
नेपाली भाषा साहित्यमा खासगरी आफ्नो पूर्ण परिचय प्राप्त गर्नका लागि आफ्नो सांस्कृतिक पहिचान, भाषा र रीतिथिति अङ्गीकार गरेको हुनुपर्छ भनेर प्रष्टसँग बोल्नु हुने स्वाभिमानी, भाषा, साहित्य र कला, संस्कृतविद्को नाम हो– डा. सत्यमोहन जोशी । उहाँको योगदान र विशेषता अध्ययन, अनुसन्धान र प्रकाशनमा थुप्रै अध्येताहरु र लेखकहरु लागीरहेका छन् ।
२०१३ सालमा ‘हाम्रो लोक संस्कृति’मा पहिलो मदन पुरस्कार प्राप्त गर्नु भई अब गाउँ, घर, सभ्यता र संस्कृतिका अलिखित घटना र सन्दर्भहरु प्रकाशमा ल्याउनुमा नै आफ्नो कार्य क्षेत्र ठानी सन्तोषको सास फेर्दै नेपालको इतिहासमा तीन पटकसम्म मदन पुरस्कार प्राप्त गरी आफ्नो नाम रच्न सफल हुने बरिष्ठ साहित्यकार हुनुहुन्छ सत्यमोहन जोशी ।
जीवनप्रतिको सकारात्मक सोचमाथि आफ्नो निडर, स्पष्टवक्ता र हक्की स्वर बोल्न सामर्थ राख्ने नेपाली साहित्यका अमूल्य निधी हुनुहुन्छ जोशी । नेपाली भादगाउँले टोपी, पुरानैशैलीको दौरा–सुरुवाल र कोटमा आफ्नो पहिचान देखाउन सफल हुनुभएको जोशीको आजभन्दा करिब पाँच बिस पुग्न लाग्नुभएका ललितपुरको बखुबहालमा वि.सं. १९७७ साल बैशाख २० गते जन्म भएको थियो ।
पिता शंकरराज जोशी र माता राजकुमारी जोशीको पहिलो सन्तानको रुपमा जन्मनुभएको जोशीको पाँच बर्ष हुँदासम्म पनि बोलि नफुटेर उहाँका माता–पिताले विभिन्न देवी–देवताको शरणमा गएपछि विस्तारै बोल्न थाल्नुभएको थियो भन्ने भनाइ छ । कलेजको पढाई सकेर थोरै तलबमा अरुकै सहयोगबाट काठमाडौं तथा विभिन्न ठाउँमा काम गर्दै पछि आफ्नो कार्य क्षेत्र अन्तर्गत तनहु जानु भयो । त्यहाँ जाँदा भर्खर विवाह गर्नुभएको थियो र कहिले पनि उहाँ उपत्यका बाहिर नजानु भएकोले पहिलो पटक उहाँलाई उपत्यका बाहिर गएर काम गर्दा शुरुमा निक्कै गाह्रो, अप्ठेरो र विरक्त लागेको थियो । नचिनेको ठाउँ, सबै नयाँ अनुहार देख्दा बिरक्त लाग्नु स्वभाविक नै थियो । रहँदै–बस्दै जाँदा पछि गाउँले भाका, रोदी, दोहोरी र बालनमा आफ्नो मन रम्न थाल्यो । बिस्तारै त्यहाँको परिस्थिती टपक्कै टिपेर गाउँका दिदीबहिनीहरुले गाउने लोकभाकालाई लिपिबद्ध गरेर २००३ सालमा शारदा पत्रिकामा प्रकाशित गर्नुभयो ।
पछि आफूले लेखेका बिभिन्न पान्डुलिपिहरुलाई काँटछाँट गरेर ‘हाम्रो लोक संस्कृति’ नामको पाण्डुलिपि तयार पार्नु भयो । सोही पान्डुलिपिलाई २०१३ सालमा स्थापना भएको मदन पुरस्कारले पहिलो पुरस्कार यसै पाण्डुलिपिलाई दिएर उहाँ नेपालको इतिहासमा मदन पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्तिको रुपमा स्थापित हुनु भयो । २०१५ सालमा निर्वाचित सरकारको पालामा स्थापना भएको ‘पुरातत्व र संस्कृति विभाग’को उहाँ पहिलो निर्देशक बन्नुभयो र उहाँले त्यस विभागमा रहनुहुँदा २०१६ सालमा राष्ट्रिय नाचघरको जग्गा एक लाख ३७ हजार रुपैयाँमा खरिद गरेर नाचघरको नामकरण गरी स्थापना गर्नुभयो । उहाँले त्यस समयमा पाटन पुरातात्विक बगैंचा, भक्तपुर कला संग्रहालय, पुरातत्व संग्रहालय तौलिहवाको स्थापना गर्नुभयो भने राजा मानदेवदेखिको राजा महेन्द्रसम्मको नेपाली मुद्राको सफल प्रदर्शनी समेत गर्नुभयो ।
२०१६ सालमा नेपालको पाँचौं शताब्दीदेखि २०आंै शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको ‘राष्ट्रिय नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशित गर्नुभयो । सोही पुस्तकले २०१७ सालको मदन पुरस्कार प्राप्त ग¥यो र उहाँले यो दोस्रो पटक मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । २०१७ सालमा उहाँले रत्न पुस्तक भण्डारबाट ‘नेपाली बर्णमाला’ प्रकाशित गर्नुभयो र सो पुस्तक धेरै लोकप्रिय भएर चौथो संस्करणसम्म निकाल्नु परेको थियो । २०१९ सालमा चिनियाँ सरकारको सहयोगमा चिनियाँ जनतालाई नेपाली भाषा सिकाउनुपर्ने कार्यक्रमका लागि आबेदन माग भएकोमा उहाँ नै छानिनु भयो र चार वर्षसम्मका लागि चीन प्रस्थान गर्नुभयो ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कुलपतिमा केदारमान व्यथित हुनुभएको समयमा उहाँलाई सह सदस्यमा मनोनित गरिएको थियो । