पाठकको मन जित्दै उपन्यास विविशारा : चितवनमा पनि ‘विविशारा’ माथि विमर्श

0
15

मोरङ,

चितवनमा आख्यानकार छवि वैरागी घिमिरेको नयाँ उपन्यास विविशारा माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ। सम्पूर्ण किताब नारायणगढको आयोजनामा आइतबार आयोजित उक्त कार्यक्रममा समालोचक उदय अधिकारी र धनराज गिरीले उपन्यासमाथि समीक्षात्मक टिप्पणी गर्नुभएकाे थियाे ।

समालोचक उदय अधिकारीले विविशाराले सहरी संस्कृतिले जन्माएका विकृति र विसङ्गतिलाई सूक्ष्म ढंगले प्रस्तुत गरेको बताउनुभयाे। उहाँका अनुसार उपन्यासले आधुनिक सहरिया जीवनको देखिने चमकभित्र लुकेका खोक्रोपन, एक्लोपन र नैतिक द्वन्द्वलाई यथार्थपरक ढंगले उजागर गरेको छ। “लेखकले वर्तमान समाजको यथार्थलाई कलात्मक तर गहिरो रूपमा आख्यानमा उतारेका छन्,” अधिकारीले भन्नुभयाे ।

समालोचक धनराज गिरीले उपन्यासको कथ्य र संरचनामाथि टिप्पणी गर्दै विविशारा समकालीन नेपाली उपन्यासको प्रवृत्तिसँग संवाद गर्न सक्ने कृति भएको बताउनुभयाे । उहाँले पात्रहरूको मनोवैज्ञानिक चित्रण, भाषिक संयम र कथावाचनको लय उपन्यासका सबल पक्ष भएको उल्लेख गर्नुभयाे ।

कार्यक्रममा लेखक छवि वैरागी घिमिरेले उपन्यास लेखनको पृष्ठभूमि र उद्देश्यबारे आफ्ना धारणा राख्दै विविशारा सहर केन्द्रित समाजको संवेदनात्मक अभिलेख भएको बताउनुभयाे । “यो उपन्यास कुनै एक पात्रको कथा मात्र होइन, अहिलेको समय र समाजको साझा मनोविज्ञान हो,” उहाँले भन्नुभयाे ।

साथै, उहाँल चितवनका पाठकमाझ आएर उपन्यासको विमर्श गर्न पाउँदा खुसी लागेको बताए । फिनिक्स बुक्सले प्रकाशन गरेको उपन्यास विविशारा अहिले पाठकको मन जितिरहेको छ। यस पुस्तकको मूल्य ५९९ रुपैया रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here