको प्रमाणका रुपमा उनका उपदेशलाई लिन सकिन्छ । बाह्र हजार घरधुरी भएको सानो गोर्खा राज्यको प्रयास र अरु स–साना विभाजित राज्यहरुको सहयोग र सहानुभूतिले नेपाल एकीकरणको प्रारम्भ भइ यसपछिका एकीकरणको विस्तारले निरन्तरता पाउँदै अन्ततः नेपालको सिमाना तत्काल पूर्वमा टिस्टा र पश्चिममा कांगडा पुगेको पाइन्छ ।

गोर्खाका राजा पृथ्वीनारायण शाहले सर्वप्रथम नुवाकोट जिते । त्यसपछि मकवानपुर हुँदै केही समय पछि कान्तिपुर जिते । त्यसलगत्तै पाटन र भादगाउँ हुँदै चौदण्डी र विजयपुर जिते । यसैगरी पूर्वमा उनले सिक्किमको सिमानासम्म आफ्नो राज्य फैलाएका थिए । यसपछि पश्चिमतिरका राज्यमा आँखा लगाई के गरे जितिन्छ भनी आफ्ना भाइ–भारदारसँग विचार विमर्श गर्दागर्दै अन्ततः उनलाई कडा रोग लाग्यो । त्यो रोगलाई ओखतीले समेत काम गर्न छाडेपछि बाउन्न वर्ष पुगेका पृथ्वीनारायण शाहले आफ्ना गुरु, पुरोहितका साथै आफ्ना राज्यका छ थरी भारदार (पाँडे, पन्त, अज्र्याल, खनाल, राना र बोहरा) र आफ्ना कुलका मानिस, ठूला पदमा रहेका मानिस छानी–छानीकन बोलाइ उनीहरुका माझमा आफ्नो तर्फबाट शिक्षा दिएर उपदेश दिने परम्पराको शुरुवात गरे ।

जसलाई नेपालको इतिहासमा दिव्य उपदेशका नामबाट चिनिन्छ । आफूले पहिला प्राप्त गरेको नुवाकोटमा बसी पश्चिमतर्फको राष्ट्र निर्माण र विस्तार गर्ने सन्दर्भमा सबैतिर लडाइँ चलिरहेको अवस्था थियो । त्यही समयमा राजा स्वयम् नै बिरामी भएपछि हामीलाई अब कसले बाटो देखाइदिएला भन्ने चिन्ता भाइ–भारदार, गुरु–पुरोहितहरुले लिइरहेको अवस्थामा राजाले आफ्ना भरपर्दा र विश्वासिला मानिसलाई राखेर उपदेश दिने कार्य गरेका थिए । उपदेश दिने क्रममा बुढो मर्छ, तर उसले जानेका कुरा अरुमा सर्छ भनी आफ्नो जीवनमा जे–जति कुरा उनले देखे, भोगे, बुझे ती सबै कुराहरु उनले उपदेश मार्फत जानकारी गराएका थिए । उपदेश मार्फत शुरुमा उनले भनेका थिए– ‘पछि हुने राजकाजतिर मेरो मन गइरहेको छ । मेरा जिउ काम गर्न नसक्ने भइसक्यो, रोगका लक्षण खराप छन् । पछिको आशाले पछिका कुराहरु विचार गरी यो आखिरमा बोल्दैछु राम्ररी सुनी विचार गर ।’ उनले आफूले अर्जेको मुलुकको भविष्यलाई सोचेर उपदेशका माध्यमबाट आफ्नो जन्म र भाइहरुको परिचयसहित मकवानपुरका राजाकी छोरीसँग भएको वैवाहिक सम्बन्धका बारेमा उल्लेख गरे । यसैगरी ससुरालीको घमण्डीपन र भएको तीतो अनुभव राख्दै नयाँ दुलही लिन गएको अवसरमा आफ्नो जेठान दिग्बन्धन सेनलाई ‘हामी पछि लडने छौं र लडाइँदेखि पछि नहटे’ भन्ने सन्देश दिँदै नयाँ दुलही नलिइकन रित्तै फर्कनु परेको कुरा सुनाए । फलस्वरुप उनले आफ्नो ससुराली राज्य मकवानपुर माथि वैरभाव राख्तै युद्ध गर्ने विचार राखे ।