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान आबद्ध भएपछि नेपाली भाषा, साहित्यको विकासका लागि केही ठोस कार्य गर्ने जमर्को गर्नुभयो । त्यसैको फलस्वरूप नेपाली भाषाको उद्गम स्थल कर्णाली अञ्चलको सिंजा उपत्यका गएर त्यहाँको भाषिक, सांस्कृतिक, भौगोलिक, सामाजिक र जातीय अध्ययन गरी कर्णाली सिंजा उपत्यकामा नेपाली भाषाको उत्खनन् सम्बन्धी विस्तृत अध्ययन गर्न एउटा टोलीको गठन गर्नुभयो ।
सो टोलीमा स्थिर जंगबहादुर सिंह, बिहारीकृष्ण श्रेष्ठ, चुडामणि बन्धु र प्रदिप रिमाल थिए । थुप्रै अथक परिश्रम र मिहिनेतले त्यस टोलीले पाँच खण्डको एक ग्रन्थ तयार पारेर सो ग्रन्थलाई ‘कर्णाली लोक संस्कृति’ नामकरण गरियो । सोही ग्रन्थले पनि २०२८ सालको मदन पुरस्कार प्राप्त गर्न सफल भएको थियो । यो पुरस्कार समेत गरी उहाँ तेस्रो पटक मदन पुरस्कारबाट पुरस्कृत हुनु भयो ।
सूर्यविक्रम ज्ञवाली २०३० सालमा कुलपति भएपछि उहाँ प्रतिष्ठानको सदस्य सचिवमा मनोनित हुनु भएलगत्तै नेपाली नाटकको विकास गर्नका लागि फर्केर हेर्दा, सपना ब्यूँझन्छ, जब घाम लाग्छको सफल नाटक मञ्चन मात्र गर्नुभएन दार्जिलिङ्गको चर्चित नाटक मनबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’ जस्ता कर्णप्रिय नाटकहरु जनमानसमा प्रस्तुत गर्नुभयो र बिस्तारै नाटकको विकासको साथसाथै धेरै आर्थिक लाभ पनि प्रतिष्ठानले प्राप्त ग¥यो ।
भद्र, शालीन एवम् सरल जीवनका प्रतीक आदरणीय जोशीले २०३६ सालमा पुनः भाषा प्राध्यापनको लागि चीन दुई वर्षका लागि प्रस्थान गर्नुभयो र सोही समयमा नेपालका प्रख्यात कलाकार अरनिकोको बारेमा विस्तृत अध्ययन गर्नु भयो र फलस्वरूप उहाँले ‘कलाकार अरनिको’ नामक अनुसन्धानमूलक कृति नेपाली भाषा र नेपाल भाषामासहित प्रकाशित गर्नुभयो ।
उहाँको नेपाल भाषामा लेख्नुभएको अर्को पुस्तक ‘जय प्रकाश’ले नेपाल भाषाको प्रसिद्ध पुरस्कार ‘श्रेष्ठ सिरपा’ पुरस्कार प्राप्त गर्नुभएको थियो ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले चीनबाट नेपाल २०३८ सालमा फर्किएपछि उहाँले त्रिभुवन विश्वविद्यालय केन्द्रिय विभागमा नेपाल भाषाको प्राध्यापन गर्न थाल्नु भयो । यो उमेरमा पनि उहाँ अहिले विभिन्न संघ–संस्थामा आबद्ध हुनुभयो । नेपाल भाषा प्रतिष्ठान किर्तिपुरको अध्यक्ष, नेपाल म्युजिक सेन्टर गौशाला र नेपाल आर्ट काउन्सिलको पनि अध्यक्ष हुनुहुन्थ्यो । उहाँको अमूल्य सिर्जनाहरुमा बाघ भैरब, मृत्यु एक प्रश्न, सिपाही र रैती, दैलाको बत्ती, गुलाब र गुराँस, पुरातत्व एक रोचक कथा, नेपाली लोक गीत एक अध्ययन, नेपाली धातु मूर्ति विकास क्रम, नेपाली चाड पर्व जस्ता अनेकौं पुस्तकहरु प्रकाशित छन् ।
नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकासमा लागिपरेको हुनाले उहाँको योगदानको कदरस्वरूप शताब्दी पुरुष सत्यमोहन जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । तीन पटकसम्म मदन पुरस्कार जित्न सफल हुनुभएका जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।
स्मरणका लागि वाङ्मय शताब्दी पुरूष डा. सत्यमोहन जोशी र उहाँकी पत्नी राधादेवी जोशीले २०७७ साल माघ ३० गते नइ प्रकाशनद्वारा आयोजित ‘शरीर दान घोषणा सभा’मार्फत चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आ–आफ्नो शरीर दानको घोषणा गर्नुभएको थियो । राष्ट्रका महान इतिहास एवम् संस्कृतविद् आदरणीय व्यक्तित्व सत्यमोहनको १६ अक्टोबर २०२२ का दिन १०३ वर्षको उमेरमा निधन भएको हो ।




























