मेरा पिता मेरो आत्मसम्मान

0
59

पिताजीको बारेमा केही लेख्नु पर्ने । तर के लेख्ने, के लेख्ने भनेर म चिन्तित थिएँ । किनकि हरेक सन्तान मातापिताका अगाडि साना बबुुरा नै हुन्छन् । अब बबुराले के लेख्ने र तर पनि कनिकुथी लेख्ने प्रयास गर्दैछु ।

दाताराम शर्मा खनाल मेरो काका हजुरबुवा र मेरा गुरु पनि हुन् । उहाँले मलाई पढाउनु पनि भयो, जुनबेला म महेन्द्ररत्न माध्यमिक विद्यालय अनारमनीमा अध्ययनरत् थिएँ । त्यसवेला उहाँ हेडमास्टर हुनुहुन्थ्यो । उहाँदेखि असाध्यै डर लाग्दथ्यो । तर, जब उहाँ रिटायर भएर घरमा नै बस्न थाल्नुभयो तब मेरो उहाँसँग अलि बढी हिमचिम बढ्न थाल्यो । उहाँ जहिले पनि एउटा कुरा भन्ने गर्नुहुन्थ्यो ‘म कहिले पनि विद्यालयमा धाएर पढिन मेरा सबै अध्ययन स्व अध्ययन हुन् । म परीक्षा दिन मात्र जान्थेँ ।’ मलाई यो वाक्य सधैँ अचम्म लाग्दथ्यो । यो कसरी सम्भव हुन्छ । यसै सिलसिलामा मैले हजुरबुवालाई ‘हजुरबुवा तपाईं एउटा आत्मकथा लेख्नुहोस् न’ भन्ने गर्थेँ । तर हजुरबुवा ‘मलाई लेख्न नै आउँदैन’ भनी टार्नु हुन्थ्यो ।

मेरो धेरै प्रयास पछि उहाँले लेख्नु शुरु गर्नुभएछ । एउटा कपिमा करिब २०÷२५ पेज जति लेखेर मलाई सुनाउनुभयो । साहै राम्रो लाग्यो । अझै थप्दै जानु पर्छ भने । हजुरबुवाले बिस्तारै अलि–अलि थप्दै जानु भयो । तर, यसै बीचमा उहाँलाई अलजाइमर (बिर्सने रोग)ले च्याप्दै गएको रहेछ । उहाँले लेख्न छोडनुभयो र भन्नुभयो ‘मलाई पूराना कुरा याद नै आउँदैन । अलि–अलि लेखेको र हजुरबुवाको मुखबाट सुनेको कुरा मैले दाताराम शर्माको स्मृति ग्रन्थमा लेखेको छु । उहाँको स्वयम्ले लेखेकोे आत्मकथा हुन्थ्यो भने हामी र हाम्रा पिँढीका लागि मार्ग दर्शन हुने थियो, तर त्यो पूरा हुन सकेन ।

दाताराम शर्मा खनालले आत्मवृत्तान्त लेखि नसकेकोमा मलाई ठूलो विस्मत लागिरहेको थियो । पछि दाताराम शर्मा स्मृतिग्रन्थ प्रकाशन गर्ने भनेर वि.सं. २०६९ सालमा एउटा बैठक बस्यो र वि.सं.२०७६ सालमा पुस्तक तयार भयो र विमोचन भयो । वि.सं. २०७३ सालमा मैले अर्को अठोट गरेँ । हाम्रा बुवा गणेशप्रसाद खनालको ‘जीवन वृत्तान्त’ प्रकाशन गर्न सकेमा यो हाम्रा लागि र अरुका लागि पनि प्रेरणाको स्रोत हुने थियो भन्ने लाग्यो र ‘गणेशप्रसाद खनाल जीवन वृत्तान्त’ पुस्तक प्रकाशन गर्ने पक्का ठहर गरियो । यसै सिलसिलामा म शेखर पाण्डे र अमूल खनाल भएर यसको चाँजोपाजो मिलाउन थाल्यौं र बुवासँग निकट भएका व्यक्तिहरुबाट लेखका लागि निवेदन गर्न शुरु ग¥यौं । बुवाको आत्मकथा लेख्न छोरा अमूल खनालको साथ लिएर बुवाले भन्दै जाने र उसले लिपिबद्ध गर्ने कामको शुरुवात भयो । यसका साथै विभिन्न व्यक्तिहरुबाट पनि लेख प्राप्त हुन थाल्यो । तर, लेख माग्नका लागि लेखकहरुलाई घच्घचाई रहनु पर्ने कारणले केही समय लाग्यो ।

