रैथाने खाद्य परिकारको प्रबद्र्धन गरौं

0
16

पूर्वी तराईमा बसोबास गर्ने कोच राजवंशी समुदायको सांस्कृतिक खाद्यवस्तु भक्काको प्रवद्र्धनका लागि प्रत्येक वर्षको पुस २९ गते भक्का दिवस मनाइन्छ । २०७४ साल पुस २९ गतेबाट यसलाई राष्ट्रिय उत्सवका रुपमा मनाउन थालिएको हो । कोचिला गाभुर फ्रन्टले आरम्भ गरेको भक्का दिवस झापा, मोरङ र सुनसरी जिल्लामा विविध कार्यक्रमका साथ मनाइन्छ । यद्यपि भक्का पूर्वी तराईका लागि सुपरिचित खाद्य परिकार हो, तर यसले बेग्लै पहिचान र प्रवद्र्धन पाएको थिएन ।

पौराणिक कालदेखि नै भक्का खाने प्रचलन रहेको यो समुदायका बीच चेली–माइतीको भावनात्मक प्रेससँग सम्बन्ध रहेको समुदायको अगुवाहरुको कथन छ । पूर्वजहरुले माघे सङ्क्रान्तिको अघिल्लो रात छोरीचेलीलाई माइत बोलाएर भक्का खुवाउने चलन थियो । तर, पछिल्लो समय आधुनिकताले अतिक्रमण गर्दै गएपछि क्रमशः यस्ता कतिपय परम्परा विसृंखलित हुन थालेका छन् । पौराणिक मान्यता अनुसार द्वापरयुगमा भीष्मपितामहले आफ्नो प्राण त्याग्ने क्रममा ‘मलाई चामलको पिठोबाट बनाएको भक्का चढाइदिनु र जसले त्यो खान्छ उसले मेरो शक्ति प्राप्त गर्छ’ भनेको कथा पनि यो दिवससँग सम्बन्धित रहेको समुदायका अगुवा बताउँछन् ।

भक्का यतिबेला राजवंशी समुदायसँग मात्र सीमित छैन । सम्पूर्ण तराईबासीले खासगरी जाडो महिनामा बिहान–बेलुका भक्का खाने गरेका छन् । जाडोको खाजाका रुपमा प्रचलित भक्का सुपाच्य खाद्य परिकार हो र स्वास्थ्यका दृष्टिले पनि स्वस्थकर । चामलको पिठोलाई बाफमा पकाइने भएकाले यसमा कुनै मिसावट पनि हुँदैन । राजवंशी समुदायको घरमा सीमित यो खाद्य परिकार अहिले शहर–बजारको पनि शोभा र प्रमुख खाजा भएको छ । सडक पेटीमा दाउराको आगोमा माटोको भाँडोमाथि बाफमा पकाइने भक्का खानकै लागि पालो कुर्नु पर्ने अवस्थाले पनि यसको लोकप्रियताको अनुमान गर्न सकिन्छ ।

झापामा विभिन्न संगठनको आयोजनामा मनाइँदै आएको भक्का दिवस मौलिक तथा रैथाने खाद्य परिकारको प्रवद्र्धन गर्न सफल भएको छ । कुनै समुदायको भान्सामा सीमित यो खाजा अहिले तराईको मुख्य बासिन्दा राजवंशी समुदायको पहिचानसँग पनि जोडिएको छ । यसले एकातिर जातीय परम्पराको जगेर्ना गरेको छ भने अर्कातिर व्यावसायिकताका समेत प्रवद्र्धन गरेको छ । यसले भक्काको लोकप्रियता देशव्यापी गराएको छ । हेर्दा, सुन्दा र पढ्दा सामान्य लाग्ने तर सर्वाधिक स्वास्थ्यवद्र्धक भक्का र यसको प्रवद्र्धन गर्ने दिवसको सबैलाई शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here