अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिकामा जारी अन्तरपालिका यु–१८ नकआउट फुटबल प्रतियोगिता–२०८२को फाइनलमा बुद्धशान्ति गाँउपालिका पुग्न सफल भएको छ ।
अर्जुनधारा–७ स्थित अर्जुनधारा खेलमैदानमा शुक्रबार सम्पन्न पहिलो सेमीफाइनलमा कमल गाँउपालिकालाई सडनडेथमा ६–५ गोल अन्तरले पराजित गर्दै बुद्धशान्ति फाइनल पुग्न सफल भएको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय टाइब्रेकर हुँदै सडनडेथबाट भएको थियो । टाइब्रेकरमा दुवै टिमबाट ४–४ गोलको बराबरी भएको थियो ।
विजयी टिम बुद्धशान्तिका गोलरक्षक रीजन ल्वागुन खेलको उत्कृष्ट खेलाडी भएका थिए । उनलाई कार्यक्रमका प्रमुख अतिथि स्थानीय बिल्डकन इण्डष्ट्रिज प्रा.लि.का प्रबन्ध निर्देशक नविन गट्टानी, अर्जुनधारा–८का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीलगायतले नगद पुरस्कार दुई हजार पाँच सयसहित ट्रफी प्रदान गरेका थिए । उक्त पुरस्कार बिर्तामोडस्थित सुप्रीम सप्लायर्सले सौजन्य गरेको हो ।

आयोजक शनिश्चरे फुटबल क्लबका सल्लाहकार एवम् खेल संयोजक टेकराज तिलिङको अध्यक्षतामा आयोजित कार्यक्रममा दातृ संस्थाद्वय अर्जुनधारा–८ नं. वडा कार्यालय र बिल्डकन इण्डष्ट्रिज प्रा.लि.लाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मीद्वय दीपक ढुंगाना र बिमला प्रधानले गरेका थिए ।
प्रतियोगिताअन्र्तगत सेमीफाइनलको अन्तिम खेल भोलि(शनिबार) दिँउसो २ः३० बजे भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाबीच हुने आयोजक क्लबका सचिव हरि गुरुङले जानकारी दिए ।


