उनले सर्वप्रथम नुवाकोट विजय गरे । नुवाकोटको विजयले उपत्यकाको आर्थिक नाकाबन्दीमा सहयोग पु¥याए तापनि दक्षिणतर्फ रहेको सेनवंशी राज्य मकवापुरले कान्तिपुर लगायत पाटन र भक्तपुर जस्ता राज्यको प्राप्तीका काममा बाधा पु¥याइरहेको थियो । जबसम्म उपत्यकामा विजय हुँदैन थियो । तबसम्म नेपाल एकीकरणको सम्भावना रहँदैन थियो । मकवानपुरबाट उपत्यकामा आवश्यक सामग्री आउने हुनाले यस राज्यलाई पनि जित्नु पर्ने थियो । सोही अनुरुप आफ्नो ससुरालीको राज्य भएता पनि भारततर्फबाट समेत खतरा रहने र मकवानपुरसँग पुरानो वैवाहिक वैरभाव पनि रहेकाले यो राज्य प्राप्ती गर्नु आवश्यक थियो ।

जब दक्षिणतर्फको धनी र शक्तिशाली राज्य मकवानपुर माथि अधिकार जमाए । त्यसपछि उपत्यकामा लगाइएको नाकावन्दी अझ कडा हुन पुग्यो । यसप्रकार पछिल्तिरबाट छल गरेर अफ्ठयारोमा पारी लखेटन तम्सेका गोर्खाका शत्रुहरुलाई जुक्ति र बलले आफूतर्फ पार्दै बलियो बनाउँदै पूर्वतर्फको बाटो खुलाउँदै गए । यसबाट एकातिर नेपाल खाल्डोलाई घेर्न बलिया किल्लाहरु बन्दै गए । अर्कातिर पूर्वतिरको विस्तारमा समेत बल पुगी सिक्किमको सिमाना टिष्टासम्म पुग्न सफल भएको कुरा पृथ्वीनारायण शाहले उपदेश मार्फत जानकारी गराएका थिए ।

पृथ्वीनारायण शाहले दिएका उपदेशमा विशेषगरी राज्य प्रप्तीका लागि आवश्य पर्ने कुटनीति, राज्य सञ्चालन गर्ने नीति, छिमेकीसँगको सम्बन्ध राख्ने वा विदेश नीति, आर्थिक नीति साथै सामाजिक तथा न्यायसँग सम्बन्धित विभिन्न नीतिहरु महŒवपूर्ण छन् । जुन आजका दिनमा पनि त्यति नै सानर््दभिक छन्, जति दुई सय पचास वर्षअघि थिए । केही नीतिगत उपदेशहरुलाई प्रस्तुत गर्ने प्रयास यस लेखमा गरिएको छ । पृथ्वीनारायण शाहको सोच र दुरदर्शिता कति विशाल थियो भन्ने कुरालाई निम्न तथ्य तथा उपदेशले पनि पुष्टी गर्न सकिन्छ । जस्तैः ‘मैले आर्जेको मुलुक छोटा बडा सबै जातको साझा पूmलबारी हो ।’ भर्खरै मात्र एकीकरणको प्रारम्भ भइरहेको अवस्थामा उनले आफ्नो जीवनमा अनेक थरीका सङ्कट झेलेर, बुद्धि लडाएर आर्जन गरेको राज्यलाई साना–ठूला सबै जातको यो साझा फूलबारी हो भन्ने कुरा सबैले ख्याल गरुन् भन्ने दृष्टिकोण उनले राखेको पाइन्छ ।

