शब्दचित्रमा स्व.गणेशप्रसाद खनाल:एक युगपुरुषको जीवनयात्रा

0
103

समाजको इतिहास केबल घटनाले होइन, व्यक्तित्वले पनि बनाउँछ । यस्ता व्यक्तित्वहरू हुन्छन्, जसले बोलेरभन्दा गरेर धेरै कुरा सिकाउँछन् । स्वर्गीय गणेशप्रसाद खनाल त्यस्तै एक युगपुरुष हुनुहुन्थ्यो, जसको जीवन आफैंमा एउटा जीवित उदाहरण थियो– सेवा, शिक्षा, संस्कार र समर्पणले भरिएको ।

वि.सं. १९९८ असार १ गते इलाम साखेजुङ–२ मा जन्मिनुभएका गणेशप्रसाद खनाल, पिता मुक्तिनाथ (जयनारायण) खनाल र माता हरिप्रिया खनालका दश सन्तान मध्ये ज्येष्ठ हुनुहुन्थ्यो । जेठो हुनुको जिम्मेवारी उहाँले जीवनभर बोक्नुभयो– परिवारमा अभिभावक बनेर, समाजमा संरक्षक बनेर । ८५ वर्षको दीर्घ जीवनयात्रा पूरा गरी वि.सं. २०८२ पुस २४ गते उहाँ हामीबाट भौतिक रूपमा विदा हुनुभयो, तर उहाँका कर्म र योगदानहरू सदाका लागि जीवित छन्, रहनेछन् ।

शिक्षालाई जीवनको मेरुदण्ड मान्ने खनालले २०१६ सालमा एसएलसी उत्तीर्ण गरी अर्थशास्त्रमा स्नातकोत्तर (एमए)सम्मको अध्ययन पूरा गर्नुभयो । २०१७ साल पुस १ गते तत्कालिन सहकारी तथा भूमिसुधारको सव–इन्सपेक्टर पदबाट निजामती सेवा शुरु गर्नुभएका उहाँ सह–सचिव पदबाट २०४९ सालमा सेवानिवृत्त हुनुभयो । तर, सेवानिवृत्ति उहाँका लागि विश्राम होइन, समाजसेवाको अर्को अध्यायको शुरुवात बन्यो । २०१७ साल फागुन २४ गते ऋतुकान्त र लीलावती भट्टराईकी साहिँली छोरी बुध खनालसँग विवाह बन्धनमा बाँधिनुभएका उहाँ पारिवारिक जीवनमा पनि अनुकरणीय अभिभावक बन्नुभयो । दिपक–कमला, डा. रूपक–सरस्वती (सरु) र उत्तम–गीता जस्ता छोराबुहारीसहितको परिवार उहाँको मूल्य–मान्यताको निरन्तरता हो ।

इलामको साखेजुङबाट झापाको शनिश्चरे, अर्जुनधाराको दहीझोडा, घैलाडुब्बाको दुर्गापुर हुँदै तत्कालीन अनारमनी–४ (हाल बिर्तामोड) मा बसाइँ सरेसँगै उहाँ झापाको सामाजिक, शैक्षिक र आर्थिक विकासका एक स्तम्भ बन्नुभयो । बिर्तामोडमा गोमेन्द्र बहुमुखी महाविद्यालयका संस्थापक प्राचार्य तथा गोमेन्द्र बिर्ता मोडेल माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपलका रूपमा उहाँले शिक्षा क्षेत्रलाई दिगो आधार दिनुभयो । परोपकार समाज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष र एक्सेल विकास बैंकका संस्थापक मध्ये एक हुनुभयो । यी उहाँको आर्थिक दूरदृष्टिकोणका प्रमाण समेत हुन् ।

