झापा, झापाका विभिन्न स्थानमा महिला स्वास्थ्य र मानसिक सशक्तीकरणमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै रोर्याक्ट क्लब अफ बिर्तामोडले समाजमा स्वास्थ्य सचेतना फैलाउने अभूतपूर्व कदम चालेको छ ।
क्लबले पछिल्ला दिनहरूमा दुईवटा महत्वपूर्ण कार्यक्रम आयोजना गरेको छ, जसले स्वास्थ्य र मानसिक सन्तुलनमा महिलाको भूमिका र युवाको सक्रिय सहभागितालाई जोड दिएको छ।
कमल गाउँपालिका–५ स्थित स्वास्थ्य चौकीमा सम्पन्न पाठेघर क्यान्सर सचेतना तथा स्क्रिनिङ कार्यक्रममा महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिइएको थियो ।
कार्यक्रममा सहभागी महिलालाई पाठेघर क्यान्सरको प्रारम्भिक लक्षण, जोखिम, रोकथाम र समयमै परीक्षणको महत्वबारे विस्तृत जानकारी प्रदान गरियो। महिलालाई स्वास्थ्य परीक्षण (स्क्रिनिङ) सेवा समेत उपलब्ध गराइएको थियो।
प्रशिक्षक डा. जेनी मण्डलले कार्यक्रमका क्रममा महिलाको मानसिक स्वास्थ्यमाथि केन्द्रित प्रशिक्षण दिइन् । उनले शारीरिक स्वास्थ्यसँगै मानसिक सन्तुलन, आत्मविश्वास, तनाव व्यवस्थापन र सामाजिक सहयोगको महत्वबारे प्रकाश पार्दै सहभागीलाई सचेत गराइन्।
रोर्याक्ट क्लब अफ बिर्तामोडका अध्यक्ष सुशील थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय स्वास्थ्यकर्मी, क्लबका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। क्लबले विभिन्न साझेदार संस्थाको सहयोगमा कार्यक्रम सफल भएको जानकारी पनि सार्वजनिक गरेको छ।
यसअघि क्लबले युवामाझ मानसिक स्वास्थ्य सचेतना अभिवृद्धि गर्न बिर्तामोडस्थित निधि कलेजमा कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा प्रशिक्षक डा. जेनी मण्डलले तनाव व्यवस्थापन, भावनात्मक स्वास्थ्य र युवाहरूले अपनाउन सक्ने सकारात्मक व्यवहारगत परिवर्तनसम्बन्धी जानकारी दिइन्। कार्यक्रममा च्याट युवा फ्रन्टका अध्यक्ष अमरजित साह र निधि कलेजका प्रमुख रञ्जित कुमार साह विशेष अतिथि थिए भने स्वागत मन्तव्य लक्ष्मीनारायण साहले दिएका थिए।
रोर्याक्ट क्लब अफ बिर्तामोडले स्वास्थ्य र मानसिक सशक्तीकरणमा केन्द्रित कार्यक्रमहरू मात्र सञ्चालन गरेको छैन, यो युवामा सामाजिक उत्तरदायित्व र समुदायमा जागरुकता बढाउने एउटा प्रभावकारी माध्यमको रूपमा उभिएको छ। क्लबका अध्यक्ष सुशील थापाले आगामी दिनमा पनि स्वास्थ्य, सचेतना र युवामुखी सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
महिलाको स्वास्थ्य र युवाको मानसिक सशक्तीकरणको संयोजनले स्थानीय स्तरमै दीर्घकालीन सामाजिक परिवर्तन ल्याउन सक्ने क्षमता राख्ने अध्यक्ष थापाको भनाई छ ।