उनले विदेश नीतिका क्षेत्रमा भनेका छन्– ‘उप्रान्त यो राज्य दुई ढुङ्गाकाको तरुल जस्तो रहेछ’ हाम्रो देश चीन, भारत दुई साम्राज्यको बीचमा छ । दुबैले नेपाल माथि आँखा लगाउँछन् । अतः हामीले पनि दुबै राज्यको कार्यमाथि होस गरी आफ्नै नीति र बलले काम गर्नुपर्छ भन्ने आशय पाइन्छ । यसरी नै ‘चीनको वादशाहसित ठूलो घा राख्नु ।’ चीन ठूलो राष्ट्र भएकाले त्यसतर्फ राम्रो मित्रता र बलियो सम्बन्ध कायम गरी भर्खरैमात्र निर्मित एकीकरणको जगलाई उत्तरतर्फबाट भयरहित बनाउनु पर्छ भन्ने देखिन्छ । फेरि ‘दख्खिनका समुन्द्रका बादशाहसित घा त राख्नु, तर त्यो महाचतुरो छ । हिन्दुस्थान दबाइराखेको छ । सन्धिसर्पन हेरी गढी तुल्याइ राख्नु र रस्ता रस्तामा भाँजा हाली राख्नु । एकदिन त्यो बल आउने छ ।’ उनले दक्षिण तर्फको राज्यलाई भने विश्वास गरेका थिएनन् । त्यसैले हाम्रो दक्षिणमा भएको भारत त्यहाँ अङ्ग्रेजको दबदबा छ । अङ्ग्रेजहरु चलाख छन् । भारतलाई निलेपछि उत्तरतर्फ आँखा लगाउने छन् । होस गर्नु भनेर भनेका छन् ।
आर्थिक नीतिका सम्बन्धमा उनले भनेका छन्– ‘आफ्ना देशको जिनिस जरीबुटी देश लैजानु र नगत षंैचनु ।’ तत्कालीन समयलाई आधार मानेर उनले भनेका छन् । हाम्रा देशमा बाक्ला जङ्गल छन् । त्यहाँ जरीबुटी पनि छन् । ती जरीबुटी विदेश पठाएर आम्दानी बढाउनु पर्दछ । यसैगरी ‘उप्रान्त टक्सार पनि चोखो चलाउनु ।’ उनीले शुद्ध चाँदीका मोहर रुपैयाँ चलाउनु भनेका छन् । जसले देशको आर्थिक अवस्थालाई बलियो र विश्वसनीय बनाउनु पर्ने संकेत गरेकाछन् । यसैगरी उनले भनेका छन्– ‘खानी भएका ठाउँमा गाउँ भए पनि गाउँ अरु जग्गामा सारिकन पनि खानी चलाउनु । गह्रो बन्ने जग्गामा घर भए पनि घर अरु जग्गामा सारी कुलो काटी खेत बनाइ आबाद गर्नु’ उनको अवधारणामा यदि कुनै ठाउँ खानी योग्य छ भने त्यहाँ बस्ती बसेका त्यो वस्तीलाई अन्यत्र सारेर भए पनि खानीनै चलाउनु भन्ने पाइन्छ । यसैगरी खेती योग्य जमिनलाई खेतीकै रुपमा परिचालन गर्नुपर्छ भन्ने छ ।

सामाजिक नीतिका क्षेत्रमा उनले भनेका छन् , ‘‘अदालतका पैसा दरवारभित्र नहुल्नु ।’’ न्यायलयबाट दण्ड जरिमाना बापत आएको पैसाको आम्दानीलाई धर्मकर्ममा लगाउनु पर्छ । यसो भएमा असत्य भएकै रहेछ भने पनि दोष लाग्दैन भन्ने दृष्टिकोण उनीमा पाइन्छ । सुसाशनका क्षेत्रमा पनि पृथ्वी नारायण शाहले सजक गराउँदै भनेका छन् ‘‘घूस खाने र खुवाउने मानिसहरु अन्याय गर्छन । त्यस्ता मानिसलाई ठूलो सजाय नगरे अन्याय झन बढछ । यसो भएपछि दुनियाँ भाँडिन्छन् । त्यसकरण राजाले घूस खाने र खुवाउने मानिसलाई सजाय गर्नै पर्छ । यसो ग¥यो भने दुनियाँ खुशी रहन्छन् ।’’ आज नेपालमा जुन दुरदशा देखिन्छ, त्यो मुख्य गरेर सुशासनका क्षेत्रमा भएको घुसखोरी तन्त्र, अपारदर्शिता, पक्षपातपूर्ण व्यवहार, विश्वसनीय न्यायको अभाव आदि जस्ता कुराले राजनीतिमा नै वितिृष्णा फैलिएको छ । यससको मुख्य कारण घुषखोरी तन्त्र हो । यसको अर्थ दुनियाँ भाँडिनु हो । किन भने त्यस्ता अराजक कार्य गर्ने व्यक्ति तथा संस्थाहरु सजायको भागीदार हुन सकेका छैनन् । फलस्वरुप आज हामी सुशासनको अभावले पनि पीडित भएका छौ । कारण कानुन छ, कार्यान्वयन छैन ।

