झापा,

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा प्रमुख दलभित्रै असन्तुष्टि चुलिँदै गएको छ । नेपाली कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईले दल परित्याग गर्दै बालेनलाई समर्थन गरेको भोलिपल्ट नेकपा एमाले निकट युवा संघका नगर अध्यक्ष छवि खतिवडाले संगठन र पार्टी सदस्यता परित्याग गर्दै झापा–५ का राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका बालेन्द्र शाह ‘बालेन’लाई समर्थन गर्ने घोषणा गरेका छन् ।
झापा क्षेत्र नम्बर ५ मा पर्ने कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमा काँग्रेस कमल गाउँपालिकाको सचिव र साधारण सदस्यसमेतबाट राजीनामा गरेको जनाएका हुन् ।
यसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको परम्परागत पकड रहेको क्षेत्रमा राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका अध्यक्ष खतिवडाले संगठन र पार्टी सदस्यता परित्याग गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
उनले स्टाटसमा माघ ७ गतेदेखि आफूले युवा संघको अध्यक्ष र एमालेको संगठित सदस्य पद छाडेको उल्लेख गरेका छन् । ‘परिवर्तनलाई आत्मसात् गर्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउने निर्णय गरेको छु,’ उनले लेखेका छन् ।
उनले अब कुनै दलमा आबद्ध नरही स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेकोसमेत बताएका छन् । झापा–५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली उम्मेदवार बनेका बेला संगठनभित्रैबाट आएको यो परित्यागलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यस्तै, नेपाली कांग्रेसभित्र पनि असन्तुष्टिको स्वर सार्वजनिक हुन थालेको छ । कांग्रेसका दमक नगर सभापति प्रसाई, कमल गाउँ समिति सचिव बुढाथोकी समेतले पार्टीको आन्तरिक निर्णयप्रति असहमति जनाउँदै पद र सदस्यता परित्याग गरेका छन् ।
दलका जिम्मेवार तहबाटै एकपछि अर्को परित्यागको घटना सार्वजनिक हुन थालेपछि झापा–५ मा यसपटकको निर्वाचन परम्परागत दलको पकडभन्दा बाहिर जान सक्ने स्थानीयले आँकलन गर्न शुरु गरेका छन् ।
संगठनभित्रको असन्तुष्टि र दलत्यागको लहरले झापा–५ को चुनावी प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ । झापा ५ मा नेकपा एमालेका अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाह सहित २४ जनाले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । झापामा बालेनको सक्रियता बढ्यो, राना मगरसँग समन्वयात्मक भेटवार्ता प्रतिनिधिसभा निर्वाचनको प्रचार अभियान तीव्र बन्दै जाँदा झापा–५ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह चुनावी समन्वयमा व्यस्त देखिएका छन् ।
उम्मेदवारी दर्तालगत्तै उनी पार्टीका अर्का उम्मेदवार तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरसँग भेटघाट र छलफलमा जुटेका छन् । झापा–५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहले झापा क्षेत्र नम्बर २ का उम्मेदवार तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरसँग भेट गरी निर्वाचनका विषयमा छलफल गरेका छन् ।
हिजो दमकमा उम्मेदवारी दर्ता गराएपछि साँझ बिर्तामोड आएका बालेन आज बिहान राना मगरसँग भेट गर्दै चुनावी रणनीति, संगठन विस्तार र क्षेत्रगत समन्वयका विषयमा कुराकानी गरेका हुन् । भेटमा राना मगरको चुनावी अभियानलाई प्रभावकारी बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको एकजना सहयोगीले बताए ।
सहयोगीका अनुसार राना मगरलाई सहयोग गर्न बालेनसहितको टोली झापा आएको हो । पार्टीभित्र उम्मेदवारहरूबीच समन्वय बढाउँदै साझा रणनीतिमा अघि बढ्ने उद्देश्यले यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
बालेनले झापामा निर्वाचनको माहौल बनाउन पार्टी कार्यकर्तासँगै आफ्ना शुभेच्छुक र समर्थकहरूसँग भेटघाटलाई तीव्र पारेका छन् । पेशाले इन्जिनियर रहेका उनलाई झापाका इन्जिनियर समुदायले समेत सहयोग गर्ने तयारी गरेका छन् ।
हिजो साँझ बिर्तामोड–१ स्थित निश्चल बस्नेतको निवासमा बसेका बालेन आज बिहान दमकतर्फ प्रस्थान गरेका छन् । आगामी दिनमा उनी झापा–५ का विभिन्न स्थानमा मतदाता भेटघाट र संगठनात्मक कार्यक्रमलाई निरन्तरता दिने तयारीमा छन् ।






























