विनोद सापकोटा,
झापा, माघ ६ ।

झापा निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १६ जना उम्मेदवारले आज निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका छन्।
यस क्षेत्रको निर्वाचन इतिहास, उम्मेदवारहरूको पृष्ठभूमि र विगतका मतपरिणाम हेर्दा यसपटकको प्रतिस्पर्धा केवल औपचारिक नभई राजनीतिक रूपमा अर्थपूर्ण हुने देखिन्छ।
नेपाली कांग्रेसबाट देउ कुमार थेबे, नेकपा एमालेबाट लालप्रसाद सावा लिम्बु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शम्भु प्रसाद ढकाल, नेकपा माओवादीका ताराबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्ति प्रसाद सिटौला, श्रम संस्कृति पार्टीबाट अमृता देवी राई, नेपाल कम्युनिस्ट पार्टीबाट पुरुषोत्तम चुडाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट किरण लिम्बु लिङ्गदेन, नेपाल मजदुर किसान पार्टीबाट तुलसी लक्ष्मी दुमरु, मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट दिलिप धिमाल, जनता समाजवादी पार्टी नेपालबाट पल्टन ताजपुरिया, उज्यालो नेपाल पार्टीबाट सन्तोष तामाङ, जनमत पार्टीबाट लोथ्रो हेमरम, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–पुष्पलाल) बाट टेकबहादुर अधिकारी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट त्रिनारायण राजवंशी तथा स्वतन्त्रतर्फ साजन माझीले उम्मेदवारी दर्ता गराएका छन्।
सबै उम्मेदवारले तुर्सा हेमरम प्रतिष्ठानको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमार्फत मनोनयन दर्ता गराएका हुन्। मनोनयन दर्ताका क्रममा विभिन्न दलहरूले आफ्ना चुनाव चिन्हसहित झण्डा, झाँकी र सयौँ कार्यकर्ताको उपस्थितिमा कार्यक्रम गरेका थिए। निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण वातावरणमा मनोनयन दर्ता सम्पन्न भएको छ।
नेपाली कांग्रेसका उम्मेदवार देउ कुमार थेबे यसअघि २०७४ र २०७९ सालको आम निर्वाचनमा नेकपा एमालेका लालप्रसाद सावा लिम्बुसँग पराजित भएका थिए। सावा लिम्बु भने २०६४ सालको संविधानसभा निर्वाचनमा स्वर्गीय केशवकुमार बुढाथोकीसँग २३९ मतको झिनो अन्तरले पराजित भए पनि त्यसपछि २०७४ र २०७९ का संसदीय निर्वाचनमा लगातार विजयी भएका थिए।
२०७४ सालको निर्वाचनमा सावाले ४३,५१५ मत ल्याउँदा थेबेले २६,८२२ मत मात्र पाएका थिए। २०७९ सालको निर्वाचनमा एमालेको मत संख्या घटेर २९,३१५ मा झरे पनि सावा लिम्बु पुनः निर्वाचित भए। सो निर्वाचनमा थेबेले २२,४४८ मत प्राप्त गरेका थिए।
२०७९ सालको निर्वाचनमा पहिलोपटक उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले शम्भु प्रसाद ढकाललाई उम्मेदवार बनाएको थियो। ढकाल सो निर्वाचनमा तेस्रो स्थानमा रहँदै १४,०४९ मत ल्याउन सफल भएका थिए। यसले झापा–४ मा परम्परागत कांग्रेस–एमाले द्वन्द्वबाहेक पनि वैकल्पिक राजनीतिक धारप्रति मतदाताको आकर्षण रहेको संकेत दिएको थियो।
यसपटक नेकपा माओवादीले ताराबहादुर थापालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा सदस्य भक्ति प्रसाद सिटौलाले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। साथै विभिन्न नयाँ र साना दल तथा स्वतन्त्र उम्मेदवारको उपस्थितिले प्रतिस्पर्धा थप बहुआयामिक बनेको छ।
१६ जना उम्मेदवार हुनु भनेको मत विभाजनको सम्भावना उच्च हुनु हो। विशेषगरी ठूला दल बाहिरका उम्मेदवारहरूले केही हजार मत तानेमा त्यसको प्रत्यक्ष असर मुख्य प्रतिस्पर्धी कांग्रेस र एमालेमा पर्न सक्छ। २०७९ सालको निर्वाचनमा रास्वपा, स्वतन्त्र उम्मेदवार र राप्रपाबाट विद्रोह गरेर उठेकी खुश्बु ओलीले करिब १९ हजार मत तानेका थिए।
यसपटक केही उम्मेदवार युवा पुस्ताबाट आएका छन् र उनीहरूले सुशासन, भ्रष्टाचारविरुद्धको अभियान, रोजगारी र सेवा प्रवाहजस्ता मुद्दा उठाइरहेका छन्। युवा मतदाता र वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यहरू परम्परागत दलप्रति असन्तुष्ट देखिने भएकाले नयाँ दल र स्वतन्त्र उम्मेदवारतर्फ मत आकर्षित हुने सम्भावना पनि उत्तिकै देखिन्छ।
तर संगठन, आर्थिक स्रोत, मतदाता परिचालन क्षमता र स्थानीय संरचनाको दृष्टिले कांग्रेस र एमाले अझै बलिया छन्। यही कारणले नयाँ शक्तिका लागि परिणाम उल्ट्याउनु नयाँ दललाई झापा ४ मा त्यति सजिलो देखिँदैन।
समग्रमा हेर्दा एमालेको आधार बलियो भए पनि मत घट्दो क्रममा छ, कांग्रेस दोस्रो स्थानमै सीमित छ, र नयाँ दल विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी मत काट्ने भूमिकामा देखिन्छ। साना दल र स्वतन्त्र उम्मेदवारले मत विभाजन बढाउने सम्भावना छ।
यदि वैकल्पिक शक्तिहरूले संगठित रूपमा मत आकर्षित गर्न सके भने कांग्रेस र एमालेलाई झट्का लाग्न सक्छ। तर मत धेरै साना दलमा छरिएमा त्यसको फाइदा अन्ततः ठूला दलले नै उठाउने सम्भावना बढी छ।
झापा–४ को निर्वाचन अब दुई दलबीचको प्रतिस्पर्धा मात्र रहेन। यो पुराना राजनीतिक शक्तिहरू र नयाँ वैकल्पिक धारबीचको परीक्षा पनि बनेको छ। नयाँ पार्टी र युवा उम्मेदवारले राजनीतिक बहसलाई ताजा बनाएका छन्, तर परिणाम परिवर्तन गर्न उनीहरू अझै एकीकृत र प्रभावकारी रणनीतिसहित मैदानमा उत्रिनुपर्ने देखिन्छ। अबको अन्तिम निर्णय भने झापा–४ का मतदाताको हातमा छ।





























