पार्टी फुटाएर देश र जनतालाई नरुवाउन कांग्रेसी कार्यकर्ताको अपिल

0
94

झापा । नेपाली कांग्रेस बिर्तामोडका कार्यकर्ताहरूले पार्टी विभाजनको दिशामा नजान काठमाडौँमा रहेका पार्टी नेतृत्वलाई कडा सन्देश दिएका छन्। पार्टी फुटाएर देश र जनतालाई निराश नबनाउन उनीहरूले चेतावनीसहित एकताको अपिल गरेका हुन्।

बिर्तामोड पार्टी प्यालेसमा आज अपराह्न भेला भएका कांग्रेस कार्यकर्ताहरूले काठमाडौँ गएका महाधिवेशन प्रतिनिधिहरूलाई पार्टी एक बनाएर मात्र जिल्ला फर्कन आग्रह गरे। भेला भावुक र चिन्तित वातावरणमा सम्पन्न भएको थियो।

कार्यक्रममा छोटो सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले पार्टी फुटाउने दिशामा जाने नेताहरूलाई सहिद र प्रजातान्त्रिक आन्दोलनका योद्धाहरूको श्राप लाग्ने चेतावनी दिए। पार्टी एकताको प्रार्थनासहित आज साँझ घर–घरमा दीप प्रज्वलन गर्न उनले कांग्रेसीजनमा अपिलसमेत गरे।

संकटको यस घडीमा सबैले संयम अपनाउनुपर्नेमा जोड दिँदै हुमागाईंले कसैमाथि मानमर्दन हुने गरी अशिष्ट र भद्दा गालीगलौज नगर्न आग्रह गरे। कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको विचार स्मरण गर्दै उनले बाटो बिराएकालाई सही बाटोमा ल्याउने दायित्व कांग्रेसको भएको बताए। सामाजिक सञ्जाल र व्यक्तिगत रूपमा अमर्यादित भाषा प्रयोग गर्नेहरूले कांग्रेसको नीति, सिद्धान्त र बीपीको विचार नबुझेको उनको भनाइ थियो।

नेताहरू जहाँ गए पनि आफूहरू बीपीले रचना गरेको चारतारे झण्डा र रुख चिन्हसँगै रहने स्पष्ट पार्दै हुमागाईंले पार्टीको मूलधारबाट विचलित नहुने प्रतिबद्धता व्यक्त गरे।

नेपाली कांग्रेस बिर्तामोडका सभापति भोजराज सिटौलाले जेल, नेल, यातना र निर्वासन भोगेका लाखौँ कार्यकर्तालाई निराश बनाउने काम गर्ने जोसुकै भए पनि जनता र कार्यकर्ताले स्वीकार नगर्ने चेतावनी दिए। काठमाडौँ गएका नेताहरूलाई पार्टी एक नगरी जिल्ला फर्केर कसरी कार्यकर्ताको सामु उभिन सकिन्छ भन्ने प्रश्न गर्दै गम्भीर भएर सोच्न उनले आग्रह गरे।

देश र जनताले सग्लो कांग्रेस चाहेको उल्लेख गर्दै सिटौलाले पदका लागि मात्रै चलखेल गर्नेहरूले जनता र कार्यकर्ताको भावनासँग खेलबाड नगर्न आग्रह गरे। कांग्रेसलाई विभाजन होइन, एकता आवश्यक रहेको उनको जोड थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here