सेवा र सहयोग उहाँका जीवनका स्थायी परिचय थिए । साधुटार गुरुकुलदेखि ज्येष्ठ नागरिक भवन, नेपाल पत्रकार महासंघ झापाको पत्रकार सहारा उपचार कोषदेखि परोपकार वृद्धाश्रम, गणेश पाञ्चायन मन्दिरदेखि अर्जुनधारा जलेश्वर धाम, विराट–भरत विश्रान्तिदेखि प्राणनाथ सत्सङ भवन, साङ्वेद संस्कृत माध्यमिक विद्यालयदेखि घृतकौशिक गोत्रीय प्रतिष्ठानसम्म उहाँको योगदान फैलिएको छ । मोती समस्यापूर्तिका लागि ‘मोती छन्द कला प्रकाशन’ जस्तो सांस्कृतिक पहलले उहाँको साहित्यिक चेतनालाई पनि उजागर गर्छ ।

धार्मिक र सांस्कृतिक चेतनाले सम्पन्न खनालले श्रीलंका, जापान, सिंगापुर, अष्ट्रेलिया भ्रमणका साथै भारतका विभिन्न तीर्थ स्थलहरूको यात्रा गर्नुभयो । नेपालका अधिकांश जिल्ला भ्रमणले उहाँलाई अझ व्यापक दृष्टिकोण र अनुभव प्रदान ग¥यो ।

समाजमा प्रेरणाको स्रोत, शिक्षासेवी, समाजको अभिभावक, कुशल व्यवस्थापक, शालिन र कर्मशील व्यक्तित्व–यी विशेषणहरू उहाँका लागि शब्द मात्रै होइनन्, यथार्थ हुन् । साहसिक र दूरदर्शी स्वभावका कारण उहाँ समाजका लागि सम्पत्ति बन्नुभयो । स्व. गणेशप्रसाद खनाल सरल जीवन र उच्च सोचका धनी व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको दृष्टिकोण सदैव सकारात्मक थियो । अनुहारमा सधैँ सौम्य मुस्कान र आँखामा आत्मीयता झल्किन्थ्यो । अर्थपूर्ण कुरा गर्ने उहाँको स्वभाव सबैलाई मन पथ्र्यो ।

उहाँ कर्तव्यनिष्ठ, इमानदार र परिश्रमी व्यक्ति हुनुहुन्थ्यो । जे काम गर्नुभयो, त्यसमा पूर्ण जिम्मेवारी र समर्पित देखिनुहुन्थ्यो । कठिन परिस्थितिमा पनि धैर्य नछोड्ने उहाँको बानीले धेरैलाई प्रेरणा दिएको थियो । पारिवारिक दायित्वप्रति सचेत र समाजप्रति उत्तरदायी रहनु उहाँको जीवनशैलीको मूल आधार थियो । सहयोगी भावना उहाँको अर्को महत्वपूर्ण पहिचान थियो । अरूको दुःख–सुखमा साथ दिन सधैँ अगाडि सर्ने उहाँ कहिल्यै श्रेय खोज्नुहुन्नथ्यो । सादगी, सहिष्णुता र नैतिकताले भरिएको उहाँको जीवन सदा सम्झनलायक छ । उहाँका असल विचार, व्यवहार र संस्कारहरू परिवार, आफन्त र समाजमा सधैँ जीवित रहनेछन् । स्व. गणेशप्रसाद खनाल एक आदर्श, अनुकरणीय र स्मरणीय व्यक्तित्वका रूपमा सदैव सम्झिइरहने नाम हो ।

स्व. गणेशप्रसाद खनाल अब हामीबीच हुनुहुन्न । तर, उहाँले रोपेका शिक्षाका बीउ, जगाएका सेवाका दीप र छोडेका मूल्य–मान्यताहरूले उहाँलाई अमर बनाइरहने छन् । उहाँको जीवनबाट हामीले सिक्नुपर्ने पाठ स्पष्ट छ– साँचो अर्थमा बाँच्नु भनेको आफूका लागि होइन, समाजका लागि उपयोगी हुनु हो । यही अर्थमा, गणेशप्रसाद खनाल एउटा व्यक्तित्व मात्रै होइन, एउटा प्रेरक अध्याय हुनुहुन्छ । श्रद्धेय गुरुप्रति भावपूर्ण श्रद्धासुमन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here