झापा ।

जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व पहिलो पटक महिला प्रहरी उपरीक्षकले सम्हाल्ने भएकी छन् ।
नेपाल प्रहरीले आज ४८ जना एसपीको सरुवा गरेसंगै झापामा पहिलो पटक महिला एसपी आउने भएकी हुन् । प्रहरी प्रधान कार्यालय नक्सालले निर्वाचन नजिकिँदै गएका बेला ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरु हेरफेर गरेको हो ।
आगामी फागुन २१ गते हुने निर्वाचन अघि प्रहरी प्रधान कार्यालयले प्रहरी प्रमुखको हेरफेर गरेको हो । चुनावको हटस्पट मानिएको झापामा बसुन्धरा खड्कालाई पठाइएको । उनी बागमती प्रदेश मानव श्रोत व्यवस्थापन महाशाखा हेटौँडामा थिइन् । यसअघि प्रहरी उपरीक्षक खड्काले जिल्ला प्रहरी कार्यालय काभ्रेको सुरक्षा कमाण्ड सम्हालेकी थिइन् ।
इन्स्पेक्टरको १२६औं ब्याचका ११३ जना इन्स्पेक्टर मध्ये एक्लो महिलाको रूपमा उनी तालिममा सामेल भइन् । आफ्नो ब्याचको एक्लो इन्स्पेक्टर बनेकी उनै बसुन्धरा अहिले प्रहरी संगठनकै एक्लो महिला एसपी हुन् । झापाका प्रहरी उपरीक्षक राजन लिम्बूको मानव बेचबिखन अनुसन्धान ब्युरो अनुसन्धान व्यवस्थापन शाखा काठमाण्डौंमा सरुवा भएको छ ।
एसपीहरु अनन्तराम शर्मा, अनिल कुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुन प्रसाद तिमिल्सिना, एक नारायण कोइराला, काजी कुमार आचार्य, कुलदीप चन्द, केशव भट्टराई, गजुसिद्धी बज्राचार्य, गौतम मिश्र लगायतको सरुवा भएको छ ।
गौतम मिश्रलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन महाशाखाबाट जिल्ला प्रहरी परिसर ललितपुर ल्याइएको छ । ललितपुरका प्रहरी प्रमुख चक्रराज जोशीलाई नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदलमा पठाइएको छ । नेपाल प्रहरीले ८ जना डीआईजीको पनि सरुवा गरेको छ ।































