जेन–जी विद्रोहले राजनीतिक दलहरुलाई पुस्तान्तरणको सन्देश प्रवाह गरेको छ । खासगरी नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्व तहलाई यो सन्देशले छुइनु पर्दथ्यो । यद्यपि समयअघि नै महाधिवेशन गरेको एमालेले जेन–जी विद्रोहको सन्देश ग्रहण गरेन तथा कांग्रेसभित्र यो सन्देशको प्रवाह देखिएको छ । यसले कांग्रेस नेतृत्वले विगतमा आफूहरुबाट भएका गल्तीलाई स्वीकार गरी सुधार गर्न आजसम्म प्रेरित गराएको हुन सक्छ । जेन–जी विद्रोहपछि पार्टी सभापति शेरबहादुर देउवाले आफू निकटका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिएर उपचार गर्न भन्दै सिंगापुर गएका थिए । देउवाको यो निर्णयलाई स्वभाविक र सुधारको बाटोका रुपमा लिइएको थियो । तर, देश फर्किना साथ देउवामा सत्ता सुखको लालसा पुनः जागृत भएको देखिन्छ ।

जेन–जी विद्रोहपछि कांग्रेस महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले दलभित्र व्यापक सुधार गर्नुपर्ने बताए । मुलुककै सबैभन्दा जेठो र ठूलो दल भएका कारण उसको जिम्मेवारी पनि हुन्छ कि पार्टी माथि लाग्दै आएको आरोपको परीक्षण गरी सुधारका एजेन्डालाई अघि सार्नु यसका लागि विधान अनुसार विशेष महाधिवेशनका माध्यमबाट नीति र नेतृत्व परिवर्तन आवश्यक थियो । त्यसै अनुसार बहुमत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन मार्फत आफूलाई सुधार गरेर आसन्न निर्वाचनमा भाग लिनुपथ्र्यो । तर, संस्थापन पक्ष विशेष महाधिवेशनको पक्षमा नरहँदा सभापति देउवा सत्ता छाड्न तयार छैनन् भन्ने सन्देश प्रवाह भयो । अर्थात् समय, आवश्यकता र जेन–जीको सन्देश स्वीकार गर्न उनी तयार छैनन् ।
समयको आवश्यकतालाई अनुभूत गरेर महामन्त्रीद्वय र परिवर्तनकामी कांग्रेसभित्रकै स्वभाविक अपेक्षालाई उपेक्षा गरेर पार्टीको भलो हुँदैन । कांग्रेस कार्यकर्तादेखि नेताहरु मात्र होइन आम शुभचिन्तक र जनता पनि रुपान्तरणको पक्षमा छन् । त्यसकै प्रभावमा गर्ने भनिएको महाधिवेशन पूर्णतः सफल नहुने संकेत देखिइसकेको छ । युवावर्गमा देखिएको रुपान्तरणको चाह र हुटहुटीलाई सम्बोधन गर्ने अहिलेको अवसरलाई उपयोग गर्न नसक्दा क्षति पार्टीलाई नै हुन्छ । सत्ता मोहले हुर्किएका बेथिति, भ्रष्टाचार, परिवारवाद लगायतका विकृतिले व्याप्त वितृष्णालाई हटाउन सभापति स्वयम् अग्रसर नहुञ्जेल हाल उत्पन्न निराशा र वितृष्णाको अन्त्य पनि हुँदैन । त्यसैले कांग्रेसले आफूबाटै नेतृत्व र पुस्तान्तरणको मार्ग प्रशस्त गर्ने र जनभावनाको सम्मान गर्ने अवसरको सदुपयोग गर्नुपर्छ । यसमै पार्टीको हित हुन्छ ।


























