सुन्दरहरैंचा(मोरङ),

मोरङको सुन्दरहरैंचा – ५ मा अवस्थित पूर्वाञ्चल पब्लिक स्कुलको भाइस प्रिन्सिपल पदमा भीम बहादुर राई नियुक्त भएका छन्। विद्यालय व्यवस्थापन समितिको हालै सम्पन्न बैठकको निर्णयअनुसार राईलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।
शिक्षण क्षेत्रमा लामो अनुभव र शैक्षिक नेतृत्व क्षमता रहेका राईले यसअघि पनि विभिन्न शैक्षिक संस्थामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासन प्रवर्द्धन तथा विद्यार्थी–केन्द्रित शिक्षण प्रणालीलाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित उनलाई जिम्मेवारी दिइएको विद्यालय का प्रिन्सिपल सन्तोष कुमार राईले जानकारी दिए।
उनको कार्यकालमा विद्यालयको शैक्षिकसँगसँगै व्यवस्थापकीय सुदृढीकरण तथा आधुनिक शिक्षण पद्धतिको प्रभावकारी कार्यान्वयनमा उनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको प्रिन्सिपल राईले बताए। नवनियुक्त भाइस प्रिन्सिपल राईले विद्यालयको समग्र विकासमा आफू प्रतिबद्ध रहने बताउँदै शिक्षक, अभिभावक तथा विद्यार्थीहरूसँग सहकार्य गर्दै शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
उनको नियुक्तिपछि विद्यालय परिवार, शिक्षक–कर्मचारी, अभिभावक तथा शुभेच्छुकहरूबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् भने विद्यालयका अध्यक्ष मोहन प्रसाद ढकालले पनि उनको कार्यकालमा शैक्षिक उपलब्धि अझ मजबुत हुने विश्वास व्यक्त गर्दै सफल र प्रेरणादायी नेतृत्वको कामना गरेका छन्।
विद्यालयले कक्षा १ देखि १० सम्मै स्मार्ट कक्षा संचालन गरिरहेको छ। पछिल्लो समय विद्यालयले डिजिटल स्मार्ट बोर्ड मार्फद सिकाइ प्रणालीका माध्यमबाट सुन्दरहरैंचा क्षेत्रकै नमुना विद्यालयको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ।






























