बचत तथा ऋण सहकारी संघ झापामा पद हस्तान्तरण

0
10

झापा, बचत तथा ऋण सहकारी संघ झापाको नवनिर्वाचित कार्य समिति तथा लेखा सुपरिवेक्षण समितिलाई पद हस्तान्तरण गरिएको छ ।

संघको आगामी चार वर्षे कार्यकालका लागि युवराज गिरीको नेतृत्वमा निर्वाचित कार्यसमिति र लेखा सुपरिवेक्षण समितिलाई सोमबार बिर्तामोडमा आयोजित विशेष समारोहबीच सपथग्रहणसहित औपचारिक रूपमा पद हस्तान्तरण गरिएको हो ।

संघका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा सम्पन्न सपथग्रहण कार्यक्रममा नेफस्कोनका महासचिव धनश्याम अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिए । निर्वाचन समिति संयोजक देवेन्द्र भण्डारीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । प्रमुख अतिथि अधिकारी, जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार सापकोटा तथा वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उद्घाटन सत्र निवर्तमान अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने दोस्रो सत्र नवनिर्वाचित अध्यक्ष युवराज गिरीको अध्यक्षतामा सञ्चालन गरिएको थियो । कार्यक्रम सञ्चालन संघकी व्यवस्थापक कोपिला बजगाँई र सचिव विनोद ढकालले संयुक्त रूपमा गरेका थिए ।

संघको अध्यक्ष पदमा निर्वाचन भएको थियो भने अन्य पदहरू सर्वसम्मत रूपमा चयन गरिएको संघले जनाएको छ ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा यामकुमार चुडाल, महिला उपाध्यक्षमा सुशिला रिजाल, सचिवमा विनोद ढकाल तथा सदस्यहरूमा हिमालय प्रकाश लिम्बु कन्दङ्वा, महेश घिमिरे, मित्रलाल खनाल, उमाकान्त आचार्य र संगीता कोइराला सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा जगन्नाथ भट्टराई तथा सदस्यहरूमा गायत्रीप्रसाद मैनाली र डिल्लीराम ढकाल सर्वसम्मत निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here