सञ्जय श्रेष्ठ,
बिर्तामोड ।

नेवारी परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले झापाको बिर्तामोडमा नेवा फुड फेस्टिबल मनाइएको छ ।
नेवा संस्था नेवाः पासा मुना पुचः को आयोजनामा नवौं नेवाः फुड फेस्टिवल तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । फुड फेस्टिबल तथा सांस्कृतिक कार्यक्रमको बिर्तामोड नगरपालिकाका उप प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन गरेका थिए ।
फुड फेस्टिबलमा करिब छ हजारभन्दा बढीले अवलोकन गर्नुका साथै नेवारी परिकारको स्वाद लिएका थिए । कार्यक्रममा उपप्रमुख संगौलाले नेवार जातिको मौलिक संस्कार संस्कृति जगेर्ना गर्न भावी पुस्तालाई संस्कार सिकाउन नेवाः संस्था नेवाः पासा मुना पुचःले सञ्चालन गर्दै आएको कार्यक्रमहरूको प्रशंसा गरे ।
मुलुकमा विद्यमान बिभिन्न जातजातिको भाषा मौलिक संस्कार संस्कृति जगेर्ना गर्ने कार्यमा तिनै तहका सरकारको ध्यान जान पर्नेमा जोड दिँदै उनले स्थानीय सरकार बिर्तामोड नगरपालिका भौतिक र आर्थिक रूपमा नेवाः पासा मुना पुचःलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, रेडियो बिराटकी प्रबन्ध निर्देशक लीला अनमोल, संस्थाका पूर्व अध्यक्ष प्रमिश हलुवाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेवारी भाषा मौलिक संस्कार, खाना, भेषभुषा संरक्षण र सम्बद्र्धन, नेवारी खानाको परिकारको स्वादसँगै सांस्कृतिक कार्यक्रमको मनोरञ्जन प्रदान गर्ने उद्देश्यले हरेक वर्ष नेवाः पासा मुना पुचःले बिर्तामोडमा नेवाः फुड फेस्टिबल आयोजनाना गर्दै आएको छ । यस पटक आयोजना गरिएको नवौं फुड फेस्टिबलमा छ वटा स्टल राखिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेवाः पासा मुना पुचःले खुवाको यमरी, नेवाः मिसा पुचःले यमरी खुवा तथा चाकु, सेल रोटी अचार, मयजु पुचःले प्लेन बारा, अण्डा बारा, अतिथि मःमः सेन्टरले छोयला, कचेला, साफाले, बफ मःमः, झोल मःमः अन्यले, नेवारी खाजा सेट, मोमो, छोयला, चटामरी लगायतका नेवारी मौलिक परिकारको स्टल राखिएको थियो ।
संस्थाका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष राजिव श्रेष्ठले पारेको थिए भने औचित्य माथि प्रकाश कार्यक्रम मुल संयोजक सचिन राज खड्गीले पारेका थिए । कार्यक्रमको सञ्चालन नेवाः मिसा पुचः अध्यक्ष निलम प्रधानले गरेकी थिइन् ।
कार्यक्रममा नेवाः समाज कल्याण गुठी भद्रपुर, नेवाः समाज पृथ्वी नगर, नेवाः पासा खलः धरान, नेवाः समाज काँकरभिट्टा, नेवाः समाज इन्द्रपुर, नेवाः पासा मुना पुचः बाहुनडाँगी र आयोजक संस्था नेवाः पासा मुना पुचः बिर्तामोड लगायतले फरक–फरक सांस्कृतिक प्रस्तुती दिएका थिए ।






























