लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्व अर्थमन्त्री चुनावी प्रतिस्पर्धामा

0
13

काठमाण्डौ,

आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि देशभरबाट तीन हजार ४ सय भन्दा धेरैले उम्मेदवारी दिएका छन् । यसैक्रममा ६ जना पूर्व अर्थमन्त्री र एक पूर्व अर्थराज्यमन्त्री पनि रहेका छन् ।

पूर्व अर्थमन्त्रीसमेत रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, पाँच पटकसम्म अर्थमन्त्री बन्नुभएका निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेल, समान दुईपटक अर्थमन्त्री भएका वर्षमान पुन र जनार्दन शर्मा, विगतमा अर्थमन्त्रीको जिम्मेवारी सम्हाले पनि वार्षिक बजेट ल्याउन नपाएका ज्ञानेन्द्रबहादुर कार्की र अघिल्लोपटक समानुपातिक सांसद रहेर अर्थमन्त्री बन्नुभएका डा. प्रकाशशरण महत पनि आउँदो चुनावमा प्रत्यक्षतर्फको उम्मेदवार हुनुहुन्छ ।

६ जनामध्ये कुनै पनि पूर्व अर्थमन्त्रीले लगातार दुई आर्थिक वर्षको बजेट ल्याउन पाउनुभएन । पटक–पटक फेरिने राजनीतिक गठबन्धन र सरकार बन्ने–भत्किने श्रृङ्खला चलिरहँदा यी कुनै पनि अर्थमन्त्रीले अघिल्लो वर्षका योजना र कार्यक्रम पछिल्लो वर्ष आफै निरन्तरता दिने अवसर नपाएको अवस्था रह्यो । बजेट निर्माण गर्दा एउटा र कार्यान्वयन गर्दा अर्कैले अर्थ मन्त्रालयको नेतृत्वमा रहने क्रम पटक–पटक दोहोरियो । पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले गोरखा–दुईबाट उम्मेदवारी दर्ता गर्नुभएको छ ।

पूर्व अर्थमन्त्री वर्षमान पुनले नेपाली कम्युनिष्ट पार्टीबाट रोल्पा क्षेत्र नम्बर–१ मा उम्मेदवारी दर्ता गर्नुभएको छ । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देही–२ मा एमालेबाट उम्मेदवारी दर्ता गर्नुभएको हो ।

सुनसरी–४ मा नेपाली कांग्रेसबाट पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गृह जिल्ला रुकुम पश्चिमबाट पूर्व अर्थमन्त्री जनार्दन शर्मा र नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले नुवाकोट–१ बाट उम्मेदवारी दिनुभएको छ । पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर जबरा पनि प्रत्यक्षतर्फको उम्मेदवार बन्नुभएको छ । उहाँले ललितपुर–१ बाट उम्मेदवारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here