ताप्लेजुङ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि ताप्लेजुङमा ९५० जनाले निर्वाचन प्रहरीमा आवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ८९४ जना र सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घामा ५६ जना गरी जम्मा ९५० जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार ताप्लेजुङका लागि ८९२ जना निर्वाचन प्रहरीको माग गरिएको थियो ।
माघ १ गतेसम्मको लागि आवेदन खुला गरिएको भए पनि मागअनुसार आवेदन नपरेकाले पुनः माघ ३ गतेसम्मको लागि म्याद थप गरिएको थियो । निर्वाचन प्रहरी छनोट प्रक्रियाअन्तर्गत जिल्ला प्रहरी कार्यालयमार्फत ८४६ जना र सशस्त्र प्रहरीमार्फत ४६ जना निर्वाचन प्रहरी छनोट हुने छन् ।
एकमात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको ताप्लेजुङ जिल्लामा ८० वटा मतदान स्थल र १२७ वटा मतदान केन्द्र रहेका छन् । उक्त मतदान स्थल र मतदान केन्द्रमा निर्वाचन सुरक्षार्थ निर्वाचन प्रहरी परिचालित हुने छन् ।