सम्भवतः यो घर्तीमा आएका धेरै मानवहरु मध्ये जसले जीवनमा धेरै संघर्ष गरेर सफलता प्राप्त गर्दछन् तिनीहरुको जीवन नै आउँदो पिँढीका लागि मार्ग दर्शक रुपमा रहने हुनाले त्यस्ता व्यक्तित्वको बायोग्राफी तयार गर्नु उत्तम कार्य जस्तो लाग्छ । यसकारण पिताजीको बायोग्राफी तयार गर्न लागियो । सबै पिताहरुका इच्छा–आकांक्षा एउटै हुन्छन् । आप्mना सन्तान अघि बढुन्, वंशको नाम राखुन् । त्यसैले यी सत्कर्म गर्नुपर्दछ भन्ने मानसिकतामा म पनि बलियो अठोट लिएर लागेँ । बुबाले धेरै दुःख गरेर शिक्षा क्षेत्रलाई सर्वोपरि ठानी संघर्ष गरेर हामीलाई आजको अवस्थामा ल्याउन सफल हुनुभएको छ । बुवाले वि.स. २०१६ सालमा एसएलसी, वि.सं. २०२४ सालमा आई.ए वि.सं. २०३२ सालमा बि.ए र वि.सं. २०४० सालमा स्नातकोत्तर अर्थशास्त्र विषयमा उपाधि हासिल गर्नुभएको थियो । यो समयको फरकले नै जनाउँछ कि उहाँको जागिर खादै पढ्ने गरेको अवस्था थियो र त्यसै गर्नु भएको पनि हो ।

पिताजीलाई यो स्थानमा पु¥याउने प्रमुख योगदान मेरो आमा बुध खनालको पनि हो । वि.सं. २०१७ सालमा जब विवाह भएर खनालको घरमा भित्रिनुभयो तबदेखि मेरो पिताजीले उन्नति र प्रगति गर्दै जानुभएको देखिन्छ । आमाले खनाल परिवारको सदस्यका रुपमा रहँदा भोग्नु भएको दुःख हामीलाई सुनाउँदा हामी नै अचम्मित हुन्छौं । साखेजुङ्गमा रहँदा हामीलाई हातमुख जोर्न नै धौ–धौ थियो अरे । साना–साना नानीहरु (नन्द र देवर) धेरै सबैको स्याहार–सुसार आमाले नै गर्नुभएको अरे । साखेजुङ्गमा इन्द्रलाल र गोमादेवीले एउटा शिव पाञ्चायन मन्दिर बनाउनु भएको रहेछ । त्यो बनाउँदा आमा साइँली हजुरआमा (रामप्रसाद खनाल जेठी श्रीमती) कान्छी हजुरआमा (दिनानाथ खनालकी श्रीमती) भएर झुत्रे खोलाबाट वालुवा बोकेर ल्याएर मन्दिर बनाएको भन्नुभएको थियो । करिब १८÷१९ सालतिर उक्त मन्दिर बनाएको हुनु पर्दछ । हजुरबुवा र हजुरआमा मधेश झरेपछि सबै काका फुपूहरुलाई आमाले नै सम्हाल्नु भएको रहेछ ।

बुवाले हामीलाई दुर्गापुर ल्याएर राख्नुभयो अनि मात्र हाम्रो शिक्षा नियमित हुन थाल्यो । नत्र बुवाको सरुवा जहाँ हुन्थ्यो हामी त्यतै जान्थ्यौं । मेरो अध्ययनको शुरुवात भगवती मावि इनरुवा सुनसरी कक्षा २ र ३ विराटनगरस्थित विराटेश्वर निमाविमा र ४ कक्षादेखि दुर्गापुरस्थित भृकुटी निमावि र कक्षा ८ देखि १० सम्म महेन्द्र्ररत्न मावि अनारमनीमा भयो । दुर्गापुरमा रहँदा आमा र म प्रायः सँगै बस्थ्यांै । दाजु दीपक अलिक ठूलो भएकोले बुवाले सँगै लानुहुन्थ्यो । दुर्गापुरमा रहँदा खेतीपाती गरिन्थ्यो । गाई–भैसी पालेको थियो पछि अध्ययनमा कठिन भएकाले दुर्गापुरबाट बिर्तामोड बसाई सरियो । बिर्तामोडमा वि.सं. २०३६ सालको मंसीर महिनाबाट घर बनाउन थालियो र वि.सं. २०३७ साल बैशाख १ गते बिर्तामोड घरमा बसाई सरी आइयो ।

बिर्तामोडमा बसाई सरी आउँदा पनि हाम्रो अवस्था ठिकठिकै थियो । आमाको मेहनत र हेरचाहबाट हामीलाई पढ्न सहज भयो । मलाई स्मरण छ, ममीले मलाई बिर्ताबजारमा कनिका बेच्न पढाउनुहुन्थ्यो । म धौलाको मिल अगाडि बस्ने रामासिसको बुवाकोमा कनिका ५० पैसा प्रति केजीमा बिक्री गर्दथेँ । पछि पछि गएर १ रुपैयाँसम्म प्रति केजी भयो । पैसा आमालाई दिन्थेँ, सायद त्यसबाट पनि घर खर्च गर्नुहुन्थ्यो होला । दाजु धेरैजसो बुवासँग बसेको र भाइ सानो भएकाले घरको काममा म आमालाई सघाउँथेँ ।

पिताजीले एकदमै कडा परिश्रम र मेहनत गरेर शिक्षा आर्जन गर्नुभयो । साथै आमाको कुशल घर–व्यवहारले गर्दा नै आज हामी सही रुपमा शिक्षा ग्रहण गरी आ–आफ्नो खुट्टामा उभिन सफल भएका छौं ।

(गणेशप्रसाद खनाल आत्मवृत्तान्तबाट उहाँका माइला छोरा डा. रुपक खनालको यो लेख लिइएको हो ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here