नेपालको एकिकरणको प्रारम्भहुनु अघिका टुक्रे–टाक्रे राज्यका बिचमा भएका ठूला–ठूला घर झगडाले उनीहरुको अस्तित्व गुम्दै गएको थियो । यस अवस्थामा रहेका स–साना राज्यहरुलाई गोर्खाबाट थालिएको अभियानले दिएको मुख्य सन्देश भनेको अबका दिनमा नेपालीहरु मिलुन भन्ने थियो । यो सन्देश तथा आकंक्षालाई संस्थागत गर्ने ध्येय पृथ्वीनारायण शाहको थियो । यसको मुख्य कारण भनेको दक्षिणतर्फ रहेका मुसलमान तथा अङ्ग्रेजहरुले हामीलाई दबाउन नसकुन भन्ने थियो । नेपालको संधै जय भइरहोस भन्ने चिन्ता लिएर आफ्ना देशमा भएका विभिन्न प्रकृतिका राजनीतिज्ञलाई डाकेर छेवैमा राखि आफुले आफ्नो जीवनकालमा भोगेका, देखेका, मनमा लागेका र अनुभव गरेका कुरालाई धैर्यतापूर्वक बिचार गरी उपदेशका माध्यमबाट राजनैतिक रहस्यका पोका हस्तान्तरण गरेका थिए । यदि नेपालको इतिहासमा गौरव गर्ने युग कुन थियो ? राष्ट्र एकिकरणको समयमा विजय–पराजय कहाँनेर कसरी भयो ? भनेर त्यसको तथ्य कुरा बुझन्का लागि पनि पृथ्वीनारायण शाहबाट प्रस्तुत उपदेशले महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । यसै सन्दर्भमा,

‘‘बुढो मर्छ परन्तु सर्छ उसले जानेबुझेको कुरो
यो भन्छन् दुनियाँ, तथा भुवनमा प्रत्यक्ष देखिन्छ सो ।
मेरो जीवनमा घटे जति कुरा, मैले विचार गरे जुन,
तिम्रा चित्तमहाँ अडून त्यति कुरा, यै भन्छ मेरो मन ।।’’

अन्त्यमा, पृथ्वीनारायण शाह एक पटक पश्चिमका राज्यहरुसँग पनि शक्ति परीक्षण गर्न चाहन्थे । उनको यो इच्छा अधुरो नै रहयो । यिनी पश्चिमका राज्यहरुसँग युद्ध गर्ने तयारीको सिलसिलामा नुवाकोटमा आइबसेका थिए । त्यस्तैमा एकाएक अस्वस्थभइ यिनलाई नुवाकोट नजिक देवीघाटमा ल्याइयो र त्यही ११ जनवरी १७७५ मा ५२ वर्षको उमेरमा यिनको स्वर्गारोहण भयो । आफ्ना जीवनका ३२ वर्ष युद्ध र सङ्घर्षमा व्यतित गरेर राज्यको सुखभोगबाट नितान्त टाढा रहेर पनि उनले आफ्नो जीवनलाई सार्थक बनाउँदै यस धर्तीबाट बिदा लिए । ज्येष्ठ नागरिकको देहावसनसँगै एउटा पुस्तकालयको अन्त्य हुन्छ भने जस्तै उनको मृत्युसँगसँगै इतिहासको स्रोतको पनि अन्त्य हुनसक्थ्यो । तर पृथ्वी नारयाणशाले मृत्युशैयाको अन्तिम क्षणमा रहँदै गर्दा दिइएका उपदेशले एउटा पुस्तकालयलाई अन्त्य हुनबाट बचाएको छ । यी उपदेश तथा नीति र सिद्धान्तहरुलाई जीवित पुस्तकका रुपमा मानेर इतिहासका स्रोतको विवरणका रुपमा आज पनि हामीले उपयोग गर्न सक्छौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here