बाल्मिकीको सांस्कृतिक कार्यक्रममा विद्यार्थीको उत्कृष्ट प्रस्तुति

0
45

बिर्तामोड ।

बिर्तामोड–१ स्थित बाल्मिकी एजुकेशन फाउण्डेशनले ‘अनेकतामा एकता’ भन्ने प्रकरणका साथ विद्यार्थीको प्रतिभा प्रष्फुटनका लागि विविध सांस्कृतिक कार्यक्रम शुरु गरेको छ ।

बुधबार विद्यालयका संस्थापक तथा राष्ट्रिय सभाका सदस्य गोपालकुमार बस्नेत, प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरी र विद्यालयका निर्देशक आनन्दकुमार बस्नेतले कार्यक्रमको संयुक्तरुपमा उद्घाटन गरे ।

बुधबार कक्षा नर्सरीदेखि कक्षा २ सम्मका बालबालिकाले विविध प्रस्तुति दिएका थिए । बिहीबार कक्षा ३ देखि ५ सम्म र त्यसपछि अन्य कक्षाका विद्यार्थीको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ ।

कार्यक्रमका अध्यक्ष समेत रहेका विद्यालयका संस्थापक बस्नेतले ‘सबै राम्रो जति तपाईकै नानीलाई’ भन्ने नारासहित २०६० सालमा स्थापना गरिएको बाल्मिकी एजुकेशन फाउण्डेशनले अभिभावकको विश्वास र साथका कारण मुलुकको शिक्षा प्रणालीमा योगदान गरिरहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि गिरीले मञ्चमा उभिएर आफ्नो प्रतिभा प्रस्तुत गर्ने साना–साना नानीहरुले गरेको उत्कृष्ट प्रस्तुतिको प्रशंसा गरे । विद्यालयका प्रिन्सिपल पवन  गिरीले अभिभावक र विद्यालय टिमको विश्वास र साथले बाल्मिकी अघि बढेको बताए ।

साना विद्यार्थीले विभिन्न सांस्कृतिक नृत्यका साथै फेसन शो र सन्देशमूलक नाटक समेत प्रदर्शन गरेका थिए । विद्यालयकी प्रि प्राइमरी इञ्चार्ज एन्जिला क्षेत्रीले स्वागत गरेको कार्यक्रम शिक्षक सीतादेवी नेपाल, जीवन आचार्य तथा विद्यार्थीले संयुक्त रुपमा सञ्चालन गरेका थिए । कार्यक्रममा अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो । विद्यालयकी प्राइमरी इञ्चार्ज गीता ढुङ्गानाले धन्यवाद ज्ञापनसहित समारोहको समापन गरेकी थिइन् ।

त्यस अवसरमा विद्यालयकी सहनिर्देशक मनिषा बस्नेत, बाल्मिकी लिंकन कलेजका निर्देशक किशोर बस्नेत, बाल्मिकी प्लस टू का संयोजक महेन्द्र खवास, भाइस प्रिन्सिपल सुबोध लामा, बाल्मिकीका लेखा प्रमुख त्रिलोकी दास लगायतको सहभागिता रहेको थियो ।

विद्यालयले बालबालिकाको प्रतिभालाई प्रोत्साहन गर्न वार्षिक रुपमा यस्ता कार्यक्रम गर्दै आएको बताइएको छ । बाल्मिकीले खेल्दै, गाउँदै, नाच्दै, रमाउँदै सिक्ने प्रक्रियालाई अघि बढाएको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here