
जाडो महिना आफैंमा विशेष आकर्षण बोकेको ऋतु हो । हल्का चिसो, बिहान–बेलुकाको हुस्सु, मध्यान्हको पारिलो घाम र वातावरणमा फैलिएको शान्तताले यो समयलाई अझै मनमोहक बनाइदिन्छ । यही मौसमसँगै पिकनिकको रमाइलो झन् अर्थपूर्ण बन्छ । व्यस्त दैनिकीबीच केही समय प्रकृतिको काखमा बिताउने चाहना जाडोमा अझ प्रगाढ हुन्छ । स्कूल, कलेज, कार्यालय, साथीभाइ वा परिवारसँग मनाइने पिकनिक केबल मनोरञ्जनका लागि मात्र होइन, जीवनमा नयाँपन, ऊर्जा र आत्मीयता थप्ने माध्यम हो । हरियाली खुलेको स्थान, चिसो मौसम भए पनि गीत, हाँसो, नाचगान र खेलकुदले वातावरण न्यानो बनाइदिन्छ । यही सामुहिक खुशी र अपनत्व नै पिकनिकको आत्मा हो ।
समय परिवर्तनसँगै पिकनिकको शैलीमा पनि परिवर्तन आएको छ । पहिले घरबाटै दाल–चामल, तरकारी बोकेर बारी, डाँडा वा नदी किनार पुगिन्थ्यो । आजभोलि क्याटरिङ सेवा, तयारी खाना र सुविधासम्पन्न स्थलहरू प्रचलनमा छन् । तर, तरिका जेसुकै बदलिए पनि उद्देश्य एउटै हो– मानसिक थकान बिर्सेर नजिकका मानिसहरूसँग केही निश्चिन्त पल बिताउनु । पिकनिकले सामाजिक सम्बन्ध मात्र होइन, स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्छ । पिकनिकका क्रममा पर्यटकीय स्थानमा पुग्ने मानिसहरूले होटल, यातायात र अन्य सेवाको उपयोग गर्दा स्थानीय व्यवसाय प्रवद्र्धन हुन्छ । साथै स्थानीय कला, संस्कृति र जीवनशैलीसँग परिचित हुने अवसर पनि मिल्छ ।
अहिले स्कूल र कार्यालयहरूले पनि विद्यार्थी र कर्मचारीलाई पिकनिकमा लैजाने चलन बढ्दो छ । यसले विद्यार्थीहरूलाई कक्षा कोठाभन्दा बाहिर प्रकृति, समाज र वातावरण बुझ्ने अवसर दिन्छ । समूहमा काम गर्ने बानी, सहयोग, सहकार्य र नेतृत्व जस्ता गुणको विकास हुन्छ । कार्यस्थलमा समेत आपसी आत्मीयता बढ्दै टिम भावना बलियो बन्छ, जुन आजको प्रतिस्पर्धात्मक जीवनमा अत्यन्त आवश्यक छ । मानिस प्रकृतिको अभिन्न अंग हो । तर, आधुनिक जीवनशैली, प्रविधिको तीव्र विकास र व्यस्त दैनिकीले मानिसलाई प्रकृतिबाट टाढा बनाउँदै लगेको छ । यही दूरी घटाउने सुन्दर अवसर हो– पिकनिक । पिकनिक रमाइलो मात्र होइन, आत्मिक शान्ति, सामाजिक सद्भाव र वातावरणीय चेतनाको संगम हो । शैक्षिक दृष्टिले हेर्दा, विद्यार्थीका लागि पिकनिक ‘जिउँदो कक्षाकोठा’ जस्तै हुन्छ, जहाँ पुस्तकमा पढेका कुरा प्रकृतिमा प्रत्यक्ष देख्न र बुझ्न सकिन्छ । यसले प्रकृति प्रति सम्मान र संरक्षणको भावना विकास गराउँछ ।
पिकनिकको शुरुवात कहिले र कसरी भयो भन्ने ठोस ऐतिहासिक प्रमाण नपाइए पनि यसको विकास मानव सभ्यताको प्रारम्भिक जीवनशैलीसँगै भएको मानिन्छ । आदिम मानवले जंगलमा कन्दमूल, सिकार साझा गर्दै समूहमा समय बिताउने संस्कृतिबाटै पिकनिकको बिजारोपण भएको भन्न सकिन्छ । नेपालको सन्दर्भमा, जात्रा, पर्व र उत्सवमा नदी किनार वा खुला स्थानमा सामुहिक रूपमा बसेर खाने चलन नै पछि पिकनिक संस्कृतिको रूपमा विकसित भएको देखिन्छ । यसले मनोरञ्जनसँगै सामाजिक सम्बन्ध सुदृढ बनाउने र मानसिक तनाव कम गर्ने भूमिका खेलेको छ ।
यद्यपि, पिकनिकसँगै केही चुनौती पनि छन् । पिकनिक स्थलमा फोहोर व्यवस्थापन ठूलो समस्या बनेको छ । प्लाष्टिकजन्य सामग्रीको अत्यधिक प्रयोगले प्राकृतिक सौन्दर्यमा क्षति पु¥याइरहेको छ, जुन गम्भीर चिन्ताको विषय हो । त्यसैले जिम्मेवार योजना, सचेत व्यवहार र वातावरणमैत्री अभ्यास आजको आवश्यकता हो ।
अन्त्यमा, जाडो महिनाको पिकनिकले खुशी, सहकार्य र सम्झना लायक पलहरू सिर्जना गरोस् । मनोरञ्जनसँगै जिम्मेवारी, प्रकृतिप्रति सम्मान र सामाजिक सद्भावलाई पनि सँगै बोकेर अघि बढ्न सकियोस्– यही नै पिकनिकको सार्थकता हो ।

























