अर्जुनधारा ।

लागूऔषध बिरुद्ध युवा खेलाडीहरुको प्रबद्र्धन गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकामा आइतबारदेखि अन्तरपालिका यु–१८ नकआउट फुटबल प्रतियोगिता–२०८२ सुरु भएको छ ।
अर्जुनधारा–८स्थित शनिश्चरे फुटबल क्लबको आयोजना र अर्जुनधारा नगर खेलकुद विकास समितिको सहआयोजनामा अर्जुनधारा–७ स्थित अर्जुनधारा खेलमैदानमा सुरु भएको उक्त प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथि झापा–११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा अर्जुनधारा नगरपालिकासहित कनकाई नगरपालिका, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाँउपालिका, बा¥हदशी गाँउपालिका र बुद्धशान्ति गाँउपालिकाको सहभागिता रहेको छ । यही माघ १९ गते फाइनल रहेको प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश एक लाख र ५० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

आयोजक क्लबका सल्लाहकार एवम् खेल संयोजक टेकराज तिलिङको अध्यक्षतामा आयोजित कार्यक्रममा एवान डान्स एकाडेमीका कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । अर्जुनधारा नगर खेलकुद विकास समितिका सदस्य सचिव खगेन्द्र लिङदेनले स्वागत गरेको प्रतियोगिता उद्घाटन कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दिपक ढुंगानाले गरेका थिए ।
त्यसैगरी सोही दिन सम्पन्न भएको उद्घाटन खेलमा बिर्तामोड नगरपालिकालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै कमल गाँउपालिका विजयी भएको छ । निर्धारित समयमा दुवै टिमबाट २–२को बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । खेलमा बिर्तामोडको लागि खेलको तेस्रो र २७औं मिनेटमा क्रमश शिव कार्की र आयुष दुतराजले तथा कमलको लागि खेलको ४५औं र ५०औं मिनेटमा प्रकरण राईले दुवै गोल गरेका थिए ।

उद्घाटन खेलको उत्कृष्ट खेलाडी विजेता टिमका प्रकरण राई भएका थिए । उनलाई अर्जुनधारा–७का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर धिमाल, निर्माण व्यवसायी मिलन बस्नेतलगायतले नगद पुरस्कार दुई हजार पाँच सयसहित ट्रफी प्रदान गरेका थिए ।
भोलि(सोमबार)को खेल दिँउसो २ः३० बजे कनकाई नगरपालिका र बा¥हदशी गाँउपालिकाबीच हुने आयोजक क्लबका सचिव हरि गुरुङले जानकारी दिए ।


























