नेपाल व्यवसायी संघ कतारको दोस्रो वार्षिक साधारण सभामा स्मारिका विमोचन

0
7

कतार,

नेपाली दूतावास कतारका मिनिस्ट्री काउन्सिलर तथा का.वा. राजदूत कुमार राईले कतारमा श्रमिकका रूपमा आएर आफ्नो पौरख देखाउँदै श्रमिकबाट सफल व्यवसायी, रोजगारदाता तथा लगानीकर्ता बन्नु गौरवको विषय रहेको बताएका छन् ।

शनिबार साँझ दोहाको एक होटेलमा सम्पन्न नेपाल व्यवसायी संघ कतार एलएलसी (जी)को २०२४-२८ कार्यकालको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । “नेपालमा राष्ट्रिय विपत्तिहरू आइपर्दा सत्यताका साथ आफ्नो जन्मभूमिलाई धेरै सहयोग गर्दै गुन लगाएका छन्” उनले भने ।

कार्यक्रममा विमोचित स्मारिकामा ‘संघर्षबाट समृद्धितर्फ’ तर्फ इङ्गित गर्दै राईले व्यवसायीमा विविधता देखिएको बताए । वर्तमान समय आर्थिक समृद्धिको युग भएको हुँदा नेपाल सरकारले पनि आर्थिक कूटनीतिलाई महत्त्व दिएको हुँदा नेपालको सामाजिक आर्थिक रूपान्तरण गर्नका लागि जलविद्युत तथा पर्यटन क्षेत्र लगानीका लागि महत्त्वपूर्ण क्षेत्र रहेको बताउँदै दूतावासले व्यवसायीहरू मिलेर काम गर्न प्रतिबद्ध रहेको उनले बताए ।

संघको पहिलो वार्षिक साधरण सभाबाट गठित लगानी प्रवर्धन उपसमितिका संयोजक तथा संघका उपाध्यक्ष राज रेग्मीले समितिको एक वर्षे कार्यप्रगति र नेपालमा लगानी भित्र्याउने उद्देश्यले दर्ता गर्न लागिएको कम्पनी ‘एनबिक्यु इन्भेस्टमेन्ट कम्पनी प्रालि’ को प्रबन्ध पत्र पनि सार्वजनिक गरेका थिए । कार्यक्रममा आफ्नो धारणा राख्दै संघका उपाध्यक्ष तथा कतारका लागि नेपाल सरकारका पर्यटनदूत राजेन्द्र कुमार (आरके) शर्माले व्यवसायमा उतारचढाव हुने हुँदा कुनै पनि व्यक्ति १० वर्षसम्म व्यवसायमा टिक्न सक्यो भने त्योसँग व्यवसाय गर्ने क्षमता रहेको पुष्टि हुने बताए । उनले कतारमा पनि होल्डिङ कम्पनी स्थापनाको आवश्यकता बारेमा धारणा राखेका थिए । उनले संघले नेपालमा कम्पनी खोल्दै गर्दा इक्युटी र भेन्चर दुबैमा स्पष्ट हुन आवश्यक रहेको बताए ।

संघका संरक्षक बद्रीप्रसाद पाण्डेले बजार सदैव मुभ हुने हुँदा व्यवसायका लागि बजारको अध्ययन गर्नुपर्ने बताउँदै बजारमा काम पाउँछ कि भनेर कम्पनीमा मान्छे होल्ड गर्दा ठुलो धनराशि खर्च हुने भएकाले कामदारलाई होल्ड नगर्न सुझाव दिए । उनले आफूलाई अनुभव नभएको क्षेत्रमा लगानी गर्दा डुब्ने खतरा हुने हुँदा नयाँ र समस्यामा परेका व्यवसायीलाई आवश्यक स्कुलिङ गर्न अनुरोध गरे । संघका सल्लाहकारका तर्फबाट सल्लाहकार सागर नेपालले आफ्नो धारणा राख्दै स्मारिका निकै नै महत्त्वपूर्ण रहेको बताए । संघका कोषाध्यक्ष चूडामणि कार्कीले आयव्यय र महासचिव शंकरप्रसाद न्यौपानेले एक वर्षको कार्यप्रगति विवरण पेस गरेका थिए ।

न्यौपानेसहित सचिव राजेन्द्र देवकोटाले सहजीकरण गरेको सभालाई समापन गर्दै संघका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष महेन्द्र प्रसाद चम्लागाईंले स्मारिकामा कतारमा संघर्षका कथाहरूसहित सफलताको कथा पनि समेटिएको बताउँदै आगामी संस्करणलाई यस पटक छुटेका व्यवसायीहरूलाई पनि समेट्ने बताए । संघ मूल उद्देश्य अनुरूप नै अगाडि बढेको बताउँदै चम्लागाईंले संघ कुनै एक अमुक व्यक्ति तथा सीमित समूहको संस्था नभई कतारमा रहेका सम्पूर्ण नेपाली व्यवसायीहरूको साझा संस्था रहेको बताए । संस्थालाई थप प्रभावकारी, मजबुत र दीर्घकालीन बनाउन सबै व्यवसायीहरूको साथ, सल्लाह, सुझावसहित सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै आगामी दिनमा नेपाल तथा नेपाली व्यवसायीहरूको हितलाई सर्वोपरि राख्दै संघलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममार्फत नेपाली नियोगका प्रथम सचिव अमर राई, श्रम सहचारी प्रेम पोखरेल, तृतीय सचिव रोजिना ढकाल र सहचारी शोभाखर बराललाई स्वागत गरिएको थियो । कार्यक्रममा अन्य व्यक्तिहरूले कतारमा नेपाली विद्यालय स्थापनाका लागि दूतावासले पहल गर्नुपर्ने सुझावात्मक धारणा राखेका थिए भने संघका उपाध्यक्ष नरेन्द्र भाटले संघ स्थापना गर्नुपर्ने आवश्यकताका बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम शनिबार साँझ दोहाको एक होटेलमा सम्पन्न भएको हो ।

के छ स्मारिकामा ?

संघका स्थापनाकालदेखि हालसम्मका सबै गतिविधि समेटिएको ‘संघर्षबाट समृद्धितर्फ’ पुस्तकमा कतारमा नेपाली व्यवसायीहरूले बगाएको पसिना, भोगेको संघर्ष र प्राप्त गरेको सफलताको कथा छ । नेपालका फरक-फरक जिल्लाबाट श्रमिककै रूपमा कतार आएर आफूलाई व्यवसायीका रूपमा स्थापित गरेका ६७ जना व्यवसायीको व्यावसायिक गाथा पढ्न पाइन्छ ।

१६० भन्दा बढी पेज समावेश पुस्तकमा संघका महत्त्वपूर्ण फोटोको संग्रह, विभिन्न शुभकामनाहरू समेटिएका छन् । स्मारिकालाई रोजगार मिडिया प्रालिका प्रबन्ध निर्देशक उद्धव भट्टराईले सम्पादन संयोजनका रूपमा अन्तिम रूप दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here