गलेश्वर (म्याग्दी),

सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ विसं २०३७ देखि भाँडाको भारी बोकेर म्याग्दीका गाउँमा पुगी पुराना भाँडासँग साट्ने तथा बिक्री गर्ने काम गर्दै आउनुभएका छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का फूलबहादुरसहित अन्य तीन जना व्यापारीले भाँडा बिक्री गर्न ४५ वर्षदेखि घुमन्ते जीवन बिताइरहनुभएको हो ।
धादिङका चेतबहादुर विक र विसु गुरुङ पनि तामाङसँगै पिँठ्यूमा डोकाभरि भाँडा बोकेर बिक्री गर्न म्याग्दीको सदरमुकाम बेनीसहित यहाँका छवटै स्थानीय तह सबै बस्तीमा पुग्ने गरेका विसु गुरुङले बताउनुभयो । उहाँहरूले पर्वतको अर्मादीमा भाँडाभण्डारण गरेर राख्नुभएको छ ।
गाउँमा तीन छोरा र श्रीमती भएका तामाङलाई आफ्ना पुर्खाले कहिलेदेखि घुमन्ते व्यापार गर्न थालेका हुन् भन्ने यकीन छैन । तर, पनि बाबुबाजेको पालादेखि यही पेसा गर्ने गरेकाले आफूले पनि निरन्तरता दिएको फूलबहादुरले बताउनुभयो । पहिलो पटक १४ वर्षको उमेरमा बाबासँग भाँडा बोकेर व्यापारमा निस्केका तामाङ अहिलेसम्म पनि त्यही पेसामै हुनुहुन्छ ।
गुरुङ मङ्सिरको अन्तिम साता धादिङबाट पर्वतको अर्मादी आउनुभएका थियो । आफ्नो समूहले चैतको पहिलो सातासम्म यही क्षेत्रमा व्यापार गरेपछि पुनःगाउँ फर्केर अर्को ठाउँमा व्यापारका लागि हिँड्ने योजना बनाउने गरेको उहाँले जानकारी दिनुभयो ।
डोकोमा नयाँ भाडा ल्याएर गाउँमा गएर कोही बेच्ने कोही साट्ने गर्ने सिन्धुपाल्चोकका व्यापारीको पुस्तेनी काम हो । “आफ्नो नयाँ सामान र ग्राहकसँगको पुरानो सामानको पनि मूल्य निर्धारण गर्छौँ र बराबर मूल्य परेमा पुरानो लिएर नयाँ सामान दिन्छौँ । यदि मूल्य नयाँको कम परेमा आफूहरूले दिने र पुरानोको कम भएमा ग्राहकसँग रकम लिएर साट्ने गरिन्छ”, उहाँले भन्नुभयो ।
गुरुङले व्यापार पहिला जस्तो नभएकाले आम्दानी पनि घटेको बताउनुभयो । वर्षमा एकपटक पर्वत, बागलुङ, म्याग्दीलगायत क्षेत्रमा व्यापारका लागि आउने जनाउँदै उहाँले सबै खर्च कटाएर मासिक रु २० देखि २५ हजारसम्म जोगिने उल्लेख गर्नुभयो ।
आधुनिक प्रविधिको विकाससँगै मानिस छिटो र भरपर्दो सेवाको प्रयोगमा लाग्छन् । आफ्ना आवश्यकता परिपूर्ति गर्न आधुनिक स्रोतसाधनको प्रयोग बढेको छ । सडक यातायातको विकासले गाउँघरमै सुविधा पाएपछि ग्रामीण क्षेत्रका स्थानीय बासिन्दा आफैँ बजार झरेर नयाँ भाँडा किन्ने गर्छन् ।
केही वर्षअघिसम्म पुराना भाँडा सबैका घरघरमा देखिन्थे । भाँडा साटफेर गर्नेहरु गाउँगाउँमा भाँडा साट्दै हिँड्ने गर्दथे । आजभोलि गाउँघरतिर डोकोमा भाँडो बोकेर हिँडेको बिरलै भेटिन्छन् ।





























