प्रतिनिधिसभा सदस्य निर्वाचन– २०८२ यसपटक झापाका लागि चासो र अत्यन्त प्रतिष्पर्धी हुने भएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनमा झापा जिल्लाको ५ नम्बर क्षेत्रले सबैको ध्यान समेत खिचेको छ । सो निर्वाचन क्षेत्रबाट काठमाडौं महानगरका मेयरले प्रतिष्पर्धा गर्ने भएपछि ५ नम्बर क्षेत्र सर्वाधिक चासो, उत्सुकता र चर्चाको विषय बनिएको हो । चारपटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष खड्गप्रसाद ओलीको निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको उम्मेदवारीले एकातिर सबैको ध्यान तानेको छ भने अर्कातिर एमालेलाई आफ्नो अस्तित्व रक्षाको चुनौती थपिएको छ ।

साढे तीन दशकदेखि लगातार त्यसै क्षेत्रबाट उठ्दै आएका एमाले अध्यक्ष ओली संविधानसभा सदस्य निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देनसँग पराजीत भएका थिए । त्यसबाहेक सधैँ निर्वाचन जित्दै आएका ओलीलाई यसपटकको निर्वाचन जेन–जी विद्रोहका कारण झनै चुनौतीपूर्ण बन्ने आंकलन गरिँदैछ । अघिल्लो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेर फराकिलो मतान्तरले विजयी ओलीका लागि यसपटकको निर्वाचन फलामको च्युरा हुने बताइन्छ । यद्यपि पहिलोपटक संसदीय निर्वाचनमा महानगर प्रमुख पदबाट राजीनामा दिएर प्रतिष्पर्धा गर्न आएका बालेनलाई पनि अनुमान गरे जस्तो सहज भने छैन । रास्वपाका तर्फबाट भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका बालेन त्यस क्षेत्रका लागि नयाँ अनुहार हुन् । मतदातासँग प्रत्यक्ष साक्षात्कार नभएका बालेनले कसरी मतदाताको मन जित्छन् त्यो उनको रणनीतिले देखाउला ।
झापा क्षेत्र नं. २ र ३ पनि त्यत्तिकै चर्चामा छ । २ बाट विघटित प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिष्पर्धी छन् । सो क्षेत्रबाट एमालेका देवराज घिमिरे र रास्वपाकी इन्दिरा रानाको चुनावी प्रतिष्पर्धाले पनि यस क्षेत्रको चर्चा चुलिएको हो । त्यस्तै क्षेत्र नम्बर ३ मा पूर्व उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिष्पर्धामा रहेका कारण झापाका यी क्षेत्र बढी महत्वका छन् र यहाँ रोचक भिडन्त हुने देखिन्छ । जेन–जी आन्दोलको भावना अनुरुप स्थापित राजनीतिक नेतृत्वप्रति बढेको असन्तुष्टिलाई सम्बोधन गर्न पुस्तान्तरण अनिवार्य छ । त्यसकै पूर्णताका निम्ति युवापुस्ताको राजनीतिको आकर्षणले यसपटकको निर्वाचनलाई तताएको छ । नयाँ र युवा मतदाता, स्वतन्त्र उम्मेदवारी र पार्टी राजनीतिको निर्णायक कडी या निर्वाचनले देश र जनताको हित गर्नु आमनेपालीको साझा भावना हो ।




























