इटहरी घटनाको छानविन गर

0
511

सुनसरीको इटहरी सोमवार रातिसम्म दुई घटनाका कारण तनावपूर्ण रह्यो । सोमवारसाँझ इटहरी–१६को एकम्बास्थित न्यू जय नेपाल इँटा उद्योगको चिम्नी भत्कँदा ८ जनाले ज्यान गुमाए, ४० बढी घाइते भएको अनुमान छ । त्यस्तै इटहरी–१ हटिया लाइनमा रहेको प्रिमा कम्पनीको ग्यास डिलरमा आइतवारराति ग्यास लिक हुँदा ६ जना घाइते भए । दुबै घटनामा उद्धार तथा आगो नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासन, स्थानीयवासीलाई भ्याइनभ्याइ भयो ।
दुबै घटना मानवीय लापर्वाहीका कारण भएको प्रष्ट छ । १२५ फिट लामो इँटाभट्टाको चिम्नी २५ फिट जति भत्किएर त्यहाँ मजदुरलाई पुरेको थियो, जुन गत बैशाखमा गएको भूकम्पले चर्किएको थियो । एक बर्षदेखि बन्द उक्त उद्योगमा इँटा पोल्नका लागि सोमवार यस बर्षको पहिलो पटक फायर गर्दा (आगो लगाउँदा) ग्यास जमेर विस्फोट भई चिम्नी ढलेको अनुमान छ । भूकम्पले चर्किएको चिम्नी सामान्य टालटुल गरी चलाइएको चिम्नीको टुप्पो टालिएको र फायर गर्दा माथिबाट ग्यास निस्कन नपाई विस्फोट भएको बताइन्छ । सामान्य प्राविधिक परीक्षण समेत नगरी सयौं मजदुर काम गर्ने उद्योगमा भएको उक्त लापर्वाही हदैसम्मको हो । इटहरीकै न्यू धनलक्ष्मी सप्लायर्समा यस्तै लापर्वाहीले ग्यास लिक भई विस्फोट र क्षति भयो । विस्फोटले इटहरी आतंकित भयो । घटनाको कारण पत्ता नलगाउञ्जेल कसैले विस्फोट पो गरायो कि भन्ने आशंकाले तनाव थप्यो । त्यहाँ सिलिण्डरबाट ग्यास निकालेर सानो सिलिण्डरमा भर्ने अवैध कार्य हुँदै आएको बताइन्छ । छिट्टै कमाउन छोटो बाटो अपनाएका डिलर सञ्चालकले प्रति केजी २०० रुपैयाँमा ग्यास सानो सिलिण्डर भरिदिएर जोखिम मौल्दै, मौलाउँदै आएका थिए ।
पूर्वकै विकसित, नमूना बन्दै गएको इटहरी उपमहानगरपालिका जति विकसित बन्दैछ त्यति त्यहाँ लापर्वाही र जोखिमपूर्ण कामहरु पनि भइरहेको उक्त घटनाले पुष्टि गर्छ । विकास विनाश बन्छ लापर्वाही पूर्ण ढंगले अघि बढ्ने हो भने । मानव सभ्यतालाई सुविधा सम्पन्न र उत्कृष्ट बनाउन गरिने विकास सभ्यताकै कलंक सावित हुँदैछ । प्राविधिक दृष्टिले परीक्षण गरेर उचित मापदण्डका आधारमा मात्र त्यस्ता कार्य अघि बढाउनुपर्छ । तर कमाउने नाममा आज मानिस जोखिम मोलिरहेको छ र मानिस नै मारिरहेको छ । उक्त घटनाको तत्काल छानविन गरी दोषीलाई कानुन दयारामा ल्याएर उचित कार्वाही, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार तथा राहत भराउनुपर्छ । यो कदम यस्ता घटना दाहोरिन नदिन ‘राम्रो पाठ’ बन्छ भने त्यस्ता घटनाबाट सचेत हुनुपर्ने आवश्यकता पनि सबैका लागि उत्तिकैछ । जे गरिन्छ – सचेततापूर्वक, संयम अपनाएर, सुरक्षित तवरले र कानुनको दायरामा रहेर गरौं । घटनामा दिवंगतहरुप्रति श्रद्धाञ्जलि, परिवारमा समवेदना र घाइतेको शीध्र स्वास्थ्य लाभको कामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here